डोटीको शिखर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा
डोटी : डोटीको शिखर नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको छ ।
नगरपालिकाले २०७८ चैत मसान्तसम्म १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्णखोप पाएको सुनिश्चित गरिएको हुँदा पूर्णखोपयुक्त नगरपालिका घोषणा गर्न लागिएको शिखर नगरपालिकाका स्वास्थ्य इकाई प्रमुख हरिश शाहले जानकारी दिए ।
जिल्लाका सबै स्थानीय तहमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान संचालन भइरहेको जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिब एवं स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्ली रमण जोशीले बताए ।
‘बाल मृत्युदर घटाउने उद्देश्यका साथ १५ महिना भित्रका बच्चाहरुलाई १४ वटा रोगविरुद्धमा ९ वटा खोपहरु लाउने गरिन्छ,' जोशीले जानकारी दिए ।
मानव स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन भएको खोप अभियानको उच्च मुल्यांकन गर्दै जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंहले खोपका कारण नेपालीहरुको आयुदर समेत बढिरहेको बताए ।
कार्यक्रममा बोल्दै नगरपालिका पूर्णखोप समन्वय समिति संयोजक एवं शिखर नगरपालिकाका प्रमुख दिर्घबहादुर बलायरले सबैको प्रयासबाट नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा भएको बताए ।
यसअघि जिल्लाको बोगटान फुड्सिल गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भइसकेको छ ।
बैशाखमा हुनुपर्ने घोषणा अभियान स्थानीय निर्वाचनका कारण ढिलो भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।