भोजपुरमा चिकित्सकको अभाव
भोजपुर : भोजपुर सदरमुकाम डाँडागाउँका रवीन्द्र केसी खुट्टाको खिल निकाल्न अस्पताल आए। अस्पतालमा उपचार गराउने बिरामी र सेवाग्राहीको लामो लाम थियो। काउन्टरमा बाक्लो लाइन भएकाले करिब १ घण्टापछि टिकट पाएर शल्यक्रिया गर्न प्रतीक्षा गरे। झण्डै अढाइ घण्टापछि बल्ल–तल्ल पालो आयो। उनको घाउबाट खिल निकालियो। १५ मिनेटको उपचारका लागि पौने चारघण्टा कुर्नुपर्ने बाध्यता उनको मात्रै होइन। दैनिक अस्पताल आउने सबैलाई यस्तै सास्ती छ।
‘अस्पतालमा सदाजस्तो सहज छैन। चेकजाँच गर्ने डाक्टर पनि कमी, काउन्टरमा बिल काट्ने कर्मचारीको पनि कमी छ। सयौंको भीडमा पालो कुर्दा साहै्र गाह्रो हुन्छ,’ रवीन्द्रले भने, ‘पहिले पर्याप्त डाक्टर र कर्मचारी हुँदा यस्तो सास्ती हुन्थेन। अहिले बाध्यता छ।’ जिल्ला अस्पताल भोजपुरमा दरबन्दीअनुसारका पर्याप्त डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित बन्ने गरेको छ। डाक्टर अभावमा स्वास्थ्य उपचारका लागि आउने सयौँ बिरामीहरू मारमा पर्ने गरेका छन्।
- काउन्टरमा टिकट काट्ने कर्मचारीको पनि कमी
- दरबन्दीअनुसारका डाक्टर नहुँदा दैनिक उपचार सेवा प्रभावित
दैनिक सयौंको संख्यामा आउने ग्रामीण सर्वसाधारणलाई अझ धेरै सास्ती छ। डाक्टर, चिकित्सक, स्वास्थ्य विशेषज्ञ नहुँदा समस्या बढेको हो। आलोपालो गर्दै बिरामीको चेकजाँचमा खट्ने स्वास्थ्य चिकित्सकहरू कार्यालय समयभन्दा अधिक समय खटिनुपर्ने अवस्था रहेको चिकित्सक रचना श्रेष्ठ सुनाउँछिन्। दरबन्दीअनुसारको स्वास्थ्य कर्मचारी नहुनु र भएका डाक्टरहरूको पनि सरुवा र सेवाअवधि सकिनुले अस्पतालको सेवा प्रवाह नाजुक बनेको उनले बताइन्।
प्रदेश र संघीय सरकारले चासो नदिँदा जनशक्ति अभाव खट्किएको हो। समयमै उपचार नपाउने अवस्थाले बिरामी र गर्भवती महिलालाई जिल्लाबाहिर लैजानुपर्ने बाध्यता रहेको स्थानीय कृष्णकुमार राई गुनासो गर्छन्। भन्छन्, ‘संघीय, प्रदेश र स्थानीय सरकारले बेवास्ता गर्दा दरबन्दीअनुसारको चिकित्सक छैन। जसका कारण उपचार सेवामा गम्भीर असर परेको छ। सेवाग्राही आफैंले जोखिम उठाउनुपर्ने स्थिति छ।’
विगत ३ महिनादेखि २ जना एमबीबीएस डाक्टरको भरमा अस्पतालको सम्पूर्ण जिम्मेवारी हेरिरहनुपरेको चिकित्सक सुनाउँछन्। पर्याप्त चिकित्सक नहुँदा एकै जनाले सम्पूर्ण सेवा धान्न भ्याइनभ्याइ हुने डाक्टर सञ्जय रानाले सुनाए। ‘चिकित्सक अभावमा बहिरंग सेवाअवरुद्ध भइरहेको अवस्था छ। बिरामीलाई पनि पालो कुर्नुपर्ने, रिपोर्ट पर्खनुपर्ने बाध्यता छ,’ उनले भने, ‘अहिले एकदमै चर्को जिम्मेवारी थपिएको छ। एकजना डाक्टरको भरमा अस्पताल धानिरहेका छौं।’ उनका अनुसार जनशक्ति नहुँदा एक जना डाक्टरलाई अस्पतालको आकस्मिक शल्यक्रिया, अपरेसन, इमरजेन्सी, ओपीडी, पोस्टमार्टम, तालिम, राउन्ड लगाउनुपर्ने, बिरामीको चेकजाँच सेवामा भ्याइनभ्याइ भएको अवस्था छ।
दरबन्दीअनुसार अस्पतालमा नवौं तहको एक जना मेसु, दुई जना मेडिकल अधिकृत, एक जना एचए, दुई जना अहेब, चार जना स्टाफ नर्स र दुई जना अनमीको दरबन्दी खाली छ। मन्त्रालयलाई पत्राचार गरिए पनि खाली दरबन्दी पूर्तिका लागि अहिलेसम्म डाक्टर नपठाएको अस्पतालका सूचना अधिकारी उदयकुमार चौधरी बताउँछन्। त्यस्तै, स्वास्थ्य निर्देशनालयबाट दरबन्दी प्रशासन लेखा र एनेस्थेसियाको दरबन्दी पनि काटिएको अस्पतालले जनाएको छ। जनशक्ति कम भए पनि गम्भीर किसिमका बिरामीको शल्यक्रिया र प्रसूति सेवालाई पहिलो प्राथमिकता दिएर सेवा प्रवाह गरिरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार वार्षिक ३ हजारको हाराहारीमा ग्रामीण क्षेत्रका महिलाहरू प्रसूति गराउन अस्पताल आउने गरेका छन्। चिकित्सक अभावमा अहिले हप्तामा १५ जनासम्म बिरामीहरू रेफर गरिरहुनुपरेको अस्पतालले जनाएको छ।