मलाई अमेरिका यही, मलाई जापान पनि यही...
काठमाडौं :
भैंसी पाले गाउँतिर झरेर
गीतले भनेजस्तै गायिका सीता केसी आफ्नै गाउँको धूलो र माटोमा अमेरिका, जापान र बेलायतको खुसी भेट्छिन्। केही वर्षअगाडि पशुपति शर्मासँग केसीले आवाज दिएको यो गीतको चर्चा अहिले पनि उत्तिकै छ। धेरै युवाहरू विदेशबाट फर्किएर यहीको माटोमा सुन फलाउने सुकर्म गरिरहेका छन्। उनी पनि डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा मीठा, सुमधुर गीतहरू दिइरहेकी छन्।
सात वर्षपहिलेको कुरा हो। उनी भाषा परीक्षा पास गरेर कोरिया जाने लाइनमा थिइन्। केही वर्ष प्रतीक्षा गरिन् तर भिसा आएन। उनको कोरिया गएर पैसा कमाउने सपना टुट्यो। सपना टुक्रिएर मन दुःखेको बेला उनले पशुपति शर्मासँग मिलेर अमेरिका यही बोलको गीत निकालेकी थिइन्। आफ्नो कथालाई गायक शर्मासँग बाँडेकी उनले शर्माले आफंैलाई फिट हुने गीतको शब्द लेखिदिएपछि मक्ख परिन्। गीतमा आफंैले अभिनय गरिन्। स्वर भरिन्। गीतले उनलाई देश, विदेश घुमायो। केही बेग्लै पहिचान दियो। यही गीतले छिन्नलता अवार्डलगायत दर्जनौं पुरस्कार तथा अवार्ड दिलायो। बेलायतका विभिन्न सहरदेखि
दुई पल्टसम्म जापान घुमायो। उनको परिचय नै बदलिदियो।
बागलुङको गल्कोटमा जन्मिएकी हुन्, केसी। परिवार नै सांगीतिक। बाबु, आमा दाजु, भाइ सबैजना यही क्षेत्रमा सक्रिय छन्। उनी भने कहिले गीत गाउँछिन्, कहिले नृत्य गर्छिन् त कहिले मोडलिङ। सानैदेखि परिवारसँगै दोहोरी गाउँदै हुर्किएकी हुन्। उनको बुवाआमाको सपना थियो। सांगीतिक क्षेत्रमा छोरीले सफलता प्राप्त गरोस्। यही सपना पूरा गर्नका लागि उनले २०६४ सालमा काठमाडौं टेकिन्।
पद्मकन्या क्याम्पसमा संगीत विषय लिएर पढ्न थालिन्। दीपक जंगमलगायतका अग्रज कलाकारसँग शास्त्रीय संगीत सिक्न थालिन्।
काठमाडौं आएकै वर्ष उनले माधव भण्डारीको रचना रहेको ‘ज्यान टाढा हँुदा सम्झना आउने’ बोलको गीतमा स्वर दिएकी थिइन्। यही गीतबाट उनी नेपाली लोकदोहोरीको क्षेत्रमा पाइला चालिन्। कहिले दोहोरी साँझमा गीत गाउने त कहिले एल्बम निकाल्ने त कहिले अरूका गीत गाउने गर्दै उनले यही क्षेत्रमा एक डेढ दशक बिताइसकिन्। उनको स्वरमा दुई सयभन्दा बढी गीतहरू सार्वजनिक भइसकेका छन्।
गाउँमा जन्मिएकी सोझी केटी, काठमाडांैजस्तो बिरानो सहरमा निकै संघर्ष गरेर आफूलाई निर्खानको लागि भौंतारिरहेकी छन्। उनले लोकगीत, दोहोरी, कौडा, झ्याउरेलगायत विभिन्न प्याटनका गीतमा पनि आवाज दिएकी छन्।
सीताले २०६४ सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेकी थिइन्। उनको आवाजमा रहेको छङछङ पानी गाग्रीमा, पिरतीको डोरी, सुनको बालालगायतका केही गीत चर्चित छन्। उनले मिस्टर आरजे, अल्मोडासँगकोे सहकार्यमा लोक फ्युजन गीतमा पनि आवाज दिएकी छन्।
अलि अन्तरमुखी स्वभावकी सीता प्रेमका विषयमा खासै खुल्न चाहिनन्। हरेक व्यक्ति वा वस्तुलाई एकअर्काको साथ सहयोग आवश्यक हुने बताउँदै उनले मायाले नै संसार अडेको स्विकार गर्छिन्।
भन्छिन्, ‘आँखाबाट खसेको आँसुलाई पनि माया भन्छिन्, ओठबाट निस्कने हाँसो पनि माया हो।’
दुई वर्षअघि आमा गुमाएकी सीता आमाको मृत्युले केही महिना त अचेतजस्तै भइन्। भन्छिन्, आमासँग म यति जोडिएकी रहेछु कि, उहाँबिना म बाँच्छु जस्तो लाग्दैनथ्यो। दसंैको बेला गाउँ जाने रमाइलो थियो। घरको लागि किनमेल गर्दै थियौं। एक्कासी हर्टअट्याक भएर आमालाई पानीसमेत खुवाउन पाइनँ।’ यसपछि उनले आमा बोलको गीत बजारमा ल्याएकी थिइन्। भन्छिन्, यो गीतको म धुन पनि सुन्न सक्दिनँ।