लोमान्थाङमा गल्फलाई बजेट
जोमसोम : लोमान्थाङ गाउँपालिकाले हाईअल्टिच्युड गल्फ प्रतियोगिता सञ्चालन गर्ने भएको छ। उपल्लो मुस्ताङको पर्यटन प्रवद्र्धन तथा पर्वतीय खेलकुदको विकास गर्न २०७९÷८० मा हाईअल्टिच्युड गल्फ प्रतियोगिता सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले बताए।
उनका अनुसार समुद्री सतहदेखि झन्डै ४६४५ मिटर उचाइमा अवस्थित लोहाथाङमा गल्फ प्रतियोगिता सञ्चालन गरिनेछ। गत वर्ष लोमान्थाङको लोहाथाङमा गल्फ खेलका प्राविधिक टोली पुगेर सो स्थानको अवलोकन गरेका थिए।
गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको नेतृत्वमा गल्फ खेलका प्राविधिक टोली लोहाथाङ पुगेर गल्फ खेल मैदानको संभाव्यता अध्ययन गरेका थिए। सो स्थान गल्फ खेलका लागि उपयुक्त स्थान पहिचान गरेपछि गाउँपालिकाले प्रतियोगिता आयोजना गरी पर्यटक आकर्षित गर्न बजेट विनियोजन गरेको अध्यक्ष गुरुङले उल्लेख गरे।
लोमान्थाङ बजारदेखि पश्चिम डोल्पा जाने बाटोमा उक्त स्थान पर्छ। त्यहाँसम्म पुग्न मोटर बाटोसमेत विस्तार भइसकेकाले खेलाडीलाई गल्फ खेल्न कुनै कठिनाइ नहुने उनले जनाए। ‘डोल्पा जाने बाटोको हिमालकै छेउ निर झन्डै ३ किलोमिटर फराकिलो समथर खुला क्षेत्रमा फैलिएको घाँसे मैदान छ। त्यहाँ गल्फ खेल्न उपयुक्त छ’, उनले भने, ‘हामीले पर्वतीय खेलका माध्यमबाट पर्यटन भित्र्याउने मार्ग खोज्दैछौं। अब लोमान्थाङमा विश्वकै अग्लो उचाइमा गल्फ प्रतियोगिता आयोजना हुनेछ।’
लोहाथाङमा गल्फ कोर्ष निर्माण गर्न प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टले बताए। उनले लोहाथाङमा गल्फ कोर्ष निर्माणको काम
भइरहेको बताए।