हर्कबहादुरको नयाँ संस्करण !

हर्कबहादुरको नयाँ संस्करण !

दिनेश अधिकारीको सम्भवतः सबैभन्दा कान्छो कृति ‘कविताको कथा : गीतको कथा’ पढ्ने शुभ साइत जुर्‍यो। मध्यपुर ठिमी (नेपालभाषाको लवजमा थिमी) एक स्रष्टा मित्रले हातमै सुम्पनुभयो। सावित्री कक्षपति र अशेष मल्लको एकसाथ चिया चमेना हुँदै थियो। हामी सामूहिकै रमायौं। चियापानमा रमाउँदै गफियौं। रमाउँदै ‘कविताको कथा: गीतको कथा’ ओल्टाउँदै, पल्टाउँदै गयौंं। पुस्तक मार्ग आआफ्नै। पछिल्लो जिलाको बाहिरीफेरामा आँखा गड्यो। मार्मिक। अन्तरमनै चस्किने भाववस्तुमा डुबें। आफैंसित साहुति गरें। श्रीगणेश यतैबाट... !

ब्लर्ब पछिल्लो जिल्लामा छापिएको थियो– ‘कुरो २०५७ जेठ १३ गतेको हो। कार्यालयतिरै थिएँ। घरबाट श्रीमतीले फोन गरिन्– आजको ‘साप्ताहिक’ पत्रिकामा दिनेश अधिकारीका दुई पत्नीहरू भनी छापिएको छ रे। के हो त्यो ?’ एकपल्ट त म पनि झस्किएँ ! पत्रिका मगाएँ। अन्तिम पानामा शीर्षक नै रहेछ– दिनेश अधिकारीका दुई पत्नीहरू। त्यो डा.डी.पी. भण्डारी सरको लेखोट हो भन्ने देखेपछि ढुक्क भएँ। पढ्न सुरु गरें। सुरुमै लेखिएको थियो, आधुनिक नेपाली काव्य जगत्का तीन-चार स्रष्टामध्ये दिनेश अधिकारी एक कवि हुन् जसबाट अत्यधिक प्रभावित भएको छु, स्पर्शित भएको छु।’ पढ्दै जाँदा थाहा भयो, अतिरिक्त अभिलेख शीर्षकको मेरो कवितासंग्रह पढेपछि त्यसैको सेरोफेरोमा उहाँले यो लेख लेख्नु भएको रहेछ र ‘बिहे’ शीर्षकको कवितामा बढी केन्द्रित हुनु भएको रहेछ।

पेमला गुरुवाचार्य (श्रीमती नारायणगोपाल) ले नारायणगोपालसँगका मेरा २० वर्ष शीर्षकको लेखमा त्यस गीतका सम्बन्धमा लेख्नु भएको कुरा पनि सम्झन्छु। उहाँले लेख्नु भएको छ– उहाँलाई गीत र संगीत छान्ने कुरामा केही रूपमा म पनि सहयोग गर्थें तर अन्तिम निर्णय उहाँ एक्लैको हुन्थ्यो। कहिलेकाहीँ मलाई मन परेको गीत उहाँलाई मन पर्दैनथ्यो। दिव्य खालिङको संगीत र दिनेश अधिकारीको लेखन एउटा गीतमा यस्तै भएन भेटी नभेट्न सक्ने आकाशको तलाउ तिमी साँझ बत्ती बाल यात्रा मलाई देऊ...’ यसको शब्द र लय दुवै मलाई असाध्य मन परेको थियो तर उहाँलाई भने मन परेन। उहाँले कहाँ चित्त बुझेन भनेर गाउनु भएन... !’ (यसै पुस्तकबाट)

तिमी जुन रहरले ममा फुल्न आयौ
सबै सुख हराए, सधैं चोट पायौ
म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ?
व्यर्थै तिमीले मेरो हात समायौ

बैंसालु तिम्रा ती रहरहरूमा
न मैले कहिल्यै हरियाली कोरें
राताम्य तिम्रा ती अधरहरूमा
न मैले कहिल्यै खुसीयाली पोतें
र, सायद रिसायौ तिमी भित्रभित्रै
न भित्री तिम्रा खुल्दुली सोधेँ

रुझे हुन् ती तिम्रा पलक र आँखा
मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा
मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैंसलाई
जो शून्यतामा बिलाए मजस्तै।

यो त्यही गीत हो जुन गीतकार-कवि दिनेश अधिकारीको ‘कविता कथा ः गीतका कथा’ सँगालोभित्र  पहिलो सिर्जना रहेछ। कविताभन्दा गीतको कथामा पाइला चाल्न रुचाएँ। गीतको कथामा त मुक्तकण्ठ साधेको-साधना गरेको भए न गर्थें। गर्दम राप अलापेर कहाँ संगीतमा त लयबद्ध ताल–सुरसित गीतका भावाभिव्यक्ति सन्तुलित सम्मिश्रित हुनुपर्दो हो ठान्छु। म संगीतज्ञ होइन, ठोकुवा साथ भन्न सक्दो हुँ... !

कविता लयबद्ध हुँदैन, होइन। गीति कविता किन हुँदा हुन् त ? कविता गेय हुन्छन्। संस्कृतका श्लोक गेयै त हुन्। वार्णिक छन्दहरू योग्य नै छन्। हामीमा अन्तरनिहित अजश्रश्रोतवान क्षमता छन्। तोटक छन्द गेय। भुजङ्गप्रयात, वसन्ततिकला, शार्दूलविक्रीडित छन्द आदि गेय काव्य नै हुन्। भनिन्छ, हाम्रा प्राचीन मुनिवरहरू गीतिभाकामा वार्तालाप गर्थे।

अब हेरौं, गीति कविताको पूर्णांश :

‘तिमी जुन रहरले, ममा फुल्न आयौ– क्या मिठास क्या महक चहक शारदीय जूनको ! वाचन गर्दा मधुमय रस !’ म डुब्दो किनारा कहाँ हाँस्न सक्नु ? 
व्यर्थै तिमीले मेरो हात समायौ !’ मर्म भेदी– मुटु छेड्ने बोल ! इमान धर्मले कहूँ, कहूँ लाग्छ।
बैंसालु तिम्रा ती रहरहरूमा
न मैले कहिल्यै हरियाली कोरें
राताम्य तिम्रा ती अधरहरूमा
न मैले कहिल्यै खुसीयाली पोतें
र, सायद रिसायौ तिमी भित्रभित्रै
न भित्री तिम्रा खुल्दुली सोधें।

गीतमा जुन मधुरिमामय महक मगमगाउँदो छर्ने बरकत अन्तरनिहित राख्छ, यी पंक्तिगत अवधारणा चाख्छु। गीतमा अन्तरनिहित ढुकढुकी छाम्दाको रसास्वादन भन्छु।
रुझे हुन् ती तिम्रा पलक र आँखा
मसँग कहिल्यै इशारा नबोल्दै
रुखे हुन् ती तिम्रा यौवन र भाखा
मसँग कहिल्यै निःश्वास नखोल्दै
र, सायद सराप्यौ सबै बैंसलाई
जो शून्यतामा बिलाए मजस्तै।

गीति कविताका बिट मार्दाे यी हरफ संवेदनशील छन्। संवेदना मनका गहिराइबाट प्रकटित हुन्छन्। पाठकका स्पर्शनीय-भावात्मक चिन्तनले अँगाल्दो बन्छ ती सरासर ! अभिभूत भएँ। आल्हादित बनें। उफ्रें। नाचें। गुनगुनाएँ। एकान्तमा। स्वच्छन्द। स्वच्छन्दतामा मनै पर्याप्तिन्छ। न ताल, न सुर, न छन्द, न गति। मात्र शिव–ताण्डव केवल ! उन्मत्त आवेग केवल... ! गीतको कथा कथोपकथन मात्र बन्छ, उपयुक्त संगीतको अभावमा। भइएछ उस्तै... ! स्वर सम्राट्का नकारका जरा...!

कुन गीतको प्रसंग रहेछ– उल्लेख थिएन। त्यो ब्लग अंशमा उल्लेख थिएन। जान्ने रहरहरू लहराउँदै बढ्दै रह्यो। दूरभाषमा तत्काल जोड्न पुगें। उत्कण्ठा निवारण भयो तत्कालै। अन्य शेष १६ गीतका कथा गीतकार र गायक, वाद्य–वादन पदगामी बन्धुबान्धवमा सुम्पन चाहें। कविताको कथातिर लम्कन चाहे... ! 

कविताको कथाभित्र ११ कविता छन्। तिनमा पहिलो कविता ‘हर्कबहादुर’। यथार्थिक भएर नि प्रतीकात्मक अनुभूत हुन्छ। नितान्त यथार्थ भएर अझै गम्भीर रूपमा बिम्बात्मक लाग्छ। कविताको गरिमा महिमामय बन्छ। कविताले पाठक जगत्लाई भाव गहिराइमा डुबुल्किन उद्वेलित पार्छ। त्यस्तै भइएछु। तरंगित भएँ। सरलतम् सम्प्रेषणमा गहनतम् भावविन्यास हर्कबहादुर कविता संरचित पाएँ। कविताभित्रको मर्मभेदी अनुभूति बन्यो मेरो। अतिशयोक्ति ठान्दिनँ यसलाई। मनका तरंग मेरो यो। रुनझुन्... रुनझुन्... !

