पौडीले बदलिएको जीवन
काठमाडौं : सिन्धुपाल्चोकको पाङ्ग्रेटार–६ मा २०२८ सालमा जन्मिएका शंकर कार्की सानैमा पौडीमा पोख्त भएका थिए। उनी स्कुल बिदा हुनासाथ सुनकोशी नदीमा डुबुल्की मारिहाल्थे। बाल्यकालको यही लहडले उनमा पौडीको मोह बढ्न थाल्यो। सुनकोशीको फराकिलो नदी हुँदै उनी राष्ट्रिय खेलकुद परिषद्को साँघुरो पौडी पोखरीमा डुबुल्की मार्न थाले। काका ईश्वर कार्की पौडीकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुँदै प्रशिक्षक बनिसकेका थिए। शंकरले पनि उनकै पदचाप पछ्याउँदै २०५० सालबाट औपचारिक रुपमा पौडीको प्रशिक्षण सुरु गरे।
पौडी पोखरीमा प्रशिक्षण गर्दागर्दै २०५२ सालमा राष्ट्रिय खेलकुद परिषद्को पौडी पोखरीमा लाइभगार्डको जागिरे जीवन पनि सुरु गरे। लाइभगार्डमा जागिर सुरु गरेपछि उनलाई पौडी खेल्न झन् सहज भयो। उनले जागिरे जीवनसँगै प्रशिक्षणलाई पनि निरन्तरता दिए। उनले चौथो र पौचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा पनि गरे। राष्ट्रिय प्रतियोगितामा पदक जित्न नसके पनि विभिन्न खुला पौडी प्रतियोगिताहरूमा भने पदक जित्न सफल भए।
प्रशिक्षण, पौडी प्रतियोगितामा सहभागिता र दैनिक काम गर्दागर्दै परिषद्ले आह्वान गरेको विभिन्न खेलहरूमध्ये पौडी खेलको डिप्लोमा कोर्सका लागि उनी छनोट भए। भारतको पटियालामा सन् २००२–२००३ मा परिषद्कै छात्रवृत्तिमा उनले एक वर्षे कोर्स द्वितीय श्रेणीमा उतीर्ण गर्न सफल भए। डिप्लोमा कोर्स उतीर्णसँगै कार्कीले २०६१ सालमा प्रशिक्षकका रुपमा राष्ट्रिय खेलकुद परिषद्मा स्थायी जागिरे जीवन सुरु गरे। परिषद्मा जागिरे जीवनमा प्रवेशसँगै शंकर राष्ट्रिय खेलकुद परिषद्, नेपाल पौडी संघ र नेपाल ओलम्पिक कमिटीबाट सञ्चालन गरिएका विभिन्न तालिममा पनि सहभागी भए। सन् १९९७ मा काठमाडौंमा फिना रेफ्री एन्ड अफिसियल तालिममा सहभागी भएका उनले सन् २०१४ मा भारतको बेंग्लोर, २०१४ मै कतारको दोहामा प्रशिक्षण लिए।
यसैगरी सन् २०१९ मा राष्ट्रिय खेलकुद परिषद्बाट एडभान्स ट्रेनिङ लिएका उनले सन् २०१९ मै ओलम्पिक पदक विजेता पेनिहाम्स्बाट लिङ्कनमा सञ्चालन गरिएको पाँच दिने प्रशिक्षण पनि लिएका थिए। सन् २०१९ मै टोकियो ओलम्पिकको पूर्व तयारीका लागि जापानमा आयोजना भएको एक महिने व्यवसायिक प्रशिक्षण लिने अवसर पनि उनले पाए। यसैगरी यही वर्ष परिषद्को आयोजनामा भएको एक साता लामो क्षमता अभिवृद्धि कोर्समा पनि शंकर सहभागी भएका थिए। उनले स्कुल टिचर कोर्स पनि पूरा गरेका छन्।
विभिन्न संस्थामा प्रशिक्षण
शंकरले सन् २००६ देखि २०१६ सम्म करिब एक दशक हिम्स स्कुलका खेलाडीलाई पौडीको प्रशिक्षण गराए। उनले हिम्सका विद्यार्थीलाई पौडी मात्रै सिकाएनन्, विभिन्न प्रतियोगिता आयोजना गराउनुका साथै अन्तर विद्यालय उमेर समूह पौडी प्रतियोगिता पनि सञ्चालन गरे। उनकै अग्रसरतामा सन् २००८ देखि २०१४ सम्म हरेक वर्ष विद्यालयस्तीय पौडी प्रतियोगिता आयोजना भयो।
हिम्सको पौडी प्रतियोगिता त्यतिबेला विद्यालयस्तरीय प्रतियोगिताहरूमध्ये उत्कृष्ट मानिन्थ्यो। उनले नेपाल पौडी संघको मातहत रहेर विद्यालय तहका विद्यार्थीलाई प्रशिक्षण सञ्चालन गरेका थिए। हरेक वर्ष प्रतियोगिताहरू सञ्चालन भएकै कारण उत्कृष्ट खेलाडीहरू पनि जन्मिएका थिए।
ओलम्पिक यात्रा
शंकर विद्यालय तहदेखि विश्व खेलकुदको सर्वोच्च मञ्च ओलम्पिक यात्रा गर्ने प्रशिक्षक पनि हुन्। सन् २०१९ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो। जलपरी गौरिका सिंह एक्लैले चार स्वर्ण जित्दै इतिहास रचेको १३औं सागमा नेपालले पौडीमा चार स्वर्ण, चार रजत र चार कांस्य जितेको थियो।
