भाषाको एकीकरणमा भानुभक्त
असारे भाका रोपाइँको जोससँगै आइपुगेको भानु उत्सव मनाउने तयारीमा छौं। असार २९ भानु जयन्ती। जति चर्चा गरे पनि कम हुन्छ, नेपाली साहित्यमा भानुभक्त आचार्यको। दुई थुँगा पूmल र दुई चार शब्दले आदिकवि भानुभक्तको सम्झना गरेर मात्र हुँदैन। रामायण जस्तो गहन संस्कृत साहित्यलाई नेपालीमा उल्था गरेर उनले नेपालीका जनजिब्रोसम्म पु¥याउन जे प्रयत्न गरे, त्यो निकै सराहनीय थियो र छ। हरेक देशको आफ्नै राष्ट्रियता हुन्छ, राष्ट्रियताको मूल चार खम्बा हुन्छन्। ती भनेका धर्म, संस्कृति, भूगोल र भाषा नै हुन्।
आदिकवि भानुभक्तले अध्यात्मको गहिरो अध्ययन गरे। अध्यात्म रामायणका मूललेखक त स्वयं श्रीशिव नै हुन्। शिवको आदिमक्षेत्र नेपालमा रहनेका लागि सगरमाथामा पहिलो घामको झुल्का झुल्केझैं अध्यात्मको खोजी यहीँबाट हुनुपर्नेमा दुई मत नरहला। सृष्टिको उषाकाल वेदबाटै त सुरु हुन्छ, रामायणको मूल जरो त वेद नै हो। जहाँ संसार अटाउँछ। हिन्दुत्वको जन्म पनि यसैबाट भएको हो, संहिता, अरण्यक, उपनिषद्, अठारै पुराण, रामायण, महाभारतदेखि समग्र वैदिक, लौकिक वाङ्मय, पालि साहित्य वेद राशिकै त उपज हुन्।
भाषाको अध्ययन गर्दा यसका चार प्रकार तत्सम, तद्भव, अपभ्रंश र स्थानीय देखिएका छन्। सबैको मूल तत्सम संस्कृत नै हो। जहाँ धर्म, संस्कृति, संस्कार पनि जोडिएको हुन्छ। वरत्र र परत्रको चर्चा हुन्छ, जीवन र जिउने कला पनि हुन्छ यसमा। भौगोलिक भेदले अन्तर हुनु स्वाभाविक हो। व्यापक अनुसन्धान गर्ने क्रममा प्रसिद्ध पाश्चात्य विद्वान् मेक्समुलरले समेत यसलाई स्वीकारेको देखिन्छ। कवि भानुभक्तले यसलाई बुझेर नेपाली भाषाको एकीकरण गर्ने प्रयास गरे। नेपाली जनजीवनमा नैतिकता, इमान्दारिता, निष्ठा, सच्चरित्रताको संकेत गर्ने रामायणको पाठ पढाए। परिवारमा पति, पत्नीको प्रेमभाव, दाजुभाइको सम्बन्ध, पितृआज्ञा भनौं परिवारमा हुनुपर्ने सबै गुण देखाइदिए। आधुनिक समाजको उच्छृंखल भीडमा बधु शिक्षाको बाढी नअटाए पनि तत्कालीन परिवेशमा त्यो असहज थिएन। समयको भेलसँगै विषयवस्तु परिवर्तन हुँदै जानु स्वाभाविक हो।
पवित्र मनसायले गरिएका सबै कर्म अनन्तसम्म अमर नै हुन्छन्। भक्ति अनि वेदान्तको रस चखाउनु सजिलो काम थिएन र पनि उनले जे प्रयास गरे उनका अनुयायीले पछि त्यसमा खाँवा र खम्बा जोड्दै गए। त्यसैले त्यसमा फलेको वृक्षबाट फल चाख्न पुगेका छौं आज। मान्छेले त स्व को खोजी, स्वाध्याय, इहलोकको सुखका साथै परत्रको मोक्षको पनि उपाय खोज्नुपर्ने हुन्छ। भक्ति साहित्य, वेदान्तको दर्शन त्यो पनि जीवन दर्शनसँग प्रत्यक्ष सरोकार राख्ने रामायणको खोजी गर्नुपर्ने हुन्छ। रामायणको गहन खोजी गर्ने व्यक्ति अधार्मिक हुनै सक्दैन। जसले रामायणका विषयमा कलम चलाउँछ ऊ स्वयं स्रष्टा बनिहाल्छ। सकेसम्म काव्य शास्त्रमै लागेको व्यक्ति पवित्र हुन्छ। अर्थात्, खोलाभैmँ बगिरहने समयलाई काव्य शास्त्रको अध्ययनबाट बग्न दिनुपर्छ। भानुभक्तको रामायण नै एक दिन नारद सत्यलोक पुगि गया लोकको गरौं हित भनी भनेर सुरु हुन्छ। हरेक व्यक्तिको उत्साह र प्रगतिमा उसले पाएको संगति र प्रेरणा बलियो हुन्छ। तनहुँका घाँसीबाट प्रेरणा पाएका भानुभक्तले जीवन अमर गराउन सके।
रामायणमै राम गीता तयार हुन्छ जो हरमानवको अमूल्य निधि बन्न पुग्छ। यसैमा लक्ष्मण गीता तयार हुन्छ, जुन ज्ञान र विज्ञानले भरिपूर्ण हुन्छ। राम गीताको माहात्म्य स्वयं शंकरजी मात्र जान्न सक्नुहुन्छ। हामीजस्ता असहाय जीवको के प्रयास हुन्छ र। संसारमा जिन्दगीभर घुमेर, खोजेर नपाइने विषय राम गीतामा पाइन्छ। संसारकै कष्ट र पाप नाशक छ। यो राम गीता, सम्पूर्ण मानवको सर्वस्व हो यो। स्वयं माता पार्वतीले पनि राम गीताको अध्ययन गर्ने प्रयास गरेको शास्त्रीय मान्यता छ। बुद्धिको साक्षी ब्रह्म हो, निर्विकार पूर्ण आत्मामा अज्ञानताले गर्दा सम्पूर्ण प्रपन्च भएको हो। हिरण्यगर्भ ईश्वरको शरीर हो यो विराट्मा संसार हो भने सूक्ष्ममा शरिर, स्थुल शरीर बाहिरी आँखाले देखिन्छ।
आत्माबिना शरीरको कुनै काम आउँदैन। आत्मा र मनको आवरण भएर बाह्य शरीर बसेको हुन्छ, जन्मने र मर्ने हुन्छ। आत्मा अमर तर साक्षी स्वरूप हुन्छ। देखिने विभिन्न लोकालोकहरू ईश्वरका अंगहरू हुन्, पैताला पाताल हो। विराट ईश्वरमा जे छ सूक्ष्म मानव शरीरमा पनि त्यही छ। आवश्यकता छ केवल पहिचानको। यही बुझेर महाकवि देवकोटाले भने हाडहरूका सुन्दर खम्बा मासपिण्डका दिवार, नसानदीका तरल तरंग मन्दिर आफैं अपार, कुन मन्दिरमा जाने यात्री कुन मन्दिरमा जाने हो कुन देवताको पूजा गर्ने साथ कसोरी लाने हो ? भानुजयन्तीको पावन अवसरमा शब्द पुष्पान्जलि यत्ति नै, अस्तु परिपूर्णम्।