हिप्पी ट्रेलरको ‘हिस्ट्री’
नेपाली पर्यटनको इतिहास केलाउँदा नछुट्ने शब्द हो ‘हिप्पी’। सन् १९६० र १९७० को दशकको काठमाडौं भोग्नेहरूलाई यसबारे अझ व्यक्तिगत अनुभव होला। नेपाली पर्यटन, पठन संस्कृतिदेखि संगीतको विकासमा हिप्पी जोड्ने गरिएको छ। हिप्पीको नेपाल भ्रमण र उनीहरूसँगै आएका पश्चिमका राम्रा पुस्तक र संगीतले ती पक्ष जोडिएका हुन्। हिप्पीलाई गँजेडी र कम खर्च गर्ने फुक्काफाल घुमन्तेको रूपमा नकरात्मक चित्रित गर्ने अर्को पक्ष पनि छ।
हिप्पी को हुन् ? हिप्पी ट्रेलर के हो ? यसको विकास क्रम कसरी भयो ? भन्ने बारेमा प्राज्ञिक रूपमा कुनै बलियो अनुसन्धान र प्रकाशन भएको थिएन। यो प्राज्ञिक खडेरी तोड्न बेलायतको मेन्चेस्टर युनिभर्सिटीले आफ्नै प्रेसबाट हिप्पीको इतिहासको पुस्तक तयार गरेको छ। ‘द हिप्पी ट्रेलर ः अ हिस्ट्री’ पुस्तकका लेखक हुन्, सरिफ जेमी र ब्रायन आयरल्यान्ड। सरिफ आधुनिक युरोपका इतिहासकार हुन् भने ब्रायन आधुनिक अमेरिकाका इतिहासकार हुन्। दुवै विद्यावारिधि गरेका छन्। दुई इतिहासकारले बेलायतको नामी विश्वविद्यालयको तर्फबाट प्रकाशन गरेको पुस्तकलाई प्राज्ञिक कोणबाट विश्वास गर्न सकिन्छ।
८० हिप्पी ट्रेलरका सहभागीसँग गरिएको अनुसन्धान, हिप्पी ट्रेलर सम्बन्धित प्रकाशन भएका र बजारमा आएका चलचित्रदेखि उपन्यास हुँदै नियात्रा आदि सबै समेटेर पुस्तक तयार भएकाले धेरै खुराक छन्। बेलायत, जर्मनीदेखि अमेरिकाका ५६ पुरुष र २४ महिलासँग गरिएको खोजलाई थप प्रकाशित सामग्रीलाई समेटेर पुस्तक तयार भएको छ। विभिन्न पाँच अध्यायमा बाँडिएको पुस्तकमा लेखकहरूले अध्यायको सुरु र अन्त्यमा अनुभव राखेर पुस्तक रुचिकर बनाएको छ।
नेपाली पर्यटनको इतिहास केलाउँदा नछुट्ने शब्द हो ‘हिप्पी’। नेपाली पर्यटन, पठन संस्कृतिदेखि संगीतको विकासमा हिप्पी जोड्ने गरिएको छ।
लेखकद्वयले सन् १९६० र १९७० को दशकमा चम्किएर हाल इतिहास भएको हिप्पी ट्रेलरको इतिहासको प्रथम ग्रन्थमा सालैपिच्छेका सामग्री र भूगोलअनुसारको क्रमबद्ध सामग्री प्रस्तुत गरिएको छैन। विभिन्न विषयगत अध्यायमा ती कुराहरू समेटेका छन्। यस्तै ८० सहभागी समेटिएर गरिएको अनुसन्धानमा हरेकको बेग्लाबेग्लै अध्याय बनाइएको छैन। विषयगत क्षेत्रका अध्यायमा उनीहरूको अनुभवहरू समेटेका छन्। अध्याय एकमा लागूऔसध खासगरी गाँजा र ट्रेलरको कुरा छ। दुईमा ट्रेलरमा जन्मने यौन तथा प्रेमका कुराहरू छन्। अध्याय ३ मा हिप्पी पर्यटकको कुरा छ भने चारमा हिप्पी तीर्थयात्रीको कुरा छ। ५ मा हिप्पी बारेमा आएका सिनेमा, अनुभव डायरी, आत्मवृत्तान्तदेखि विभिन्न आख्यानको विवेचना छ।
अमेरिका तथा युरोपबाट टर्की छिरेर, इरान, अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपालको काठमाडौंसम्म ६ हप्तामा आउने हिप्पी ट्रेलरको बदनाम लागूऔषध र यौनको कारण गरिएको थियो। तर, अनुसन्धानात्मक यस पुस्तकमा यात्रुको २५ प्रतिशतले मात्रै लागूऔषध प्रयोग गरिएको देखाउँछ। यौनको मामिलामा पनि सबैले यौनकै लागि यात्रा नगरेको देखाउँछ। महिलाभन्दा पुरुष दोब्बर देखिएको अनुसन्धानले सबैले यौनकै लागि यात्रा नगरेको उल्लेख छ।
