यति जाबो खाना ?
एकजना आफन्तीकहाँ जाँदा प्रायः देख्ने कुरा हो, तिनकी छोरीले खाना फ्यालेको। निकै पटक यस्तो देखेपछि एकपटक जाँदा मुखै फोरेर भनें— ‘म जहिले पनि आउँदा यिनी खाना फ्यालिरहेकी हुन्छिन्।’ ती आफन्तीले भनिन्, ‘खाँदै खाँदिन। खै यस्तैे हो।’ मेैले भनें, ‘खाँदिनन् भने तपाईं किन धेरै दिनुहुन्छ त ? जति खान्छिन् त्यति नै दिनू न। फेरि अचेलका बालबालिका बाहिरको कच्याककुचुक अलि बढी नै खान्छन्। त्यही भएर घरमा पाकेको खाना त्यति रुचिपूर्वक खाँदैेनन्।’ उनले भनिन्, ‘जति नै दिए पनि अलिकति त उसले फ्यालेकै हुन्छे। अनि के गर्नु ?’ उनले उल्टै मसँग प्रश्न गरिन्। उनको खाना फ्याल्ने आदतै भएको बुझेर त्यसै वाक्क भएँ।
उनीसँग यी कुरा भइरहँदा मलाई रुसी लेखक अलेक्जेन्डर रास्किनको बाल्यकालको याद आयो। रास्किन बाल्यकालमा अत्यन्तै खाना फाल्दा रहेछन्। बुवाआमाको आँखा छलेर रोटीलाई डल्लो पारेर टेबलको मुनिबाट फुत्त पर फ्याँक्ने। झ्यालबाट बाहिरै फ्याँकिदिनेसम्म गर्दा रहेछन्। उनी भन्थे रे, ‘म ठूलो भएपछि यो रोटी खाँदै खाँदिनँ। अरू आफूलाई मनपर्ने कुराहरूको नाम लिएर यो मात्र खान्छु। तर त्यो दिन कहिले आउँला ?’ बुवाआमाले सम्झाउनु हुन्थ्यो रे, अरू मात्र खाएर हुँदैन रोटी स्वास्थ्यका लागि राम्रो कुरा हो। तिमीलाई मन पर्ने खाना मात्र खायो भने त बिरामी परिन्छ। तर उनलाई सम्झाउँदा, फुर्काउँदा र फकाउँदा केही गर्दा पनि लागेनछ।
रास्किनको हेरदेख गर्न एकजना आया राखिएको रहेछ। ती आयासँग रास्किनको खानेबेलामा जहिलै झगडा पर्दाेरहेछ। एकदिन रिसाएर आयाको अगाडि नै रास्किनले खाना भुइँमा फ्याँकिदिएछन्। यो देखेर आयालाई निक्कै रिस उठेछ र उनले भनिछन्, ‘म तिमीसँग रिसाएँ अब बोल्दिनँ।’ तत्कालै रास्किनले भनेछन्, ‘त्यति जाबो खानाका लागि तपाईं मसँग रिसाउने ? तब आयाले मुख रातो पार्दै भनिछन्, ‘जाबो ? यही जाबो खाना कसैको लागि कति महत्त्वको हुन्छ। मैले यही जाबो खानाका लागि तिम्रो उमेरमा दिनभरि चिसोमा काम गर्नु पर्दथ्यो। जाडो महिनाको एउटा साँझ हामीसँग केही खाना थिएन। त्यही साँझ यो तिम्रो जाबो खाना मेरो भाइले पाएको थियो भने उसको ज्यान बच्ने थियो।