हर्कबहादुर
उसलाई धेरै नामले चिन्न सकिन्छ
ऊ दाउरे पनि हो
ऊ चाउरे पनि हो
ऊ काले पनि हो
अरूहरूबाट आफ्नो सक्कली नाम सुन्न
व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ
ऊ हर्कबहादुर हो।

कविताको सुरुआती हुन्छ, यसरी। पहिलो पाद टुंगिन्छ। सर्जकले नितान्त सरल, सहज अभिव्यक्ति दिएर कसैले चासो नलिएको यथार्थलाई चुमेका छन्। माझिएका हाम्रा नेपाली उक्ति ः रवि नछिरेको शहरमा कवि छिरेको चरितार्थ भएको पाएँ। कवि सूक्ष्म द्रष्टा। जस्तो लक्षण उस्तै दर्शन। उपेक्षा उस्तै। बुझ्नेलाई इशारा काफी... !

हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन
बिहान झिसमिसेमै गोरु नारेर ऊ
कहिले बाँझो मार्न जान्छ
कहिले कोदाली बोकेर
आली ताछ्न र बाउसे गर्न भ्याउँछ
ऊ सफल दूरदर्शी पनि हो
उसलाई थाहा छ
लुगा फाट्छ, छाला फाट्दैन 
छाला, साहु काढेर किन्न पनि पाइन्न
ऊ नांगो आङले भारी बोक्छ
ऊ नांगो आङले धर्ती जोत्छ
हो, गाउँका सभा–समारोहमा जाँदा
हर्कबहादुर–
टिठलाग्दा आँखाले
घरी झन्डा र घरी आफ्नो आङ हेर्छ
सायद हर्कबहादुर
छातीभित्र अट्टहास पनि हाँस्छ
सायद हर्कबहादुर
मनहरूमा कोलम्बस पनि बाँच्छ–
कि, मान्छे प्रयोगमा आउनुभन्दा पर
वस्तुको अर्को ठूलो उपयोगिता छैन भने
बटुलेर संसारभरिका झन्डाहरू
लुगा सिउँदा
हरेक नांगो भागलाई पुग्छ
हरेकलाई कछाड पुग्छ
हरेकलाई मजेत्रो पुग्छ
झन्डा– मान्छेको परिचय होइन
मान्छे स्वयंमा परिचित इतिहास हुन्छ
मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ

हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन
गते,
बार,
महिना,
ऋतु,
वर्ष,
र तिथि पनि थाहा छैन
समय, सायद आफ्नो पुच्छर आफैंले निल्ने 
सर्पले भोग्छ
समय, सायद हातहतियार छाद्ने कल–कारखानाले भोग्छ
योजनाले भोग्छ
साइरनले भोग्छ
हर्कबहादुरले आजसम्म समय भोगेको छैन
हर्कबहादुरले अझैसम्म समय मागेको छैन
समयको नाममा
भोग्दा–
उसले महिषासुर झापडहरू भोगेको छ
माग्दा–
उसले अन्नका दानाहरू मागेको छ
कपासका गाँठ र बारीका पाटाहरू मागेको छ
एउटा एउटा बन्दुक बोक्ने हातलाई
हर्कबहादुरले सधैं कोदाली मागेको छ

हर्कबहादुर भोक हो
भोकको देश र भेष पनि हुँदैन
भोकको आफन्त र पराई पनि हुँदैन
हर्कबहादुर ठोस हो
पीडा आकारमा आबद्ध हुँदैन
पीडाको साँध–सिमाना र घरबार पनि हुँदैन
म साँच्चै भन्छु–
भोक यदि देश हो भने
हर्कबहादुरभन्दा सुकिलो अर्को देश हुनै सक्तैन
शोक यदि देश हो भने
हर्कबहादुरभन्दा ठूलो अर्को देश हुनै सक्तैन
राष्ट्रियता ! राष्ट्रियता ! ! राष्ट्रियता ! ! !
स्वाधीनता ! स्वाधीनता ! ! स्वाधीनता ! ! !
नागरिकता ! नागरिकता ! ! नागरिकता ! ! !
परार उसकी सातवर्षे छोरी
सर्पले टोकेर अकाल मर्दा
खै ! स्वाधीनताले ‘नजा’ भन्न सकेको ?
लैजाऊ !
सट्टामा केही दिनु पर्दैन
राष्ट्रियता विज्ञप्त छ
स्वाधीनता विज्ञप्त छ
नगरिकता विज्ञप्त छ
हर्कबहादुरको सन्दर्भमा
यी सबैको प्रयोजन
सिउनीमा अल्झेको सुर्तीको धूलोभन्दा बढी छैन
सिउनी टक्टक्याएर त–
हर्कबहादुर
एक सर्को फुक्न बिँडी पनि बेर्न सक्तैन

भनें नि–
हर्कबहादुरको देश छैन
हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन
ऊ तपाईँको गाउँमा-सहरमा-देशमा पनि 
भेटिन सक्छ
जितबहादुर पनि हर्कबहादुर हो
भीमप्रसाद पनि हर्कबहादुर हो
हर्कबहादुर एकलव्यको नयाँ संस्करण 
हो सलाम !

