ओहायो हिस्ट्री सेन्टरमा साहित्य सम्मेलन
कोलम्बस : केही दिनदेखि जेएन दाहालको फर्याकफुरुक सानो थिएन। नेपालबाट अमेरिका आएका अतिथिहरूलाई रिसिभ गर्न विमानस्थल जानु र घर ल्याउनु, खानपिनदेखि हरेक ससाना आवश्यकताको ख्याल राख्नु उनको दैनिकी जस्तै थियो। अमेरिकाकै अर्को राज्यमा भएका अतिथिहरूलाई अझ अर्कै राज्यमा तोकिएको ठाउँसम्मका लागि पिक अप गर्नु झन् ठूलो जिम्मेवारी थियो।
आफ्ना अग्रजहरूसँगै सम्मेलन अवधिभर, आफ्ना जिम्माका अतिथिहरूसहित अरू सहभागीहरूको पनि चिसो–तातोको हेक्का राख्नु पनि उनको नियमित कार्य थियो। ‘लेखककी छोरी’ कथासंग्रहका सर्जक जेएनले तेस्रो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा आफ्नो संस्था साहित्य परिषद् भुटानले दिएको जनसम्पर्कको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै थिए।
सम्मेलन साहित्य परिषद् भुटानले ओहायोको राजधानी कोलम्बसमा जुन अन्तिम हप्ता आयोजना गरेको थियो, त्यहाँ विभिन्न विधाका ११ पुस्तक र एउटा गीति एल्बमको विमोचनसमेत गरिएको थियो। दुईदिने सम्मेलनको पूर्वाद्र्धमा भुटानी नेपाली साहित्यका विभिन्न आयामको परिचर्चा गर्दै डा.गोविन्दराज भट्टराई, डा.अञ्जना वस्ती भट्टराई, शिवलाल दाहाल, रमेश गौतम, डेन्जोम राई र डा. लक्ष्मीनारायण ढकालले कार्यपत्र प्रस्तुत गरे। पुनर्वासमा पुगेका भुटानीहरूमा देखिएका पहिचान, बसाइँसराइ र डायस्पोराका सवालहरूमाथि घनीभूत छलफल भयो।
शिवलाल दाहाल, रमेश गौतम र भक्त घिमिरेले सम्पादन गरेको ‘पुनर्वासपछिका भुटानी नेपाली कविता’ मा समेत यी विषयमा गहन चर्चा गरिएको छ। १३५ भुटानी कविहरूका सिर्जना समेटिएको उक्त कृति तथा डायस्पोरा र बसाइँसराइका बारेमा डा. भट्टराईले विशद चर्चा गरे। ‘सम्पादकत्रयले यस संग्रहका सिर्जनाहरूलाई पुनर्वासपछिका भुटानी नेपाली कविता भने पनि यहाँ सबै खालका कविता–रचना छन्,’ उनले भने, ‘एचजी वेल्सको टाइम ट्राभलर प्रत्येक स्रष्टामा हुन्छ। त्यसैले ऊ सबै कालमा पुग्छ। प्रत्यक्ष सम्झे पनि, प्रतीकात्मक रूपले बुझे पनि यो भुटानी समाजले ३० वर्षका अत्यन्तै तीव्र संवेगहरू भोगेर यहाँ अवतरण गरेको छ। यी कविहरूले जस्तो अनुभूति त्यस्तै समयचित्र सम्झाउने कविता रचेका छन्।’ डा. अञ्जना वस्ती भट्टराईले भुटानी महिला लेखकहरूको अभिलेखीकरणको आवश्यकता औंल्याइन्।
साहित्यकार कृष्ण धरावासीले एक–डेढ दशकअघिसम्म नेपालमा शरणार्थी जीवन बिताइरहेका नेपालीभाषी भुटानीहरू अहिले विकसित देशहरूका नागरिक भइसकेकाले तिनीहरूले अब पनि आफूलाई शरणार्थी नै सम्झिरहन नहुने धारणा राखे। सम्मेलनमा केही सांगीतिक कोसेली पनि प्रस्तुत गरिएका थिए। हिमालयन संगीत एकेडेमीका अमिर गजमेरले जातीय जागरण ल्याउने गीत र प्रवीण दियालीले गजल गाएर मनोरञ्जन दिलाएका थिए। चन्दना र सोफियालगायतले छन्द कवितावाचन गरेका थिए। अस्ट्रेलियाबाट आएका भुटानका अघिल्लो पुस्ताका लेखक अम्बिकाप्रसाद दुलाल तथा नेपाली भाषा पढाउँदै आएका शिक्षकलाई समेत सम्मान गरिएको थियो।