उनले फेरि थपिन्, तिमीलाई तिम्रो परिवारले पढ्न, लेख्न त सिकाए तर खाना तिम्रो प्लेटसम्म कसरी आउँछ ? यस खानाको लागि कति जनाले के के मेहनत गर्नुपर्छ ? कसैले सिकाएन। त्यसैले तिमीले खानेकुराको कदर नगरी भुइँमा फाल्यौ। यो निक्कै लाजमर्दाे कुरा हो। त्यो रात रास्किनलाई राम्रो निद्रा लागेनछ। भोलिपल्टदेखि उनलाई खाना नदिएर एक बटुको तरकारी मात्र दिन थालिएछ। कसैले खा भनेर कर पनि गरेनछ। तर, उनको भोक त्यति एक बटुको तरकारीले मात्र मर्ने कुरै भएन। दुई दिनसम्म उनलाई सब्जी मात्र दिएपछि तेस्रो दिनको दिन खाना पाउँदा त्यो खाना उनलाई औधी मीठो लागेछ। रास्किनलाई आफूले गरेको व्यवहारदेखि पछुतो भएछ। त्यो दिनदेखि उनले कहिल्यै खाना नखाने भनेनछन् र खाना फालेनछन्।
माथिका हरफहरूमा आया र रुसी लेखक त प्रतिनिधि पात्र मात्र हुन्। यो संसारमा बालक रास्किनजस्ता ‘यति जाबो खाना ?’ भन्ने अन्य बालक कति होलान् ? आयाले जस्तो एक पेट खानाका लागि दिनभरि चिसोमा काम गर्ने बालबालिका कति होलान् ? अनि आयाको भाइजस्तै एक छाक खान नपाएर ज्यान गुमाउनुपर्ने बालबालिका कति होलान् ? अहिले आएर हामी जस्तै दुःख गरेर दुई छाक खाना खुवाउने बाबुआमाका छोराछोरीले यो सबै बुझ्लान् त ?
हामीले बुझाउन सके अवश्य बुझ्छन्। जसरी रास्किनले बुझेका थिए। तर, हामी अभिभावककै पनि कमजोरी छ यसमा। आफू मरीमरी काम गर्ने आफ्ना छोराछारीलाई जे भन्यो त्यही पुर्याइदिने।
कति दुःख गरेर यो सब भएको छ ? यो खाना हाम्रो प्लेटमा आइपुग्न कति मेहनत छ ? अहँ यो हामीमध्ये कति अभिभावकले छोराछारीलाई भनेकै हुँदैन। हामीलाई त बस छोराछोरीले कुनै हालतमा पढिदिनु पर्यो, स्कुल कलेजमा टप गरिदिनु पर्यो। बस्। पढाइभन्दा बाहेक पनि व्यावहारिक ज्ञान छ भन्ने कतिपयले मानौं बिर्सिरहेका छौं। अथवा जानेर बुझ पचाइरहेका छौं। प्रायः घरमा बालबालिकाले खाना फ्याँकिरहेकै देखिएको हुन्छ। हामी उनीहरूलाई कमसेकम यति त भन्न सक्छौें। थोरैे खाना लिनु, थोरै खानु तर नफ्याँक्नु। यो तिमीहरूले फ्याँकेको खाना कुनै भोकोले पायो भने ? यति मात्र भनिदिँदा पनि उनीहरूले पक्कै बुझ्नेछन्।
सानै छँदा हजुरबुवा भन्नुहुन्थ्यो, अन्न भगवान् हो। उहाँ सधैं खाना खाँदा ढोगेर खानुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो, भातको एउटा सिता पनि फाल्यो भने त्यो अन्नले हामीलाई सराप्छ। हामीलाई भोक लागेको बेला त्यो सरापले गर्दा खाना खान पाइन्न। त्यसैले खाना खादा थाल सफा पारेर खानुपर्छ ताकि एक सिता भात पनि हाम्रो थालमा नरहोस्। हुन पनि हजुरबुवाको थाल भात खाइसक्ता यति सफा हुन्थ्यो जस्तो खाना पस्किनु अगाडि हुन्थ्यो। म अहिले खाना खाँदै गर्दा हजुरबुवाको त्यही सफा थाल र भनाइ सम्झिरहन्छु। छोरालाई पनि सम्झाइरहन्छु।