सुपारी तस्करीको विषयलाई लिएर सशस्त्र र नेपाल प्रहरीबीच विवाद

सुपारी तस्करीको विषयलाई लिएर सशस्त्र र नेपाल प्रहरीबीच विवाद

धरान : सुपारी तस्करीको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद भएको छ। विवादका कारण बुधबार राति काँकडभिट्टा भन्सार कार्यालयमा दुबै फौजबीच झडपसमेत भएको थियो।

सुरुमा नेपाल प्रहरीले सुपारी तस्करी गर्न सेटिङ मिलाएको थियो। प्रहरीसँगको सेटिङमा करिब १५० जनाले बोरामा सुपारी बोकेर भारततर्फ कुद्न थालेका थिए। सुपारी बोकेर भारततर्फ कुद्न थालेको समूहलाई सशस्त्र प्रहरीले रोक्ने क्रममा ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच भनाभन हुँदा झडप भएको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी एकआपसमा झडप गर्न थालेपछि बोरामा सुपारी बोकेका धेरैजसो तस्करहरु भारततर्फ प्रवेश गरेको र केहीको सुपारी प्रहरीले बरामद गरेको एक प्रत्यक्षदर्शीले बताए।

काँकडभिट्टामा रातिको समयमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारीहरुको मिलेमतोमा सुपारीलगायतका सामान तस्करी हुने गरेको छ। स्रोतकाअनुसार सुपारी तस्करी गराइदिए वापतको रकमको भागभण्डा नमिलेका कारण दुबैतर्फ विवाद भएको हो। प्रहरीतर्फ यस्तो विवाद हुँदासमेत भन्सारमा पुर्‍याएको सुपारी भने बरामद गरिएको छैन। सुपारी तस्करीको विषय बाहिर आएपश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरीले यसको ढाकछोप गर्ने प्रयास गरेका छन्। दुबै प्रहरीले सुपारी तस्करीका विषयमा भएको विवादमा कुनै सत्यता नभएको बिहीबार विज्ञप्ति निकालेर जनाएका छन्।

काँकडभिट्टामा भएको घटनाका बारेमा प्रदेश १ सशस्त्र प्रहरी प्रमुख कमल गिरीले नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच अन्जानमा सामान्य विवादमात्र भएको स्वीकार गरेका छन्। सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदीप कार्कीले एक महिलाले बोरामा सुपारी लिएर भारततर्फ जाँदै गरेको र सादा पोशाकमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच एकआपसमा नचिनेका कारण विवाद भएको बताए। उनले थोरै मात्रामा रहेको उक्त सुपारी बोरा तान्ने क्रममा छरिएर पानीमा डुबेको बताए।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले भने बाहिर फिजाइएको हल्ला गलत भएको बताए। उनले बुधबार बरामद गरिएको सुपारी भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको बताए।

काँकडभिट्टा भन्सार कार्यालयमा भएको घटना बुझ्न भन्सार प्रमुख केशवराज ओलीलाई फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.