सामाजिक सञ्जालमा चुनौती
सूचना र सञ्चार प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, युट्युबको दुनियाँमा समाज द्रुत गतिमा दौडिएको छ। सामाजिक सञ्जालको प्रयोग चाहेर पनि कसैले रोक्न सक्ने स्थिति छैन। बालबालिका, युवा, वृद्धवृद्धा सबैको आधारभूत आवश्यकता बन्न पुगेको छ–इन्टरनेट। २०७९ सालको सुरुवातमै यो वर्ष फेसबुक, ट्विटर कम चलाउने अठोट भन्दै केहीले फेसबुकमा स्टाटससमेत राखेको देखियो। आज भोलि सकरात्मकभन्दा नकरात्मक रूपमा यसको प्रयोग बढेको छ।
बालबालिका हुँदा विद्यालयबाट बचेको समय घरका कामकाजमा सहयोग गर्ने, गोठालो जाने र साथीभाइसँग बाहिर खेल्न जाने गर्दै बिताउँथ्यौं। तर अहिलेको हाम्रा छोराछोरी पुस्ता घरमा इन्टरनेट भएसम्म प्रायः बाहिर निस्कन रुचाउँदैनन्। इन्टरनेट नभए इन्टरनेट भएको ठाउँमा वा मोबाइलको डाटा प्रयोग गरेर बस्ने गरेका छन्। बिहेको निम्तो मान्न १४ वर्षको छोरालाई हरतरहले फकाउँदा ऊ मैले कसैलाई चिनेको छैन त्यहाँ गएर के गर्ने ? भन्छ। परीक्षा सकिएपछि घुम्न जाउँभन्दा रुचि देखाउँदैनन्। बाहिर खेल्नभन्दा घरभित्रै भर्चुअल दुनियाँमा रमाउँछन् केटाकेटीहरू। अहिले घरघरका हरेक बाबुआमालाई यस्ता समस्याले पिरलिरहेको छ। सस्तो मनोरञ्जनको साधन र समय कटाउने सजिलो मेसो अहिले इन्टरनेट बनेको छ। इन्टरनेटमा नचाहिने र काम नलाग्ने कुराहरू मात्र छैनन्, राम्रा र उपयोगी सामग्रीहरू पनि अवश्य छन्।
सोचनीय प्रश्न के छ भने के गृहकार्य गर्न इन्टरनेटको प्रयोग गर्ने बालबालिकाहरू सकारात्मक र फलदायी कुराहरूमा मात्र भुल्ने गर्छन् र ? छिमेकीको चारवर्षे छोरालाई युट्युबमा भिडियो देखाउँदै खाना खुवाउनुपर्छ। उनका हजुरआमाका अनुसार, खाना खुवाउन पनि इन्टरनेटमार्फत बच्चा फकाउनु परेको छ। स–साना बालबालिकालाई मोबाइल देखाएर भुलाई आफू अन्य काममा लाग्नुपर्ने बाध्यता एकल परिवारको बाध्यता बनेको छ अहिले। बाबुआमाको व्यस्ततासँगै बालबालिका एक्लिएका छन्। धेरै बालबालिकालाई खेल्ने ठाउँ पनि छैन। एकै ठाउँमा एकतमासले मोबाइलमा ससाना बालबालिका झुन्डिरहँदा शारीरिक व्यायाम नपुग्ने, स्मरण शक्ति कमजोर हुने र इन्टरनेटको कुलतमा फस्ने अवस्था आएको छ।
बालबालिका, किशोरकिशोरीहरू स्वभावैले जिज्ञासु हुन्छन्। प्रविधिका कुरामा त हामीभन्दा धेरै अगाडि नै छन् उनीहरू। सामाजिक सञ्चालन नयाँ फिचर के आयो भन्नेबारे हामीभन्दा अघि नै उनीहरू जानकार हुन्छन्। तर, उनीहरू होमवर्क गर्न वा आफ्नो मनमा लागेको जिज्ञासा मेट्न यसको सदुपयोग गरेका छैनन्। बरु, अर्थहीन जिज्ञासा जगाउने भासमा फस्न पुगेका छन्। जसका कारण टिकटक अनि इन्स्ट्रग्राम र म्यासेन्जरको भुलभुलैयामा भुल्न पुगेका छन्। ह्यारी पोर्टरकी लेखिका जे के रोलिङ भन्छिन्, ‘इन्टरनेट बालबालिकाका लागि एउटा वरदान र एउटा श्राप हो।’ हालै एसईई दिएर बसेका कैयन किशोरकिशोरीको माग परीक्षा सकिएपछि बाबुआमालाई मोबाइल किन्न दबाब दिने थियो।
