नाट्य उत्सवमा ‘कनन हरलता’
काठमाडौं : नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को दोस्रो दिन पुरानो घर समूह रौतहटको थारू भाषाको ‘कनन हरलता’ मञ्चन भयो। असार १२ देखि १८ गतेसम्म चल्ने उत्सवमा विभिन्न भाषाभाषीको सातवटा नाटक मञ्चन हुँदैछ।
महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कथा समेटेर निर्देशक कुन्दन थारूले निर्देशन गरेको नाटक हो ‘कनन हरलता’। नाटकमा राजा परीक्षितका छोरा र छिमेकी राज्यकी राजकुमारीबीच भएको वियोगान्त प्रेमकथालाई समेटिएको छ।
यस्तै ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को तेस्रो दिन मंगलबार वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन भएको थियो। उत्सवमा कविराज राई र रूपेश लामाद्वारा निर्देशित उक्त नाटक ‘सुम्निमा’ मञ्चन गरिएको हो।
बुधबार आरोहणबाट ‘चाम्लिङ’ र नेपाली भाषाको ‘सेमुना’, बिहीबार सुम्निमा थिएटर ललितपुरबाट पुमा भाषाको ‘होङ्छा’, शुक्रबार चुलाचुली रंगमञ्च इलामबाट लिम्बू भाषाको ‘सुविउ चरी’ र शनिबार कर्णाली खस संस्कृति संरक्षण केन्द्र जुम्लाबाट अवधि भाषाको ‘कुटिरो’ नाटकहरू मञ्चन हुनेछन्।