न्यायाधीश र कानुन व्यवसायीको विवादपछि बारले भन्यो, ‘संवादबाटै समाधान खोजौं’
परासी : जिल्ला अदालत नवलपरासीका न्यायाधीश र कानुन व्यवसायीबीच भएको विवादपछि नवलपरासी जिल्ला अदालत बार एसोसिएशनले सोमबार विज्ञप्ती निकालेर संवादबाटै समस्याको समाधान निस्कने जनाएको छ।
हप्ता दिनअघि घरेलु हिंसा सम्बन्धीको मुद्दाको बहस गर्न जाँदा जिल्ला न्यायाधीश अशोककुमार बस्नेतले आफूमाथि दुव्यवहार गरेको भन्दै अधिवक्ता अमरबहादुर शाहले न्याय परिषद् र जिल्ला बार एसोसिएशनमा निवेदन दिएपछि बारले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
बहसका क्रममा न्यायाधीश बस्नेतले तपाईं नराम्रो मान्छे हो। इजलाशबाट ‘गेट आउट’ भन्दै बाहिर निकालेकोले न्यायाधीशमाथि कारबाही गरीपाउँ भन्दै शाहले निवेदन पठाएका छन्। निवेदनसहितको समाचार सञ्चारमाध्यम र सामाजिक सञ्जालमा बाहिर आएपछि बारका जिल्ला अध्यक्ष चुराबहादुर थापा र सचिव अरुणोदय उपाध्यायले संयुक्त विज्ञप्ती जारी गरेर कानुन व्यवसायी र इजलाशबीचको सामान्य असमझदारीबाट उत्पन्न हुने विषय संवादबाट समाधान हुने जनाइएको हो।
‘कुनै अमुक मुद्दाको बहसको क्रममा अमुक कानुन व्यवसायी र न्यायधीशबीच सृजना हुने विषयवस्तु स्वतन्त्र न्यायपालिकाको गरिमा, मर्यादा र जनास्थामा आँच पुर्याउने गरी सार्वजनिकरण हुनु उचित र बाञ्छनिय मान्न सकिदैन।’ विज्ञप्तीमा भनिएको छ। यो घटनाले न्याय सम्पादन र प्रकृयामा सहकार्य गर्दै आएको बार र बेञ्चबीच कायम रहेको रचनात्मक मित्रवत सम्बन्धलाई बिग्रन नदिने कुरामा पनि बार सचेत रहेको विज्ञप्तीमा उल्लेख छ।