कालिगण्डकीमा निर्माणाधीन मुस्ताङ–डोल्पा जोड्ने पुल अन्तिम चरणमा
जोमसोम : मुस्ताङ र डोल्पा जोड्ने कालिगण्डकी नदीमा निर्माणाधीन एक्लेभट्टी–पाक्लिङ मोटरेबल पुल अन्तिम चरण पुगेको छ। साविक जिल्ला विकास समितिले ठेक्का लगाएको एक्लेभट्टी–पाक्लिङ मोटरेबल ६ पटक म्याद थपिदा ७ वर्षमा पुग्दा अन्तिम चरणमा पुगेको हो।
राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकसंगै जोडिएको मुस्ताङ–डोल्पा जोड्ने कालिगण्डकी नदीमा निर्माणधिन एक्लेभट्टी–पाक्लिङ पुल निर्माण गर्न २०७२ साल असार ३१ गते एलाईट संकरमाली जेभीले १२ करोड १३ लाख ८५ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो।
निर्माण सुरु गरिएको मुस्ताङ डोल्पा सडक जोड्ने महत्वकाँक्षी एक्लेभट्टी–पाक्लिङ पुल बनाउन एलाईट संकलरमाली जेभीले ठेक्का सम्झौता गरेपनि पुल बनाउने अख्तियार पाएको आधिकारिक प्रतिनिधिले विभिन्न बहानाबाजी बनाएर पुल निर्माणको काम अलपत्र छाडेको थियो। पछिल्लो समय भने पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई कालो सुचीमा राखि आवश्यक कारवाही गर्ने प्रक्रिया अघि बढाएपछि निर्माण कम्पनीले अर्को आधिकारिक प्रतिनिधिलाई पुल बनाउने अख्तियारी दिएर अलपत्र पुलको काम सञ्चालन गरिएको थियो।
सुरुआती आधिकारिक प्रतिनिधिले कहिले पुलको बिषयलाई लिइर आरबी टेसन गर्ने र कहिले अदालतमा मुद्धा हाल्ने आदी कारण देखाएर एक्लेभट्टी–पाक्लिङ पुल निर्माणको काम लामो समयदेखि ठप्प बनेको थियो ।
मुस्ताङ–डोल्पा पुलको लम्बाई १२० मिटर लामो छ भने पुलको चौडाई ७ दशमलव २ मिटरको छ। पुल ४० मिटरको फेरोमा ३ वटा स्पान हुनेछन्। पुलको तल पट्टीको बिममा स्टील प्लेट गर्डर र माथिल्लो भागमा स्ल्याप ढलान हुनेछ।
कालिगण्डकी नदीमा निर्माणधिन पुल मुस्ताङ–डोल्पा जोड्ने महत्वपूर्ण पुल भएको र यसको निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ। कालिगण्डकी नदीमा निर्माणधिन पुल साविक जिविसले ठेक्का सम्झौता गरेको भएपनि विभिन्न कारणले निर्माण कम्पनी र त्यसका प्रतिनिधिहरुको ढिलासुस्तीले गर्दा पुल निर्माणको काममा गतिरोध श्रृजना भएको कार्यालय प्रमुख विवेक सिग्देलले जानकारी दिए।
अहिले निर्माण कम्पनीले अर्को व्यक्तिलाई पुल बनाउने अख्तियारी दिएको र सो व्यक्तिले निर्माणको कामलाई तीव्रता दिएको कार्यालय प्रमुख सिग्देलले बताए। कार्यालय प्रमुख सिग्देलले एक्लेभट्टी–पाक्लिङ पुलको पछिल्लो भौतिक प्रगती ७८ प्रतिशत र वित्तिय प्रगती ६२ प्रतिशत भएको उल्लेख गरे।