चीनविरोधी गतिविधि नहोस् भन्नेमा लिउको जोड
काठमाडौं : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले चीन विरोधी कुनै पनि गतिविधि नेपालमा नहोस् भन्ने चाहना व्यक्त गरेका छन्। चार दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। ती भेटमा चीन विरोधी कुनै पनि गतिविधिले प्रश्रय नपाओस् भन्ने चिनियाँ चासो व्यक्त गरेका हुन्।
प्रधानमन्त्री देउवासँगको भेटमा चिनियाँ नेता लिउले नेपालमा कुनै पनि चीन विरोधी गतिविधि नहोस् भन्नेमा जोड दिएको बालुवाटार स्रोतले बतायो। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँगको भेटवार्तामा उपस्थित रहेका कूटनीतिज्ञ तथा पूर्वराजदूत दिनेश भट्टराईले लिउको भनाइ उल्लेख गर्दै भने, ‘नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिनुभएको छ।’ त्यस क्रममा प्रधानमन्त्री देउवाले पनि नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। भेटमा प्रधानमन्त्री देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय आफूले बन्द गराएको जानकारी गराएका थिए। त्यसका लागि लिउले प्रधानमन्त्री देउवालाई धन्यवाद पनि दिएको बालुवाटार स्रोतले बतायो।
लिउसँग विमानस्थलदेखि सँगै रहेका भट्टराईले नेपालमा चीनको मामिलालाई लिएर सबै पार्टीहरूको समान धारणा रहेकामा लिउले खुसी व्यक्त गरेको बताए। परराष्ट्रमन्त्री खड्काले लिउसँगको भेटमा नेपाल र चीन बीचको मित्रता ऐतिहासिक रहेको बताउँदै उक्त मित्रतालाई कायम चाहेको पनि बताएका थिए।
नेताहरूसँगको भेटवार्ताका क्रममा लिउले नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशबीचको सम्बन्ध, नेपालमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको अवस्थाका बारेमा बुझ्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छन्। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनका विषयमा पनि चीनको चासो बढ्दो छ।
पूर्वराजदूत तथा राजनीतिक विश्लेषकका अनुसार नेपालले प्रतिनिधि सभाबाट एमसीसी व्याख्यात्मक घोषणा गरेसँगै बीआरआई परियोजनालाई लिएर चीनले नेपालप्रति बढी चासो देखाएको छ। लामो समयदेखि रोकिएको बीआरआई परियोजना अगाडि बढाउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने उक्त विषय अगाडि बढाउन सकेको छैन। अर्को, चीनले एक चीन नीतिमा नेताहरूको प्रतिबद्धता खोजिरहेको छ।
नेपालमा एमसीसी परियोजना भित्रिय सँगै चीनले बीआरआईका विषयमा बढी चासो दिएको छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भने चीनले चासो दिनु स्वाभाविक भएको बताए। ‘राष्ट्रिय आवश्यकता र परियोजनाको आधारमा परियोजना छनोट गर्नुपर्यो,’ अन्नपूर्ण एक्सप्रेसद्वारा आइतबार आयोजित कार्यक्रममा वाग्लेले भने, ‘कुनै पनि प्रोजेक्ट आवश्यकता र प्राथमिकताको आधारमा ल्याइनुपर्छ। अहिले बीआरआईका कार्यक्रम आएको ५ वर्ष भइसक्दा पनि केही काम अगाडि बढेको छैन। यो विषयमा चीन स्वयंको चासो बढी छ।’ यसकारण पनि आवतजावत बढेको छ।’ सरकारले बीआरआईअन्तर्गतका योजना अघि बढोस् भन्ने चाहेको बताउँदै वाग्लेले भने, ‘चीनसँग लोनमा प्रोजेक्ट साइन गर्न अहिले सरकार चाहँदैन। लोनको सहयोग लिने पक्षमा अहिले सरकार छैन। लोनबाहेक अन्य सहयोग लिन सरकार तयार छैन।’
डेनमार्कका लागि नेपालका पूर्वराजदूत विजयकान्त कर्णले भने चिनियाँ टोली राजनीतिक एजेन्डा बोकेर नेपाल आएको सहजै अनुमान लगाउन सकिने बताउँछन्। उनले तीन पार्टी शीर्ष नेतालाई भेट्ने कार्यतालिका नै रहेको बताउँदै भने चीनले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न खोज्दै आएको पनि नयाँ कुरा होइन। ‘किनभने ओली सरकारको पालामा चीनप्रतिको पोलिसीहरू खुकुलो थियो। अहिले देउवा सरकारको पालामा आउँदा चाइनाप्रति विदेश नीति केही कसिलो बनाएदेखि नै उनीहरू केही हच्किएका छन् र यो भेटघाट बाक्लिएको छ।’
चिनियाँ नेताबाट नेपालका कम्युनिस्ट पार्टीहरू सञ्चालित छन्। ‘चीनबाट पनि आउने र भारतबाट पनि आउने सबै हाम्रा पाउना हुन्। अहिले पहिलो चोटी आएका होइनन्। चीन र भारतबाट मात्र होइनन्। बीआरआईको डकुमेन्ट बाहिर आएको छैन। नेपालको फ्रि ट्रेड एग्रिमेन्ट गरेको छ। पोलिसी एक्सचेन्जको कुरा छ। पार्टी टु पार्टी एग्रिमेन्ट छ।’
लिउले आइतबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग तथा सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लिउले मंगलबार भेटघाटको कार्यक्रम रहेको केपी ओलीको सचिवालयले जानकारी दियो, ‘चिनियाँ टोलीले अध्यक्ष निवास बालकोटमै भेटवार्ता गर्ने छ।’ बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणको अन्तिम दिन लिउले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर बिहीबार स्वदेश फर्कने कार्र्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। लिउले सोमबार बिहान सुन्दरीजल क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री देउवालाई चीन कांग्रेसको निम्तो
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले आगामी नोभेम्बरमा हुने पार्टीको २०औं कंग्रेस (अधिवेशन)मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिनफिङले आफ्नो दूत बनाएर पार्टीका विदेश विभाग प्रमुख लिउलाई नेपाल पठाएका हुन्।
बालुवाटारमा भएको द्विपक्षीय भेटमा लिउले राष्ट्रपति सीको सन्देश सुनाउँदै पार्टीको कंग्रेसमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निम्ता दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन आगामी नोभेम्बरमा हुँदैछ।