चिकित्सकको लापरवाहीमा संसदीय छानविन हुने
जनकपुरधाम : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापरवाही गरेको समाचार प्रकाशन भएपछि घटनाको छानविन हुने भएको छ।
अस्पतालले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेको समाचारमा मधेश प्रदेशसभाको विशेष समय लिएर प्रदेशसभा सदस्यहरुले आवाज उठाएपछि घटनाको छानविन हुने भएको हो।
बिरामीले झण्डै चार महिना अघि गराएको चेकजाँचको आधारमा चिकित्सकले पित्तथैली पत्थरीको शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको समाचार प्रकाशन प्रसारण भएको थियो। २०७८ फाल्गुन २८ गते बिरामीले अल्ट्रासाउण्डमा गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरवाही भेट्टिएको भन्दै सांसदहरुले छानविन माग गरेका हुन्। चार महिना अघि व्यक्तिगत (सेल्फ) रुपमा भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) गराएको र सोही आधारमा डा. अमरेश कर्णले भर्ना गरी डा. राजेश साह र डा. आश्विनी यादवले शल्यक्रिया गरेका थिए।
महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभा चौधरीको शल्यक्रिया गरेपछि अवस्था नाजुक हुँदा जेकजाँच गर्दा चार महिनाको गर्भवती भएको जानकारी प्राप्त भएको थियो। सोही विषयमा संसदमा उपेन्द्र महतो, रानीशर्मा तिवारी र मनिष सुमनले आवाज उठाएपछि सभामुखले छानविन गर्न निर्देशन दिएका हुन्।
सभामुख सरोजकुमार यादवले महिला बालबालिका तथा समाजिक न्याय समितिलाई छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन्। समितिका सभापति जयनूल राईनले बुधवार समितिको बैठक डाकेको र आवश्यक निर्णय बैठकबाटै लिइने अन्नपूर्णलाई बताए। राईनले, ‘भोलिबाटै छानविनमा खटिएर बिरामीको अवस्था बुझ्नेदेखि लिएर चिकित्सकको लापरवाहीलाई मिहिन ढंगले छानविन गरी १५ दि भित्र प्रतिवेदन बुझाउने तयारी थालेको छु।’
यता शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा. अमरेश कर्णले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्। उनीहरु एक चिकित्सकले अर्कोलाई दोषी देखाएर उम्किन खोजिरहेका छन्।
बिरामी चौधरीको अवस्था हाल नाजुक रहेको र १६ गते एयर एम्बुलेन्सबाट काठमाण्डौं स्थित मेडिसिटी हस्पिटलमा उपचाररत छिन्। चिकित्सकलाई उद्दृत गर्दै बिरामीका श्रीमान राजेश चौधरीले अवस्था अझ जटिल बन्दै गएको बताए।