डोटी जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा
डोटी : डोटी जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले सोमबार एक समारोहका बीच जिल्ला घोषणा गरेका हुन् ।
जिल्लाका नौवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो ।
असार १५ गते बोगटान फुड्सिल गाउँपालिकालाई घोषणा कार्यक्रम सुरू गरी असार २२ गते पूर्वीचौकी गाउँपालिकालाई घोषणा गरेर स्थानीय तहहरूमा घोषणा कार्यक्रम सकिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताए ।
उनले प्रदेश सरकारप्रति गुनासो गर्दै स्वास्थ्य भवनका लागि छुट्याइएको बजेट तथा कार्यक्रम काटेर मन्दिरमा बजेट हालेकाले त्यसमा असहमत रहेको बताए ।
१५ महिनाभित्रैका बालबालिकालाई १३ वटा रोगविरूद्ध विभिन्न १४ वटा खोप लगाउने गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्ली रमण जोशीले जानकारी दिए ।
डोटीका दुई सय ४८ वटा खोपकेन्द्रबाट खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
डोटीका जम्मा तीन हजार ८६ बालबालिकालाई खोपको सुनिश्चितता गरेर यो कार्यक्रमको घोषणा गरिएको जोशीले बताए । खोप लगाउन सुरू गरेर बीचमै छोडेका जिल्लाभरीका ८९ जना बालबालिकालाई समेत पूर्णखोप लगाइएको जोशीले जनाएका छन् ।