आख्यान भूमिमा जमेकी प्रेमा शाह

आख्यान भूमिमा जमेकी प्रेमा शाह

प्रेमा शाह नेपाली साहित्यको कथा, उपन्यास र कविताको क्षेत्रमा एउटा प्रकाश स्तम्भको रूपमा प्रशंसनीय काम गरेर असामयिक मृत्युवरण गर्न पुगेकी प्रतिभाशाली व्यक्तित्व हुन्। ‘पहेंलो गुलाफ’ नामक पहिलो कथाकृति प्रकाशित भएपछि समीक्षात्मक टिप्पणी प्रकाशित गरें। आधुनिक नेपाली साहित्यकी धनी प्रेमाको जन्म २००२ असार १९ गते भएको हो। पहिलो कथा संग्रहमा पहेंलो गुलाफ शीर्षकमा उनको पहिलो कथा संकलित भएर प्रकाशित भएको पाइन्छ। यो कथा धेरै सकसपूर्ण स्थितिमा लेखिएको हुन सक्छ। लेखन त्यति सजिलो कहाँ हुन्छ र ? उनकै शब्दमा–‘हिजो केही लेख्न सकिनँ। राति १ बजे लेख्न बसेकी, मन लागेन। निद्रा पनि परेन। आज पनि के लेखूँ खै ? ठूलो चट्टान उखेलिएर छातीमा झुन्डिएको छ। एउटा निर्जीव शताब्दी अघिको फसिलसित जोडिन पुगेकी छु म।’

साँचो लेखन र यथार्थ लेखन जीवनको दर्दबाट उत्पन्न हुन्छ। जीवनको कुण्ठाग्रस्त कष्टबाट लेखनको अनुभूति अभिव्यक्त हुन्छ। जीवन पीडाले भरिएको हुन्छ अक्षरका पन्ना–पन्नाहरू र यस्तो लेखन नै जीवनलाई छुन्छ किनभने जीवनको गहनतम र घनिभूत पीडा यसमा अभिव्यक्त भएको हुन्छ। हास परिहासबाट लिखित लेखन त्यति मर्मस्पर्शी एवं मार्मिक हुँदैन। उनको लेखनमा पीरैपीरको अनुभूतिले भिजेको जस्तो प्रतीत हुन्छ। जस्तोः दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन। डायरीका यी रित्ता पृष्ठहरू जति पल्टाउँछु उति मभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ। कस्तो खाली हो, म आफैं पनि जान्दिनँ। म ज्यादै दुब्लाइसकें, थुकसित कहिलेकाहीँ रगत मिसिएर आउँछ। राति आँखै तिरमिराउने कालो रगत। मलाई टीबी भएको रहेछ।’

प्रेमा शाहको व्यक्तिगत जीवन पनि उकुसमुकुस, छटपटी, आरोह अवरोह, आँसु मिश्रित अनुभूतिको कहानी हो ‘पहेंलो गुलाफ’। उनको जीवन अनुभूति र पहेंलो गुलाफको नियतिमा कति सादृश्य छ, कति समानता छ, कति मेलखाने जीवनानुभूति छ। पहेंलो गुलाफमा अभिव्यक्त भएको जीवन दर्शन प्रेमाको जीवन दर्शन नै हो भन्न सकिन्छ । ‘च्वः मेरो पहेंलो गुलाफ, एउटाएउटा पातमा एउटा एउटा लाभ्रे। सबै फूल खाएर सकिन लागिसके, यी लाभ्राहरू कति चाँडो पातलाई सक्दा रहेछन्। पानी छिट्यायो। ऊ आकाश हल्लिइरहेछ, खस्ने मात्रै बाँकी छ। गुलाफ पहेंलो गुलाफ एक एक पत्र हराउँछ।’ उनले लेखेजस्तै जीवन रह्यो, प्रेमा शाहको। सबैको यही नियति छ। प्रेमाको यो कथा अम्मर र अविस्मरणीय बनेको छ। यो मास्टरपिस कथा हो। उनको वास्तविक जीवनको प्रतिविम्ब पनि। संग्रहभित्र अरु कथा पनि छन्। जस्तो लोग्ने, प्रतिक्रिया, चायाँ, मीना, एउटा जीवन्त क्षण जो मरी मरी पनि बाँच्छ, बाल्जपछि र सिउँडीको झ्याङमा।

प्रेमाको दोस्रो कथा संग्रह हो, विषयान्तर। यसमा कुन रंग, अनिश्चितता, स्थिति बोध, कहीँदेखि कहीँसम्म, विरोध, उदात्त रेखा, सन्त्रासदेखि पर मार्तोल र चट्टान वर पर आदि कथा छन्। हिन्दी साहित्यका कथाकार चन्द्रधर शर्मा गुलेरी तीनवटा मात्र कथा लेखेर अमर भए। हिन्दी साहित्यको इतिहासमा उनको नाम स्वर्णाक्षरमा अंकित छ। यी तीन कथामध्ये ‘उसने कहा था’ बहुचर्चित बहुप्रशंसित र बहुपठित तथा बहुमूल्य उपलब्धिको रूपमा स्मरणीय छ। प्रेमालाई अमर कथाकार बनाउनमा पहेंलो गुलाफ सफल र समर्थ छ।    पहेंलो गुलाफ प्रधानतः र मूलतः प्रतीकात्मक कथाको रूपमा नेपाली पाठकको मनमस्तिष्कमा सधैं जीवित रहनेछ।

