असारे भाका गाउँदै रोपियो धान
नुवाकोट : उमेरले ८२ वर्ष कट्नै लाग्दा छत्रेफाँटका फणिन्द्र अधिकारीको जोस र जाँगर वैँशका समयका जत्तिकै रहेको छ। आफ्नो सारा जीवन नै खेतिकिसानी गरेर गुजारा चलाएका वृद्ध अधिकारीले बुधबार गाउँमा असारे भाकामा लय निकाल्दै गीत गाउन थालेपछि जाँगरसाथ अन्य सहभागी स्थानीयले साथ दिएर छुपुमा छुपु धान रोप्न थाले।
ढल्कदो उमेरमासमेत छोरानाती उमेरका सबैलाई हौसला जगाउँदै उर्जाशील रहन आग्रह गर्दै वृद्ध अधिकारीले असारे गीत गाउँदा सबैले साथ र ताली दिएर उहाँको प्रशंसा मात्रै गरेनन्। लोप हुँदै गएको असारे भाकाको जगेर्नाको चिन्तासमेत गरे।
अरुलाई वर्षा लागेसँगै यतिबेला नुवाकोटका किसानलाई भ्याइनभ्याई छ। ताछेर चिल्लो पारिएको आली र पानी भरेर सम्मो बनाइएको खेतले मंसिरमा झुल्ने धानको लहलह बाला सम्झाइरहेको छ। बिहानै खेतका हिलाम्मे गह्रामा पस्ने हली, बाउसे र रोपाहारहरु दिनभर धान रोपाइँले बेफुर्सदीला बन्छन्।
यसमा पनि असार १५ को दिनले त किसानका लागि पर्व जत्तिकै महत्व राख्ने स्थानीय किसान राधा श्रेष्ठको धारणा छ। आधुनिकताका कारण स्थानीयले असारे गीत संरक्षणमा नयाँ पुस्ताले चासो नदेखाएको उनको धारणा छ।
छत्रेफाँटेकै अर्का वृद्ध सप्तनाथ बढालले असारे भाका संरक्षणका लागि सबै समुदाय एकजुट हुनुपर्ने उनको भनाई छ। घाँसे ठाडो भाकालाई संरक्षण नगर्दा गाउँको परम्परा नै लोप हुँदै गएको उनको भनाई छ।
छत्रफाँटमै भेटिएका अर्का वृद्ध भरत ठकुरीले आधुनिकताका कारण पुराना परम्परा र संस्कृतिलाई ओझेलमा पार्दै गएकोमा चिन्ता व्यक्त गरे। उनले ठाडो घाँसे भाको गीत गाएर असारे संस्कृतीलाई संरक्षण गर्नुपर्नेमा जोड दिए।
असारको १५ अर्थात् व्यस्त यो दिनमा नुवाकोटमा महोत्सवकै आयोजनागरी किसानहरु गीत गाउँदै र जिस्किँदै रोपाइँको मेलो सक्ने काम गरेका छन्। स्थानीय वृद्ध नारायण अधिकारीले आफूलाई सानैदेखि असारे भाका मन पर्ने भएका कारण यस भाकालाई संरक्षण गर्नुपर्ने भन्ने भनाई रहेको सुनाए।
नुवाकोटको छत्रेफाँट, थानसिंह, महादेवफाँट, कविलास, ढिकुरे, पन्चकन्या, शिवपुरीको बुढीशेरालगायतका स्थानमा यस वर्षको धान दिवस मनाइएका छन्। एकआपसमा हिलो खेल्दै र छिल्लिँदै थकान कम गर्ने उनीहरुको काम गराइको रौनक महत्वपूर्ण हुन्छ। किसानहरुले एक मुठी बीउ रोपेर एक मुरी धान उत्पादन गर्ने गर्ने दिनकोरुपमा समेत लिन्छन्।
रोपाइँको बहाना र एकआपसमा जिस्किएर छरछिमेकका ठिटाठिटीबीचको पिरती धानको बीउ जस्तै हरियो भएर मौलाउने मौका पाउने वृद्दा ठूलीकान्छी राइले बताइन्। गाउँघरतिर धान रोप्ने मेलामा पर्म गराउने र तिर्ने व्यवहारले सामाजिक सम्बन्ध पनि यही बेला गाढा बन्ने स्थानीय युवा अगुवा प्रदीप घिमिरेको भनाई छ।
असारको झमझम झरीको बीचमा हिलोबाट केहीबेर छलिँदै आलीमा टुसुक्क बसेर खाइने दहीच्यूराको स्वाद यो दिनमा अझ विशेष हुन्छ। मानो खाएर मुरी उब्जाउने महिनाकोमध्य अर्थात् असार १५ गते बुधबार नुवाकोट, रसुवालगायत देशभर राष्ट्रिय धान दिवस मनाइएको छ।
नुवाकोटको सरकारी, गैह्र सरकारी तथा राजनीतिक दलका प्रतिनिधिहरुको आयोजनामा नुवाकोटका २० भन्दा धेरै स्थानमा राष्ट्रिय धान दिवस मनाइएको छ। बिदुर नगरपालिका-३ छत्रेफाँटेमा सञ्चालित धान दिवसको प्रतिनिधि सभा सदस्य तथा एमाले प्रमुख सचेतक विशाल भट्टराइले उद्घाटन गरेका हुन्।
उनले देशमा हाल स्थानीय, प्रदेश र संघीय सरकार रहेका कारण पछिल्लो समय कृषिकर्म हराउँदै गएकोमा चिन्ता व्यक्त गरे। भट्टराइले कृषिमा आत्मनिर्भर बनाउने अभियान अब स्थानीयस्तरबाटै सुरुवात गरिनु पर्ने पनि बताए।
नुवाकोट-२ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले पछिल्लो समय किसानहरुले धान फल्ने खेत मासेर घरघडेरी बनाउने क्रम बढेको उल्लेख गर्दै कृषिमा आधुनिकीकरण गर्दै कृषिलाई संरक्षण गर्नुपर्ने बताए।
धान दिवसमा सहभागी किसान, सरकारी अधिकारीलगायत रोपाहार, बाउँसे, हली सबैले हिलो खेल्दै एकैस्थानमा बसेर असारे भाकाको गीत गाउँदै दही चिउरा खाएका थिए। विदुर नगरपालिकाका निवर्तमान मेयर सन्जु पण्डितले कृषिमा युवाहरुलाई आकर्षित गराउने आधुनिक कृषि कार्यक्रमको खाँचो रहेको बताए।
रोपाइँमा अपरिहार्य दही चिउरा
‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिएको छ। मध्य गर्मीको यस समयमा नुवाकोटका विभिन्न स्थानमा युवा लाठे र युवती रोपाहारले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन्। यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ गते नेपाली समाजमा दहीच्यूरा खाने पर्वकारुपमा पनि लिइन्छ।
खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दहीच्यूरा खाई असार १५ मनाउने गरेको जिलिङका वृद्ध नीलप्रसाद पुडासैनीको भनाई छ।
१९ औँ धान दिवसको अवसरमा धान उत्पादन र बृद्धि गरी किसानहरुलाई कृषी पेशातर्फ उन्मुख र उत्साहित गराउने उद्धेश्यले नुवाकोटको छत्रेफाँटलगायत विभिन्न स्थानमा १९ औँ धान दिवस तथा बृहत रोपाई महोत्सवको आयोजना गरिएको हो।