‘नेपालका कम्युनिष्टलाई चीनले हस्तक्षेप गर्दैन’

‘नेपालका कम्युनिष्टलाई चीनले हस्तक्षेप गर्दैन’

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ भ्रमणमै छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर लिउले नेपालका वाम दलहरूबीचको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताए। उनले नेपाल र नेकपा कम्युनिस्ट दलहरूले आफ्नो बारेमा आफैं स्वतन्त्र भएकाले यसमा चीनको कुनै हस्तक्षेप नहुने बताएका हुन्। 

आइतबार नेपाल आइपुगेका उनी सोमबार बिहान सुन्दरीजलस्थित बीपी संग्रहालयको भ्रमणमा पुगेका थिए। दाहाल र लिउबीच भएको भेटवार्ता प्रचण्ड निवासमा दुई देशबीचको हितबारे छलफल भएको थियो। भेटमा लिउले नेपालमा हुने चीनविरोधी गतिविधिबारे चासो लिँदै, ‘नेपालले विश्वका जुनसुकै मुलुकसँग विकासका कुरा साझेदार बन्न सक्छ। त्यसको हामी सम्मान पनि गर्छौं। तर नेपाललाई प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नपाओस् भन्ने हाम्रो चाहना हो,’ लिउको भनाइ उद्धृत गर्दै माओवादीका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले बताए। उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै लिउले अन्तर्राष्ट्रिय सरोकारका मुद्दाहरूबारे पनि चासो व्यक्त गरेको बताए। 

अध्यक्ष दाहालले नेपालका राजनीतिक पार्टी र नेपाली जनता एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए। ‘नेपालले जहिले पनि चीनलाई असल मित्रको रूपमा स्वीकार्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै राम्रो सम्बन्ध विकास गर्न चाहन्छ। नेपाल भूमि भएर  चीनविरुद्ध कुनै पनि गतिविधि गर्न नदिने कुरामा नेपाल सरकार र आफ्नो पार्टी प्रतिबद्ध रहेको विचार व्यक्त गर्नुभयो,’ दाहालको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने।

दाहालले चीनमा अध्ययनरत नेपालीका विषयमा पनि ध्यानाकर्षण गराएका थिए। विशेषतः चीनमा अध्ययनरत नेपाली विद्यार्थी, त्यसमा पनि चिकित्सा क्षेत्रका विद्यार्थीको समस्या केरुङमा व्यापारका लागि सहज वातावरण बनेको छैन। त्यसका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। 

प्रचण्डले नेपाल र चीनबीचको व्यापार घाटा कम गर्न र अरनिको राजमार्ग सञ्चालका लागि पहल गरिदिनसमेत आग्रह गरेको श्रेष्ठले बताए। त्यस्तै, लिउले बीआरई सम्झौताअन्तर्गत परियोजनाहरू छनौट गर्न आग्रह गरेका थिए। श्रेष्ठले छलफलमा लिउले आफ्नो भ्रमण नेपालको राजनीतिक पार्टीहरू र सीपीसीको सम्बन्ध सुधार गर्न र नेपालमा सार्वजनिक रूपमा देखिएका अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पार्टीहरूको धारणा बुझ्न आएको बताएको उल्लेख गरे। श्रेष्ठले भने, ‘मुख्यतः चीन र नेपालको बीच तथा सीपीसी र नेपालको राजनीतिक पार्टीहरूको बीचमा मैत्रीपूर्ण सम्बन्ध सुदृढ गर्ने उद्देश्य देखियो।’ सीपीसीले आफ्नो फैसला आफैं गरेका कारण चीनमा विकास भएको उल्लेख गर्दै नेपालमा पनि राजनीतिक दलहरूले त्यस्तै गर्नुपर्ने बताएका थिए।

नेपालका राजनीतिक पार्टीहरूले आफ्नो फैसला आफैं गर्ने क्षमताको विकास गर्नुपर्ने जोड दिनुपर्ने पनि लिउले बताएका थिए। भेटवार्तामा माओवादीका तर्फबाट प्रचण्डसहित राम कार्की, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र पम्फा भुसाल सहभागी थिए। लिउले आज (मंगलबार) एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललगायतसँग भेटघाट गर्नेछन्। 

लिउले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीन विरोधी घटना नहोस् भन्ने चीनले चाहेको बिचार राखेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने उनले बुधबार मात्रै भेट्ने परराष्ट्रका अधिकारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.