भारतीय ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु, विराटनगरको रोडशेष तनावग्रस्त
विराटनगर : विराटनगरको रोडशेष चोकमा भारतीय मालबाहक ट्रकको ठक्करबाट शुक्रबार साँझ एक जनाको मृत्यु भएको छ। दुर्घटनापछि रोडशेष चोकको अवस्था तनावग्रस्त बनेको छ।
तीव्र गतिमा विराटनगरबाट जोगबनीतर्फ जाँदै गरेको डब्लुबी२३बी ४९६१ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको हो। मृतक पुरुषको पहिचान खुलिसकेको छैन।
साइकलमा रोड क्रस गर्दै गर्दा ट्रकले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार शव क्षतविक्षत अवस्थामा छ।
दुर्घटनापछि रोडशेष चोकको अवस्था तनावग्रस्त बनेको छ। दुर्घटनापछि भेला भएका स्थानीयले ट्रकमा आगजनीको प्रयास गरेका छन्। घटनाको विरोधमा स्थानीयले प्रदर्शन पनि गरे।
स्थितिलाई नियन्त्रण बाहिर जान नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए। मृतकको सनाखत र थप अनुसन्धानलगायतका कार्य भइरहेको जानकारी प्रहरीले दिएको छ।