त्यो स्वर्णिम इतिहास बनाउन मुख्य भूमिका खेलेका थिए, पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले। उनकै प्रशिक्षणमा नेपालले ऐतिहासिक सफलता हात पारेको थियो। सागको १२औं संस्करणसम्म नेपालले पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सकेको थिएन। १३औं सागमा सबैलाई चकित पार्दै नेपालले व्यक्तिगत विधामा चार स्वर्ण जितेको थियो। शंकरकै प्रशिक्षणमा गौरिका सिंहले आफ्नै भूमिमा स्वर्णिम इतिहास रचेकी थिइन्। शंकर १३औं साग हुनुभन्दा एक वर्ष अघि सन् २०१८ मा पौडीका मुख्य प्रशिक्षक बनेका थिए।
साग खेलकुदको करिब साढे तीन दशकको अवधिमा व्यक्तिगत विधामा राष्ट्रलाई ऐतिहासिक सफलता दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका शंकरलाई नेपाल पौडी संघले उत्कृष्ट प्रशिक्षकबाट सम्मान गरेको थियो। यसैगरी एनएसजेएफ स्पोर्ट्स अवार्डमा पनि शंकर उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। १३औं सागको यही सफलताले नै उनले चर्चा पनि बटुल्न सफल भए।
आफ्नै भूमिमा आयोजना भएको १३औं सागमा चर्चा बटुलेका शंकर टोकियो ओलम्पिक २०२० मा नेपाली टोलीसँगै जापान पुगेका थिए। उनको प्रशिक्षणमा नेपाली खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाहले उत्कृष्ट प्रदर्शन गरेका थिए। खेलाडी हुँदै प्रशिक्षकका रुपमा विश्व खेलकुदको उच्च मञ्चमा पुग्नु नै आफ्नो जीवनकै ठूलो उपलब्धि भएको शंकर बताउँछन्। ‘एउटा खेलाडीका लागि सबैभन्दा ठूलो सपना भनेकै ओलम्पिकमा सहभागी हुनु हो। मैले खेलाडी जीवनमा त्यो सौभाग्य नपाए पनि प्रशिक्षकका रुपमा आफ्नो सपना पूरा गर्न पाएँ’, शंकर भन्छन्, ‘जुन जीवनकै एउटा अविष्मरणीय क्षण हो। गौरिका र एलेक्ससँगै राष्ट्रको झण्डा बोकेर मार्चपास गर्दाको क्षण सम्झँदा पनि संधै गौरवको अनुभूति हुन्छ।’
डिप्लोमा कोर्स ट्रनिङ प्वाइन्ट
सन् २००२ मा भारतको पटियालामा पौडीको डिप्लोमा कोर्समा सहभागी हुनु र त्यो कोर्स उतीर्ण गर्नु नै आफ्नो जीवनको ट्रनिङ प्वाइन्ट भएको शंकर बताउँछन्। ‘पटियाला कोर्समा सहभागी हुनु नै मेरो जीवनको ट्रनिङ प्वाइन्ट बन्यो। त्यो अवसरले जीवनको ट्रयाक नै चेन्ज भयो’, शंकर भन्छन्। उनी लामो समयको लाइफगार्डको भूमिका र विभिन्न प्रशिक्षणले नै आफूले सफलता पाएको बताउँछन्।
अबको लक्ष्य
शंकर नेपाली खेलकुदको आरोह र अवरोहका साक्षी हुन्। नेपाली खेलकुदमा लामो समय बिताएका उनी यसका सबै परिवर्तनलाई नजिकबाट नियाल्दै आएका छन्। उनी आफूले सिकेका र जानेका कुरा नेपाली खेलकुदलाई बाँड्ने अभियानमा छन्। शंकरले लामो समय विद्यालयको खेलकुदलाई हेरे। त्यही कारण खेलकुदको विकास विद्यालयस्तरबाट सम्भव छ भन्ने कुरा उनले बुझेका छन्। ‘खेलकुदलाई राम्रो बनाउने हो भने विद्यालय तहदेखि नै ध्यान दिनुपर्छ। किनभने खेलकुदको जग भनेकै विद्यालयका बालबालिका हुन्।
हामीले जगलाई जति बलियो बनाउन सक्छौं, उति नै खेलकुदले सफलता पाउन सक्छ’, शंकर भन्छन्। शारीरिक तथा मानसिक क्षमता अभिवृद्धि गर्न र आफू स्वस्थ रहन पनि पौडीको प्रशिक्षण अनिवार्य गर्नुपर्नेमा उनी जोड दिन्छन्। ‘यसले भविष्यमा आइपर्ने जटिल दुर्घटनामा आफ्नो जीवन रक्षाका साथै अरुको जीवन बचाउन पनि अहंम भूमिका खेल्छ’, उनी भन्छन्, ‘खेलाडी बन्नकै लागि भन्दा पनि पौडी खेल्न जानेमा स्वस्थ रहन पनि मद्दत गर्छ।’
उनको अबको लक्ष्य पनि विद्यालयकै भाइबहिनीलाई पौडी सिकाउने छ। विद्यालयबाटै खेलाडी उत्पादन हुने भएकाले उनले विद्यालयका विद्यार्थीलाई रोजेका हुन्। ‘अबको लक्ष्य राम्रो खेलाडी उत्पादन गर्नु हो। गौरिका सिंहजस्ता खेलाडी बनाउने अभियानमा आफ्नो जागिरे जीवनपश्चात देशका विभिन्न स्थानबाट सुरु गर्नेछु। त्यो योजना विद्यालयका भाइबहिनीबाटै सुरु हुन्छ’, शंकर भन्छन्।