मरु प्रदेश
मेरो कविताको
रात खसालेर
स्वप्न भंग गीत गाउँछ,
सपना निचोरेर सुकाइएका
आत्मपीडक जस्तै लाग्ने
बालुवाका नांगा बथानहरू
सुसाइरहन्छन् अतृप्त तिर्खाहरूमा
र भन्छन्
मरु प्रदेश स्वप्न प्रदेश हो
मलाई सपनाको मरु प्रदेश
कविताको अक्षरहरू जस्तै प्रिय लाग्छ,
पुराना सपनाहरू जब
भोकले टोक्न आउँछन् हृदयलाई
म उठेर हात हल्लाउँछु
टाढा टाढा आकाशको आँखासम्म,
त्यही आकाशको पहाडी आँखा
सधैं सधैं तिर्खाइरहन्छ सपनामा
रामे र साइँली
बादलको अँगालो चिरेर
तिर्खा मिसाउन झरिगएछ मरु प्रदेशमा,
कविताका आन्दोलित हरफहरू
समय पिनेर
गाइरहन्छन् स्वप्न भंग गीतहरू,
मरु प्रदेश असिमा तिर्खाहरूको खानी हो !
यसको छाया आकाशमा पनि छ
बतासमा पनि छ,
बाडुल्कीमै अल्झिएरै पनि
देखेँ मैले सपनीमा
फूलमाया ! ए फूलमाया !!
कवितामा समुद्र सुकाउ
दिनभरि घामले पखाल र
आफ्नै छाती खोलेर हेर
त्यहाँ पनि छ मरु प्रदेश,
ऐनै नहेरी कसरी देखिन्छ र आफ्नो अनुहार
बाकसमा आएको अनुहारमा
राम्रोसँगै देखियो
मरु प्रदेशले
हाम्रै बाँसुरी बजाउन थालेको पनि
धेरै भइसकेको रहेछ।
पोखरा