रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामग्रीको प्रयोग पाएपछि निर्माणको काम रोकियो
परासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका बजार क्षेत्रमा निर्माण भइरहेको रिफ्रेस सेन्टरमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाएपछि निर्माण कार्यमा रोक लगाइएको छ ।
गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि अनुगमनमा पुगेका नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उप प्रमुख रुद्र प्रकाश उपाध्यायले निर्माणाधिन भवनको अनुगमन गरेर निर्माण कार्यमा रोक लगाएका हुन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीको जिम्मेवारी अन्तरगत ठेक्कामार्फत सेन्टर निर्माण भइरहेको हो ।
यसअघि पनि गुणस्तरहीन सामग्री प्रयोग गरेको गुनासो आएपछि डिभिजन कार्यालयले काम रोकेको थियो । अहिले फेरि कमसल इँट्टासहितका सामग्री प्रयोग भएको र निर्माण भएका स्थानमा चर्केको गुनासो आएपछि जनप्रतिनिधिले अनुगमन गरेर काम रोकेका हुन् ।
‘ठेकेदारले कमसल सामग्री प्रयोग गरेर काम गरेको गुनासो आएपछि अनुगमन गरेका हौं । काम राम्रो भएको छैन । केही ठाउँमा चर्केको पनि छ । ठेकेदारलाई अहिले काम रोक्न लगाएका छौं ,'नगर प्रमुख श्रेष्ठले भने ।
उक्त रिफ्रेस सेन्टर प्रदेश सरकारको बजेटमा निर्माण कार्य थालनी गरिएको हो । राजमार्ग भएर चल्ने लामो दुरीका सवारी साधनका चालक र यात्रुहरुको सुविधाका लागि सेन्टर निर्माण गर्न लागिएको हो । पहिलो चरणमा भइरहेको दुईवटा भवनको कुल लागत तीन करोड १८ लाख २६ हजार रहेको डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले बताए ।
सेन्टरको एउटा भवनमा अन्तराष्ट्रिय स्तरको शौचालय र अर्को भवनमा चालकहरुको आराम कक्ष र स्नान गृह रहने छ । त्यसबाहेक सेन्टरमा क्याण्टिन, शैलुनलगायतका सुविधा रहनेछन् । सेन्टर निर्माणका लागि कोजु/सञ्जय जेभी काठमाडौंको निर्माण कम्पनीले ठेक्का लिएको हो ।
२०७७ चैत ११ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७९ असोज ११ गते सेन्टर निर्माण कार्य सक्ने गरी काम थालेको हो । यसअघि पनि निर्माण सामाग्री कमसल प्रयोग गरेको गुनासो आएपछि रुपन्देही डिभिजन कार्यालयले काम रोकेको डिभिजन प्रमुख पोखरेलले बताए ।
‘टुक्रा इँट्टा प्रयोग गरेको र वाल चर्केको देखेपछि केही दिन काम रोकेका थियौं । फेरि गुनासो आएपछि अनुगमन गरेर गुणस्तर कामका लागि भन्छौं,'पोखरेलले भने ।
निर्माण कम्पनीले रेखदेखको जिम्मेवारी दिएका स्थानीय निर्माण व्यवसायी अर्जुन थापाले सामान्य कमजोरी देखिएकाले त्यसलाई सच्चाउने बताएका छन् ।
‘एक टाली इँट्टा काँचो पठाएको रहेछ । त्यसलाई तत्कालै फिर्ता पठाइयो । केही स्थानमा सामान्य क्रेक पनि देखिएको थियो । त्यसलाई पनि मर्मत गर्न पठाइसकेका छौं,'उनले भने । प्रदेश सरकारको बजेटबाट अहिले दाङ, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा रिफ्रेस सेन्टर निर्माण भइरहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।