वर्षैपिच्छे बाढीले बगाउँदै घर
विराटनगर : विराटनगर महानगरपालिका–२की सरोजादेवी राईको घर सिघिया खोलाले दुई पटक बगायो। विस २०७४ साल यता खोलामा आएको बाढीले उनको घर दुई पटक बगायो। सिंघिया खोलाले घर बगाउँदा उनी माथि वर्षेनी ऋण थपिदैं गएको छ।
किस्तामा ५ लाख ऋण लिएर बनाएको पक्की घर बगाउँदा उठीवास भएको उनलाई केही दिन अघि आएको बाढीले घर त जोगियो तर घर भित्रका समान बगायो। लामो समयदेखि खोलाको ऐलानी जग्गामा बसोबास गर्दे आएका उनले सुरक्षित स्थानको खोजी गर्न नसक्दा पुनः एक पटक दैविक प्रकोपको शिकार भएकी छन्।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण उर्लिएर आएको सिंघिया खोलाले तेस्रोपटक घर नबगाए पनि क्षति पुर्याएको छ। मंगलबार बिहान आफूले तेस्रोपटक बनाएको घरको आधाभाग बाढीमा मिसिएपछि उनले त्रिपालमुनि बास बस्नु परेको छ। यसअघि २०७४ साल साउनमा सिंघिया खोलामा आएको बाढी र २०७८ साल असोजको बेमौसमी वर्षाका कारण आएको बाढीले त्यसरी नै उनको घर बगाइदिएको थियो।
उनलाई अहिले ५ लाख ऋण रहेको छ। उनी जस्तै पूजा साहको पनि घर दुई पटक बगाएको छ। पक्की घर भए बाढीले नबगाउने सोचले घर बनाएकी उनी पनि ऋणमा डुबेको बताईन्।
‘अघिल्लो बाढीमा पनि केही समान झिक्न पाएको थिइनँ, यसपटक पनि त्यस्तै भयो,’ उनले भनिन्, ‘अहिले सडकमा त्रिपालमुनि रुँदै बस्न बाध्य भएका छौं। दीगो समाधानका लागि केही सोच्न नसक्दा हामी बाढी प्रभावित बन्यौं।’
तीनै तहको सरकारले अघिल्लो बाढीमा भएको क्षतिको विवरणसमेत नगरिदिएको बताउँदै उनले पटकपटक जनता बाढीमा बग्दा पनि राहत र क्षतिपूर्ति नपाएको गुनासो गरिन्। गत वर्षको दसैंसँगै आएको बाढीको पीडा लिएर वडा कार्यालय, महानगरपालिका, जलप्रकोप व्यवस्थापन कार्यालय, कोसी तथा बक्राहा नियन्त्रण कार्यालय, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयलगायतका कार्यालयमा धाउँदासमेत समस्या सुनुवाइ नभएको उनको भनाइ छ।
स्थानीय बिरेन्द्र साहको २०७४ सालको भीषण बाढीमा घर बगायो। घरमा रहेका सामानहरू निकाल्न पाए। वर्षामा होस् वा हिउँदमा होस्, जस्तोसुकै दिनमा पनि पानी पर्ने छाँटकाँट देखिएपछि उनी आफ्ना छोराहरूलाई सजग गराउँदै घरभित्र भएका सामानहरू पोको पार्ने सुरसार सुरु गर्न थाल्छन्।