खर्च नपाएर
आफैंमा तरुनी छोरीको बैंस र बूढी 
स्वास्नीको भोक
काँपिरहेको
हर्कबहादुरलाई मेरी स्वास्नीको 
सिन्दूर–पोतेको सलाम !
सलाम !
दिमागमा छोराछोरीको लुगाफाटो
र छातीमा आफ्नै सहिद तस्बिर टाँगिरहेको
हर्कबहादुरलाई मेरी आमाको काखको सलाम !!
सलाम !

मान्छे–करङको दतिउन
र हाडको चन्दन लेप नलगाएर
मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको 
हर्कबहादुरलाई मेरो कविताको सलाम !!!

लाग्छ– कविता मात्र मापोभित्रको एकबित्तो होइन। हुन सकोइन। कविता अन्तत सागर हो। डुबुल्किँदा सागरमा अनन्त, अथाह फड्किन पाइन्छ। फड्किन सहज हुन्न, छैन पनि। सागरीय प्राणीले कुप्लुकिने सम्भावनामय भय नि रहन्छ। उत्तिकै। यी भए कठिनाइ व्यावहारिक...। कवि–कविता रसतिरै छलाङियौं... हर्कबहादुरको दिनचर्या। दैनान्दैनिक नियाल्दै कवि चेत कल्पन्छन्– हर्कबहादुरलाईृ कवि अर्जुनभन्दा कम आँकलन गर्दैनन्। अर्जुन त महाभारतका महान् राजर्षि योद्धा। राज्यशासन अभीष्ट राखी कुरुक्षेत्र युद्ध लड्छन्– श्रीकृष्णको आडभरोसामा। को पो छ र हर्कबहादुरको। आफ्नै पौरखमा जिएका...। 

श्रीकृष्ण हर्कबहादुरको तुलनाको अन्तरालमा आकाश–पातालको अन्तर पाइन्छ। मात्र अन्तराल होइन; अतुलनीय दाँजोमा व्यंग्य छ, उपहास छ। गाउँका सभा–समारोहमा जाँदा हर्कबहादुर टिठलाग्दा आँखाले घरी आफ्ना आङ अनि झन्डा हेर्दै छातीभित्र अट्टहास हाँस्छ। हरफ देशकै विडम्बनापूर्ण व्यवधान व्यक्त्याउँछ। सरलतम् अभिव्यञ्जनामा गहनतम् हठबाद प्रदर्शन गर्ने सामथ्र्य बोक्छ। सार्थक कवित्व र काव्यात्मक मधुरस छर्छ, प्लावित ! कविका चेतनाभित्रको काव्यात्मक रस प्लावन गर्न कपडा जस्तै पानी तप्काउनु नै ठान्छु। अनि त अन्तरभाव तप्किन थाल्छ।

संसारभरिका शानदार झन्डाहरू बटुलेर लुगा सिउँदा हरेक नांगो शरीरका लागि कछाड सिउन पुग्दो आँकल गर्छन् कवि। कहाँ झन्डा कहाँ कछाड...। अतुलनीय वस्तु ! मर्यादित वस्तु–भावसित दाँजेर मर्यादितलाई व्यर्थ तुल्य जनाउँछ। काव्यिक कुटिलताले चसक्क चस्काउँछ। यहाँनिर।

थुप्रै कविता छन् रोचक–सरल अनि छन् मार्मिक ! गीत प्रभावोत्पादक... ! अहिले यति नै ! फेरि फेरि लेख्दै गरुँ भन्छु... ! किन्तु, हर्कबहादुर कवितामा झन्डा र कछाडको तुलनाबाट सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा नवनिर्मित महिला तथा बालबालिका कार्यालय भवन उद्घाटन रहेछ। सम्बन्धित मन्त्रालयको सचिव एकै रहेको प्रमुख जिल्ला अधिकारीलाई अज्ञात रहेको थाहा हुन पुग्छ। घोचक घटनाको रोचक प्रसंगमा टुंगिन्छ.... यसरी... यहीँ... ! जे होस्, कविता मार्मिक 

धआख्यान पाठकका पुँजीगत सम्पदा... !!!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.