हिप्पी ट्रेलरको यात्रा गर्नेहरूमा कोही पर्यटक त कोही तीर्थयात्रुको रूपमा समेत यात्रा गरेको उल्लेख छ। हिप्पी ट्रेलरमा सरिक हुनेहरूको कारण कसैले सस्तो यात्रा गर्न, कसैले युरोप अमेरिकाको बढ्दो उपभोक्तावाद तथा इसाई धर्मसंस्कृतिको एकांकीपनबाट मुक्ति हुन आएको देखाइएको छ। यस्तै, भियतनाम युद्धको सकसदेखि ‘काउन्टर कल्चर’को उद्भव पनि हिप्पी ट्रेलरमा आउनेहरूको अर्को कारण भएको पुस्तकमा छ।
रोचक कुरा त हिप्पी ट्रेलरले सुरु भएको धेरैपछि नामै नाम पाएको चर्चा यसमा छ। अझ रोचक त हिप्पी नामको उत्पादन अमेरिकी भए पनि हिप्पी ट्रेलरको व्यावसायिक सञ्चालनको जस भने बेलायतीको भएको पुस्तकमा छ। सन् १९६० को दशकबाट सुरु भएको युरोप हुँदै दक्षिण एसिया आउने जमिनमार्ग अर्थात् हिप्पी ट्रेलरको कथासँग जोडिएको हिप्पी शब्दको पहिलो प्रयोग भने सन् १९६२ बाट सुरु भएको र सन् १९७५ मा बन्द भएको ‘रामपार्ट्स’ म्यागजिनले गरेको थियो।
८० हिप्पी ट्रेलरका सहभागीसँग गरिएको अनुसन्धान, हिप्पी ट्रेलर सम्बन्धित प्रकाशन भएका र बजारमा आएका चलचित्रदेखि उपन्यास हुँदै नियात्रा आदि सबै समेटेर पुस्तक तयार पारिएको छ।
सन फ्रान्सिस्कोको म्यागाजिनमा वारिन हिंकलले हिप्पी संस्कृति नयाँ सामाजिक चलनको रूपमा आएको आलेख लेखेका थिए। फिसरको हिप्पी ट्रेलरको व्यावसायिक प्रवेशपछि अन्य धेरै बस, भ्यान तथा मिनीबसले लन्डनबाट दिल्ली हुँदै काठमाडौंसम्मको स्थलगत यात्राको सेवा दिएको पाइन्छ। इन्डियामेन कोच सर्भिसमा सन् १९५७ अगस्टमा लन्डनबाट कलकत्तासम्मको भाडा ८५ पाउन्ड भाडा तिरेको पिटर मोसले लेखकसँग भनेका छन्। जुन अहिलेको सटही दरमा १३ हजार ६ सय नेपाली रुपैयाँ हुन आउँछ।
हिप्पी ट्रेलरमा यात्रा गर्नेहरूले हर्मन हेस्सेको पुस्तक सिद्धार्थ, एलन गिन्सबर्गको भारत आएपछिको तारिफदेखि बिटल्सका गीतलाई प्रिय प्रेरणा बनाएका पुस्तकमा छ। सन् १९६८ फेबु्रअरीमा द बिटल्स् सदस्यहरू भारतको ऋषिकेशमा आएर महाऋषि महेश योगीसँग ध्यान सिकेकोले उनीहरू हिप्पी ट्रेलरमा थप लोकप्रिय भएका थिए। हिप्पीहरूले काठमाडांैलाई ‘साम्बला’ र नेपाललाई ‘सांग्रिला’को रूपमा मानेको पुस्तकमा
आधा हिप्पीहरूको भारतसम्म आउने, लागूऔषध प्रियहरू अफगानिस्तानलाई प्रिय मान्ने लेखिएको छ।
भारतको तटीय राज्य गोवा, आग्राको ताजमहल हिप्पीका मुख्य आकर्षण भनिएको छ। सन् १९६० र १९७० को दशकको विश्वमा व्यापक चर्चा भएको हिप्पी ट्रेलर बन्द हुने कारणमा युद्धदेखि हवाई यात्राको सहजता प्रमुख कारण भएको भनिएको छ। सोभियत संघको अफगानिस्तान कब्जा, इरानी क्रान्तिदेखि बंगलादेशको स्वतन्त्रता संग्राम हुँदै भारत पाकिस्तान तनावले ट्रेलर असुरक्षित हुँदै बन्दसम्म पुगेको उल्लेख छ। हवाई यात्रामा सस्ता टिकट मिल्न थालेपछि पनि उक्त ट्रेलरको आकर्षण घटेको लेखिएको छ।
केही देखिने गल्तीहरू पुस्तकमा छन्। जस्तो, बुद्ध जन्मभूमि कपिलवस्तुलाई नेपालको नभएर उत्तरी भारतको गन्तव्य भनिएको छ। हाल नेपालको जेलमा रहेका चाल्र्स शोभराजको हत्या शृंखला हिप्पी ट्रेलरबाटै भएको थियो। उक्त प्रसंग पुस्तकमा छैन। अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले लागूऔषधविरुद्ध युद्ध घोषणा गरेपछि अमेरिकी सहयोग लिने नेपालले अमेरिकी आडमा गाँजा बन्ददेखि हिप्पीलाई नेपाल प्रवेश निषेश गरेको विषय पनि पुस्तकमा छैन। हिप्पी ट्रेलरका देशहरूमा हिप्पीहरूले पारेका सकारात्मक र नकारात्मक प्रभावको चर्चा कम छ। यद्यपि, बेलायती र अमेरिकी आँखाबाट लेखिएको हिप्पी ट्रेलरको इतिहासको एक गज्जब प्राज्ञिक पुस्तक भने हो।