रसुवागढीले स्थानीय प्रभावितका लागि निष्कासन गरेको आइपीयो दोस्रो बजारमा ल्याउन सिफारिस
रसुवा : रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले प्रभावित स्थानीय बासिन्दाको लागि जारी गरेको आइपीयो बाँडफाँड गरे लगत्तै दोस्रो बजारमा ल्याउन सिफारिस गरिएको छ। जिल्ला समन्वय समिति रसुवा र रसुवागढी जलविद्युत् कम्पनीबीच भएको छलफलपछि कम्पनीले सर्वसाधारणका लागि जारी गरेको सेयरको अवधि तीन वर्ष पुगिसकेकाले पुनरावलोकनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो।
कम्पनीले सर्वसाधारणका लागि आइपीयो जारी गरेको मितिले तीन वर्षसम्म स्थानीयले पाएको सेयर बेच्न नपाउने व्यवस्था छ। यस समस्याको समाधान गर्न स्थानीयका लागि जारी भएको आइपीयो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएपश्चात नै बेचविखन गर्न मिल्ने व्यवस्थाको लागि सिफारिस गरिएको हो। कम्पनीले यही असार १३ गतेदेखि प्रभावित स्थानीयबासीका लागि आइपीयो खुला गरेको छ। चालु आर्थिक वर्षको अन्तिममा सेयर निष्कासन गरेर सेयरबाट बञ्चित गराउन खोजिएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए।
समिति र कम्पनीबीच भएको छलफलले यसअघि असार २७ गतेसम्म बिक्री खुला गरेकोमा साउन १० गतेसम्म समय थप गर्ने र त्यसपश्चात पनि १ महिनाको अवधि थप्नका लागि कम्पनी मार्फत नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। यसैगरी सेयर भर्नका लागि आर्थिक समस्या परेकाले बैंक तथा वित्तीय संस्थामार्फत सेयर भर्नका लागि सहुलियत कर्जा प्रवाह गर्नका लागि निर्देशनात्मक अनुरोध गर्ने निर्णय समेत गरेको छ। रसुवाबासीका लागि रसुवागढीले १०० रुपैयाँ अंकित ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गर्ने छ। यसमा बिक्री प्रबन्धकको काम सिदार्थ क्यापिटलले गर्नेछ।
कम्पनीले गोसाइँकुण्ड गाउँपालिका–१ थुमन र वडा नम्बर २ टिमुरेलाई अति प्रभावित, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङ र वडा नम्बर ५ चिलिमे र गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङ, ५ स्याफ्रु र ६ धुन्चेलाई प्रभावित तथा बाँकीलाई सामान्य प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ। निष्कासन गरिएको १० प्रतिशत सेयरमा अति प्रभावित, प्रभावित र सामान्यलाई क्रमशः ४.५:१.५:१ अनुपातमा सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ। निष्कासन बन्द छिटोमा असार २७ र ढिलोमा साउन १० गते तोकिएको छ। आइपियोमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिने छ। आइपीयोमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो। कम्पनीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यसको ८३ प्रतिशत काम सकिएको छ। स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो।