चुनावदेखि झगडा, पछि हत्या

चुनावदेखि झगडा, पछि हत्या

धनगढी / अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर ‘विनोद शाही हत्याकाण्ड’मा संलग्न भएको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्।  १७ वर्षका विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए।

उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउने, वडा–४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमति शाही, सोही गाउँका शिक्षक तथा मेयरमा नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए।

त्यस्तै, वडा–४ का  कर्णबहादुर शाही, उनका छोरा राम शाही र बुहारी शान्ति शाही, छोराहरू महेन्द्र शाही र वीरेन्द्र शाही, वडा–४ कै पृथ्वी शाही र उनका भाइ अक्कल शाहीसहित १३ जनाविरुद्ध मृतकका दाजु डम्बर शाहीले किटानी दिएका थिए। तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका हुन्। प्रहरीले अहिलेसम्म मेयर चलाउनेसहित ७ जनालाई पक्राउ गरेको जनाए पनि उनीहरूको नाम भने खुलाएको छैन। 

‘अहिले अनुसन्धान जारी छ। अन्तिम चरणमा छौं। नाम भन्न मिल्दैन,’ अनुसन्धान अधिकृत तोकिएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले भने।  घटनाको सुरुआत वैशाख ३० गतेको स्थानीय निर्वाचनदेखि भएको हो। मेयरमा निर्वाचित चलाउने नेपाली कांग्रेसकी उम्मेदवार थिइन्। वैशाख ३० गते नेकपा एमाले समर्थक र चलाउने (कांग्रेस) समर्थकबीच झडप भयो। झडपमा कांग्रेस कार्यकर्ताहरूले एमालेका कार्यकर्तालाई कुटे। यसैबीच निर्वाचन सम्पन्न भयो। चलाउनेले मेयर पनि जितिन्। तर, उक्त घटना भने मत्थर भएन। 

जेठको १७ गते फेरि वडा–४ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भयो। त्यसदिन एमालेका कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्तालाई कुटे। मेयर चलाउनेले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै प्रहरीलाई गाउँमै पसेर उनीहरूलाई पक्राउ गर्न निर्देशन दिइन्। त्यतिबेला जिल्ला प्रहरी कार्यालय अछामका प्रमुखमा डीएसपी रविराम थपलिया थिए। थपलिया मेयर चलाउनेका निकट थिए भन्ने पीडितको आरोप छ।

‘चलाउनेले जितेपछि डीएसपी थपलियाले पार्टीसमेत दिएका थिए। सामाजिक सञ्जालमा राखिएका तस्बिरले पनि डीएसपी मेयरमा निकट भएको देखाउँछ,’ स्थानीय बखत शाहीले भने, ‘सत्ताको दुरुपयोग गर्दै जेठ १८ गते राति थपलियाको नेतृत्वमा प्रहरी गाउँ पसे। उनीहरूले स्थानीयलाई धरपकड गरे। विनोद पनि त्यहीबेला हराएको हो।’ 

  • घटनामा १३ जना आरोपित
  •   मेयरसहित ७ जना पक्राउ
  •   प्रहरीले जाहेरी दर्ता गर्न 
  • नमानेपछि हुलाकबाट पठाइएको थियो किटानी जाहेरी

डीएसपी थपलियाको विरोध भएपछि अहिले अछामको प्रहरी प्रमुख परिवर्तन गरिएको छ। ३ दिनअघि मात्रै डीएसपी नारायण डाँगीलाई अछाममा खटाइएको छ। जेठ १८ मा हराएका विनोद २१ गते पञ्चदेवल विनायक नगरपालिकाको वडा–३ को पञ्चदेवक क्याम्पस नजिकको खोलामा भेटिए। सडकदेखि ४०÷५० मिटर तल किरा परेको, शरीरमा घाउ खत भएको अवस्थामा उनको शव फेला पर्‍यो। पीडितका दाई डम्बर शाही भन्छन्, ‘सत्ताको दुरुपयोग भएर प्रहरी आयो। जितिसकेपछि गाउँको विवाद मिलाउने जिम्मा मेयरको भए पनि उनकै योजनाअनुसार भाइको हत्या भयो।’ पीडितले दिएको किटानी जाहेरीमा मेयर चलाउने र उनका नजिक मानिएका शिक्षक नेत्र शाहीलाई योजनाकार भनिएको छ। 

अनुसन्धानमा सीआईबी

घटनामा राजनीतिक तरंग आएपछि त्यसको अनुसन्धानका लागि सीआईबीको टोली पनि अछाममा खटिएको छ। सीआईबीका डीएसपी मनोहर भट्टको टोली अनुसन्धानमा खटिएको छ। अझ संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोली पनि अछाममा छ। 

सरकारी वकिलको मिलाउने प्रस्ताव

सरकारी वकिलले घटना मिलाउन दबाब दिएको पीडित पक्षको बताएको छ। मृतकका आफन्त बखतबहादुर शाहीले शनिबार मात्रै धनगढीबाट अछाम पुगेका सरकारी वकिल कौसल ढुंगानाले यो घटनामा पक्राउ परेकाहरूलाई छोडेपछि घटना सहज हुने दबाब दिएको बताए। ‘पीडित परिवारलाई वकिलले आफ्नै निवासमा बोलाए। वकिलको कार्यालयबाट ‘मुद्दा अदालत नलैजाउ यसमा सबैले सकारात्मक भूमिका खेल्नुपर्छ’ भने,’ सरकारी वकिल ढुंगानाको भनाइ उद्धृत गर्दै शाहीले भने, ‘सरकारी वकिल र मेयर चलाउने एकै गाडीमा शनिबार मात्रै अछाम आएका हुन्।’

दुई दिनसम्म अछामको यातायात बन्द

किशोर मृत अवस्थामा फेला परेसँगै आन्दोलित आफन्तहरूले आइतबार र सोमबार अछाममा यातायात बन्द गरेका छन्। अछामका ५ राजनीतिक दलहरूले विज्ञप्ति निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका हुन्।

एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रकाका जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिने यातायात बन्दको आयोजना गरिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.