दुई महिना अगाडि साथीको घर जाँदा १३ वर्षे छोरीले पानीपुरी खाजा खुवाइन्। मीठो खाजा कसरी बनायौं ? भन्ने जिज्ञासामा उनको उत्तर थियो, युट्युब हेरेर। एकातिर बालबालिका युटयुबमा हेरेर नाच्न गाउन, पकाउन, प्रतिभा प्रस्फुटन गर्न सिकिरहेका छन्। अर्कोतर्फ, हाम्रा भाषा, संस्कृति, चालचलन, परम्परासमेत युट्युबमा खोज्नुपर्ने हो कि ? के अब खाना खाने तरिका, हिँड्ने तरिका, सुत्ने वा उठ्ने तरिका र सोच्ने तरिका नै इन्टरनेटमा
हेरेर सिक्नुपर्ने हो ? इन्टरनेटमा उपलब्ध बौद्धिक सामग्रीको प्रयोग भन्दा अहिले सतही र तत्कालका लागि जे गर्दा फाइदा हुन्छ, त्यही तात्कालिक कुरामाभुल्न हाम्रा केटाकेटी पुगिरहेका छन्।
एक तथ्यांकअनुसार नेपालमा इन्टरनेट प्रयोगकर्तामध्ये एक चौथाइ १३ देखि १९ वर्ष उमेरसमूहका छन्। साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न भिडियो देखाउने या मोबाइलमा खेल्न दिने बाबुआमा पछि गएर त्यो बानी छुटाउन नसक्दा दिक्क छन्। भविष्यको निर्धारण वर्तमानले गर्छ। यही क्रममा हामी हिँडिरह्यौं भने हाम्रा छोराछोरीको पुस्ताले न त गमलामा फूल फुलाउन सक्ला न त करेसाबारीको तरकारी टिप्न। आजभोलि कतिपय स्थानमा सामाजिक सञ्जाल र संगतले पार्ने प्रभावको विषयमा विद्यालय स्तरका बालबालिकालाई सचेत गराउन अभियान नै सुरु गरिएको छ।
सन् २०१२ मा नै चीनमा गरिएको एक अध्ययनअनुसार त्यहाँका वैज्ञानिकहरूले इन्टरनेटको कुलत रक्सी र गाँजा वा कोकिनजस्ता लागूऔषधको सेवनबाट पर्ने जस्तै असर मस्तिष्कमा पार्छ भन्ने दाबी गरेका थिए। त्यसयता चीनमा बालबालिका र युवालाई इन्टरनेट कुलतबाट छुटकारा दिन तीनभन्दा बढी पुनस्र्थापना केन्द्रहरू खोलिएका थिए। सामाजिक सञ्जालका कारण भविष्यका कर्णधार हाम्रा बालबालिकाको सिर्जनात्मक क्षमतामा कमी नआओस् भनेर अब अभिभावकले मात्र होइन, सरकारले पनि सोच्ने बेला आएको छ। बालबालिकालाई खेल्ने, टहलिने र साथीभाइ जम्मा भएर गफ गर्ने ठाउँ सार्वजनिक जमिन, खेलमैदानको संरक्षण र विकास गर्न सरकारले ध्यान दिनुपर्ने बेला आएको छ। यसका लागि अभिभावकले मात्र होइन, स्थानीय, प्रदेश र संघीय सरकारले सोच्नुपर्छ।
इन्टरनेटको प्रयोगका सकारात्मक फाइदा र प्रयोगबारे अब विद्यालय स्तरमै शिक्षकले बालबालिकालाई ज्ञान दिनु आवश्यक छ। यसका लागि शिक्षक आफैं पनि यसबारे जानकार हुनुपर्छ। अन्यथा, भोलि यिनै बालबालिकाले देशको शासन कसरी चलाउने ? अपराध र अन्य जघन्य कुरा पनि सामाजिक सञ्जालमा सर्च गर्न थाल्लान् भन्ने डर छ। सामाजिक सञ्जाललाई बौद्धिक विकासमा प्रयोग गर्ने कि बिनाशमा प्रयोगकर्तामा भर पर्ने कुरा हुन्।
यति भन्दाभन्दै पनि के बाँकी रहन्छ भने प्रयोगकर्तालाई के कुरा खोज्न वा हेर्न प्रोत्साहन गर्ने भन्ने कुरा अभिभावक, शिक्षक र सरकारको हातमा छ। संसारमा धेरै कुरा बौद्धिकता वा मानवीयताका लागि गरिएका विकास हुन्। तर यसको प्रयोग मानवताका विरुद्ध पनि भएका छन् र भइरहेका छन्। भोलि सामाजिक सञ्जाल नै हाम्रा लागि सबैभन्दा खतरा र चुनौती नबनोस् भनेर आजैदेखि सोच्नुपर्ने बेला आएको छ।