ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई एम्बुलेन्स सेवामा शतप्रतिशत छुट

रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ।
बुधबारदेखि पालिकाले विभिन्न छुटसहित एम्बुलेन्स सेवा सुरु गरेको हो।
आउँदो आर्थिक वर्ष २०७९/८० नीति तथा कार्यक्रमअन्तर्गत नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापना गर्न स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने अभियान सञ्चालन गर्ने लक्ष्य राखेको छ।
सो कार्यक्रमअन्तर्गत गाउँपालिकाको एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७९ बमोजिम विभिन्न छुटसहित एम्बुलेन्स सेवा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताए। यसमा चार किसिमका छुटको व्यवस्था गरिएको छ।
पालिकाले आफ्नो पालिकामा स्थायी बसोबास भएका ज्येष्ठ नागरिक र क र ख वर्गमा पर्ने अपाङ्गता भएका नागरिकलाई शत प्रतिशत छुटसहितको सेवा दिने जनाएको छ।
गाउँपालिकामा स्थायी बासिन्दा भएका असहाय र विपन्न वर्गका नागरिकहरूलाई जिल्ला दररेटमा तोकिएको भाडामा ७५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।
गाउँपालिकाले त्यहाँ स्थायी बसोबास भएका सम्पूर्ण नागरिकलाई जिल्ला दररेटमा तोकिएको भाडामा ५० प्रतिशत छुटसहितको सेवा दिनेछ।
यसैगरी गाउँ कार्यपालिकाको कार्यालयअन्तर्गत कार्यालयका सम्पूर्ण कर्मचारी (वडामा रहेका वडा कार्यालयका कर्मचारीहरु, स्वास्थ्य चौकीका कर्मचारीहरु र विद्यालयका सम्पूर्ण कर्मचारीहरु समेत) लाई जिल्ला दररेटमा तोकिएको सवारी साधनको भाडा रकममा २५ प्रतिशत छुटसहितको सेवा दिने पालिकाका अध्यक्ष कैसाङ नुर्वु तामाङले बताए।
प्रतिक्रिया दिनुहोस !
