पोखरा एयरपोर्ट चल्दा प्याराग्लाइडिङ बन्द हुने चिन्ता
पोखरा : पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूरा हुँदैछ । आउँदो अंग्रेजी नयाँ वर्षबाट जहाज सञ्चालन गर्ने तयारी विमानस्थल आयोजनाले गरेको छ । यसले पर्यटन व्यवसायीलाई खुसीसँगै एउटा दुख पनि थप्ने चिन्ता प्रकट भएको छ । त्यो के भने अन्तर्राष्ट्रिय स्तरका जहाज आउजाउ गर्ने हो भने पोखरेली आकाशमा हुँदै आएको प्याराग्लाइडिङको भविष्य के हुने ? नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले पोखराबाट प्याराग्लाइडिङ स्थानान्तरण गर्नुपर्ने बताइरहँदा स्थानीय पर्यटनकर्मी भने पोखरामै त्यसको व्यवस्थापन गर्नुपर्ने पक्षमा छन् ।
‘भर्खरै बिहे गरेर आएकी दुलहीलाई तैंले गहना लगाउन पाउँदिनस् भनेजस्तो भयो,’ वरिष्ठ पर्यटनकर्मी गणेशबहादुर भट्टराईले भने, ‘प्याराग्लाइडिङ भनेको त पोखराको गहना हो । एयरपोर्ट आयो भने पोखराको गहनै जान्छ कि जस्तो भयो ।’ प्याराग्लाइडिङको भविष्यलाई लिएर नेपाल हवाई खेलकुद संस्था (ना)ले बुधबार अन्तक्र्रियाको चाँजो जुटाएको थियो । त्यसैमा पर्यटनकर्मीले प्याराग्लाइडिङको भविष्यमाथि चिन्ता जाहेरमात्रै गरेनन्, सकेसम्म पोखराबाट हटाउन नहुने मत जाहेर गरे ।
नाका नवनिर्वाचित महासचिव खेमराज आचार्यले प्याराग्लाइडिङकै कारण पर्यटक पोखरा आकर्षित हुने गरेको बताए । ‘यो प्याराग्लाइडिङसँग मात्रै सम्बन्धित विषय होइन, पोखरेली पर्यटनको सिंगो कुरा हो, होटल, रेस्टुरेन्ट, ट्राभलसम्मलाई असर पुग्छ,’ उनले भने । उनकै भनाइमा अहिले पोखरामा ६२ प्याराग्लाइडिङ कम्पनी छन् । ५ सय पाइलटले प्याराग्लाइडिङ उडाउँछन् । फेवाताल उत्तरको सराङकोट डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ । आचार्यले प्याराग्लाइडिङ व्यवसायमा १ अर्ब लगानी रहेको पनि जानकारी दिए ।
सराङकोट प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट ५ गन्तव्यभित्र पर्छ । तालमाथिको हावाका प्रवाह उत्कृष्ट हुँदा नै इन्जिन बिनाको प्याराग्लाइडिङ उडान रोमाञ्चक हुने गरेको पर्यटनकर्मीको भनाइ छ । नाका पूर्वअध्यक्ष तथा प्याराग्लाइडिङका पाइलट योगेश भट्टराईले विदेशतिर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पनि प्याराग्लाइडिङ उडान हुने गरेको सुनाए । उनले भने, ‘हामी स्विट्जरल्यान्ड गएर पनि हेर्यौं, त्यहाँ अन्तर्राष्ट्रिय विमानस्थल नजिक प्याराग्लाइडिङ उडान हुँदोरहेछ ।’ पछिल्लो समय पोखराको पर्यटन चिनियाँ पर्यटकमा निर्भर रहेको र उनीहरुको पहिलो रोजाइ प्याराग्लाइडिङ भएको भट्टराईले बताए ।
जिपिएस र विमानस्थल टावरसँग सम्पर्क हुने यन्त्रसहित प्रविधि जडान गरी प्याराग्लाइडिङ उडान गराउनुपर्ने पूर्वअध्यक्ष भट्टराईको भनाइ छ । उनले निश्चित समय तोकेर निश्चित ठाउँमा मात्रै उडान गर्न दिने व्यवस्था हुनुपर्ने पनि बताए । नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले प्याराग्लाइडिङ उडान पोखरामा सञ्चालन गर्ने थुप्रै विकल्पबारे पहल भएको जानकारी गराए ।
प्याराग्लाइडिङका पहिलो नेपाली पाइलट राजेश बम्जन सराङकोटबाट जस्तो उडान अन्त नहुने बताउँछन् । ‘सराङकोटको तोरीपानीमा जस्तो अनुकूल सदवहार मौसम अन्त छैन, अन्त त मौसमी उडानमात्रै सम्भव देखिन्छ,’ उनले भने । प्याराग्लाइडिङमा यात्रुहरुको मात्रै नभई एक्लै उड्नमात्रै विदेशी पर्यटकहरु आउने गरेको उनले सुनाए ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पोखरामा प्याराग्लाइडिङ कायम राख्न आवश्यक अध्ययनका लागि बोर्ड सघाउन तयार रहेको प्रतिबद्धता जनाए । ‘राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञहरु ल्याउनुपर्छ भने पनि ल्याऊँ, अध्ययन गरौं,’ उनले भने ।
यसैबीच नेपाल हवाई खेलकुद संस्था (ना) मा सुनील भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिका उपाध्यक्षमा शोभित बानिया, महासचिव खेमराज आचार्य र कोषाध्यक्ष अशोक पराजुली छन् । बुधबार पदाधिकारी र सदस्यको पदस्थापना र सपथ भएको थियो ।