प्रेमा उपन्यासकारको रूपमा पनि प्रसिद्ध छन्। उनको ‘मम्मी’ धेरै मार्मिक र मर्मस्पर्शी उपन्यासमा गनिन्छ। अर्को उपन्यास ‘आकाश विभाजित छ’ मा संकलित भएर प्रकाशित छ। उनको उपन्यास ‘मम्मी’ लेखिकाले आत्मपरीक्षण गरेर लेखेकी हुन्। यो उपन्यास चरित्रप्रधान उपन्यास हो। पुरुषप्रधान समाजको कुरीति र विकृतिलाई नंग्याउने कोसिस गरिएको छ। मम्मी पतिको रुखो व्यवहारबाट आजित भएर परपुरुषतिर आकर्षित भइन्। आफ्नै घरमा राखेर उनीसित पतिको सम्बन्ध स्थापित पनि गर्छिन्। पारिवारिक जीवनको दायित्व निर्वाह गर्नमा ऊ एउटी असाधारण महिला सावित भइन्। उनको जीवन एउटा खुल्ला किताब जस्तो थियो। मम्मी यस्ती आधुनिक शिक्षित महिला हुन् जसले तीन छोरीलाई सभ्य र सुरक्षित बनाउँछिन्। मम्मी परजीवी होइन अपितु अर्को लोग्नेलाई पनि पालेर राख्छिन् तर उसको लोभलालचले पछि घरबाट निकालेरै छाडिन्। महिलाले चाहे भने के गर्न सक्दैनन्। अचेल त महिला सशक्तीकरणको युग छ तर जुनबेला प्रेमाले ‘मम्मी’ उपन्यास लेखिन्, त्यसबखत यस्तो स्थिति थिएन। यसबाट के पनि प्रष्टिन्छ भने प्रेमा दूरदर्शी महिला भएरै मम्मी सम्भव भयो। उनले मम्मी जस्तो पात्रको सिर्जनामा काव्यिक प्रतिभा, औपन्यासिक क्षमता एवं दक्षता र आख्यानात्मक आवरणमा सशक्त महिला पात्रको सिर्जना गरेर उदाहरणीय काम गर्नमा सफल भइन्।

अर्को उपन्यास ‘आकाश विभाजित छ’ पनि उनको प्रशंसित छ। तराईको भूमिमा जन्मिएकी प्रेमाले तराई भूमिको तरंगबारे यथार्थ चित्रण गरेकी छन्। पुरुष चरित्रको चित्रणमा पनि उनी खप्पिस छन्। जस्तो–‘रञ्जन। शायद मभन्दा झन ऊ साहसिलो होला नत्र स्वास्नीमान्छेलाई यसरी पत्याउने आँट लोग्ने मान्छेमा शून्य प्रतिशत नै हुन्छ। रञ्जन बेग्लै लोग्ने मान्छे हो। अन्य लोग्नेमान्छेको तुलनामा।’

प्रेमाले उपर्युक्त दुईवटा लघु उपन्यास लेखेर औपन्यासिक कुशलता देखाइन्। उनी सानो कथानकमा पनि एउटा महान् सन्देश दिन खोज्छिन्। प्रेमा मूलतः एवं प्रधानतः कवयित्री भएको हुनाले उनको भाषाशैलीमा काव्यिक सौन्दर्य पाइनु सर्वथा स्वाभाविक हो। गद्य लेखन कविताको कसी मानिन्छ। यस कसीमा प्रेमा सर्वथा सफल देखिनु स्वाभाविक हो। उनको भाषाशैलीमा अंग्रेजी भाषाको प्रयोग पनि बढी मात्रामा पाइन्छ। यो उनको अंग्रेजी मोह पनि भन्न सकिन्छ। अंग्रेजी भाषाको प्रयोगले गर्दा उनी बहुपठित आख्यानकारको रूपमा पाठकसित परिचित हुन पुग्छिन्। अंग्रेजी शब्दको प्रयोग कथोपकथनमा भरमार रूपमा पाइन्छ। जसले उनी विदुषीको रूपमा पनि देखिन्छन्। एउटा उदाहरण काठमाडौंमा भएकी भए सहरको कुनै कुनामा मेरो एउटा ब्रोथल खुलिसक्थ्यो र त्यस अनाम चिहानमा म आफ्नो नाटकीय मृत्युको एपिटाफ लेख्थें। आधुनिक, सभ्य र सम्पन्न काठमाडौं शहरबीच मन्दिर र दर्शनीय स्थान सहर मेरो ब्रोथल पनि एक सांस्कृतिक केन्द्र बन्थ्यो। मेरो एपिटाफ वर्षेैपिच्छे पर्यटकको भीड बढ्थ्यो, फरेन एक्सचेन्जले देश धनी बनिसक्थ्यो।’ यो कस्तो व्यंग्यात्मक कथन हो, जसलाई आज पनि मनन् गर्नु उत्तिनै आवश्क मान्न सकिन्छ
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.