मूल्यवृद्धिले बन्द हुँदै नवलपरासीका इँट्टा उद्योग
परासी : इन्धनदेखि कोइलाको अत्याधिक मूल्यवृद्धिका कारण नवलपरासीका इँट्टा उद्योगहरु बन्द हुने भएका छन्। एक वर्षको अवधिमा इन्धन, कोइलाको अत्यधिक मूल्यवृद्धि हुनुको साथै माटोको अभावले पनि उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको नवलपरासीका इँट्टा व्यवसायी एंव नेपाल इँट्टा उद्योग महासंघका केन्द्रीय सदस्य कृष्ण नारायण श्रेष्ठले बताए।
जिल्लामा १७ वटा उद्योग छन्। ती उद्योगहरुबाट दैनिक ११ लाखको हाराहारीमा इँट्टा उत्पादन हुँदै आएको श्रेष्ठले जानकारी दिए। जिल्लामा उत्पादनकै हाराहारीमा इँट्टाको माग थियो।
‘केही महिना पहिले प्रति केजी २५ रुपैयाँ पर्ने कोइला अहिले ४२ रुपैयाँ पुगेको छ। आर्थिकमन्दीसँगै इन्धनको मूल्य पनि अचाकाली बढ्यो। त्यसमाथि माटोको अभाव र मजदुर पाउन छाडेपछि उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो,’ श्रेष्ठले भने।
बैंकले लगानी गर्न छाडेपछि व्यक्तिहरुले घर बनाउन छाड्नु र ठूला संरचनाका भवनहरु पनि निर्माण हुन नसकेपछि इँट्टाको माग धेरै नरहेको श्रेष्ठको भनाइ छ। जिल्लामा अहिले करिब ६ करोड संख्याका इँट्टा स्टकमा छन्।
‘पहिला भारतबाट कोइला आउँथ्यो अहिले अमेरिका, अष्ट्रेलिया र इण्डोसियाबाट मगाउनुपर्छ। त्यसमाथि सरकारले तेस्रो मुलकमा पैसा पठाउन रोकेको छ। जसले गर्दा कोइला खरिद गर्नै नपाएपछि उद्योग बन्द गर्नुको विकल्प छैन,’ बालाजी इँट्टा उद्योग सरावलका सञ्चालक कुलदिप आचार्यले भने।
सबै क्षेत्रमा मूल्यवृद्धि भए पनि इँट्टाको मूल्यवृद्धि हुन नसकेको व्यवसायीहरुको भनाइ छ। अहिलेको बजार मूल्यअनुसार जिल्लामा प्रति इँट्टा १६ रुपैयाँ छ। उद्योगमा ७ हजारले प्रत्यक्षसहित १२ हजारले रोजगारी पाएका थिए। उद्योग बन्द भएपछि उनीहरु सबै बेरोजगार भएको नवलपरासी इँट्टा उद्योग संघले जनाएको छ। कोइला अभाव र मूल्यवृद्धिले भारत र पाकिस्ताका उद्योगहरु बन्द भइसकेकोले अब नेपालका सबै उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेको महासंघका केन्द्रीय सदस्य श्रेष्ठले बताए।
‘केही दिनमा महासंघले मूल्यवृद्धि र कच्चा पदार्थको अभावका कारण देशभरकै उद्योगहरु बन्द भएको घोषणा गर्दै छ,’ श्रेष्ठले भने।