प्रचण्डलाई खुला पत्र : थारुहरुको थारुवान राज्य खै?

प्रचण्डलाई खुला पत्र : थारुहरुको थारुवान राज्य खै?

साढे दुई वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे– टीकापुर घटनामा केही साथीहरू छुटेका छन् । रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ । 

प्रचण्डको भाषण सुनेर तालीको गडगडाहत गुञ्जियो । ‘प्रचण्डले भनेसि त अब छुट्छन् है रेशम दाइ’ टुडिखेलमा जम्मा भएका हजारौं थारूहरूका भीडमा यस्तै उत्साह देखियो । त्यतिबेला प्रचण्ड देशकै ठूलो पार्टी नेकपाका अध्यक्ष थिए । सत्तामा उनको बराबरको पहुँच थियो । प्रचण्डले चाहेको भए थारूहरूको ‘अडकल’ पूरा पनि हुन सक्थ्यो, तर भएन । थारूहरूले पनि प्रचण्डको अभिव्यक्ति बिर्सिए । त्यसपछि प्रचण्ड राजनीतिक दाउँपेचमा लागे, थारूहरू दैनिकी गुजार्न ।

त्यो अभिव्यक्तिको २७ महिनापछि गत वैशाख ८ गते कैलाली पुगेर प्रचण्डले दोहो¥याए– मैले रेशमलाई भेट्न नहुने के कारण छ ? मैले रेशमलाई बाहिर पनि भेट्न सक्छु, भित्र (जेलमा) पनि भेट्न सक्छु । हिजोमात्र रेशम चौधरीसँग कुरा भएको छ । भोलि नै सरकारसँग ‘सिरियस’ कुरा गर्दैछु ।

प्रचण्ड अहिले पनि सत्ताका ‘मुखिया’जस्तै हुन्, उनले चाहे फेरि पनि केही हुनसक्थ्यो । तर, प्रचण्डको बोलीमा यसपटक थारूहरू त्यति ‘सिरियस’ देखिएनन् । बरु सबैले स्थानीय तह निर्वाचनमा थारू मत रिझाउने ‘खेल’ भएको बुझे । त्यसैले त कैलालीमा माओवादी मत डगमगायो । जितेकै पालिकामा माओवादी पराजित बन्यो र त्यही माओवादीबाट रेशम चौधरीको पार्टीमा गएका उम्मेदवार विजयी बने । थारूहरूले यसपटक पनि प्रचण्डको ‘भोलि’ कुरेको भए ठगिने सिवाय अरु केही हुने थिएन । 

स्थानीय चुनावको समीक्षा गर्दा थारू बाहुल्य क्षेत्रमा माओवादी कमजोर बनेको छ । त्यसको प्रमुख कारण हो, पार्टी र सत्तामा थारूहरूलाई साझेदार नबनाइनु । माओवादी सुप्रिमो प्रचण्डले थारूहरूलाई पटक–पटक ठगेका छन् । झुठा आश्वासन दिएका छन् । थारूहरूको बुई चढ्नेबाहेक प्रचण्डले थारूका लागि ‘झिंगा’समेत मारेका छैनन् ।  

सन् १९५० को दशकमा नेपालको तराई क्षेत्रमा औंलो उन्मुलन अभियान सुरु भएको मानिन्छ । जसरी तराईको उर्वरभूमिबाट औँलो उन्मुलन भयो, त्यसरी नै पहाडबाट झरेकाहरूबाट भूमिपुत्र थारूहरू थिचोमिचोमा पर्न थाले । त्यसयता थारूहरू कुलीन वर्गबाट ठगिँदै आए, राज्य सञ्चालन गर्नेहरूबाट प्रताडित भए, हुँदाहुँदै राज्यकै निर्देशनमा ‘थारू जमिन्दार’बाट पनि दमनमा पर्न थाले । २००७ सालको क्रान्ति र २०४६ को बहुदलले पनि थारूहरूलाई अधिकारबाट वञ्चित नै गरायो । 

निरन्तर दमन सहँदै आएका थारूहरूलाई माओवादीले नै हो सपना देखाएको । थारूहरू पनि यो देशको प्रधानमन्त्री बन्ने हैसियत राख्छ र थारूहरूले पनि आफ्नो छुट्टै राज्य स्थापना गर्नसक्छ  । माओवादीको यिनै रटानले थारूहरू जनयुद्ध लड्न तयार भए । माओवादीले थारूहरूलाई आफ्नो क्षेत्रमा मात्र लडाएन, कर्णाली र गण्डक अभियानको युद्धमा पठायो । त्यही भएर पनि होला माओवादी सशस्त्र जनयुद्धमा मगर समुदायपछि सबैभन्दा धेरै थारूहरू मारिए, बेपत्ता पारिए र अंगभंग पनि भए । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांकअनुसार माओवादी सशस्त्र जनयुद्धमा ९१२ जना थारूहरू मारिए भने २६४ थारूहरू बेपत्ता बनाइए । माओवादीले सपना देखाएको ‘थारूवान’ राज्यमा मात्रै ७३६ जना मारिएका थिए । यतिका संख्यामा थारू मारिँदा पनि राष्ट्रिय राजनीतिमा आएको माओवादीले थारू सहिद परिवार, बेपत्ता परिवार र घाइतेहरूलाई उपेक्षा गरिरह्यो । करिब एक दशक सशस्त्र जनयुद्धमा होमिएका बर्दिया डल्लाका देवराज चौधरी यतिबेला खेती किसानी गरेर दैनिकी गुजार्छन् । ५ हजार ऋणको सट्टा साहुले ५ कठ्ठा खेत लगिदिएपछि झोँकले उनी माओवादी बनेका थिए । प्लाटुन कमाण्डर बनेपछि पहाडी क्षेत्रमा युद्ध गर्न पठाइएका उनी पटक–पटकको भीडन्तम भाग्यले बचे । जनयुद्धमा धेरैथोक गुमाएका उनलाई अहिलेसम्म माओवादीले ‘तँलाई के चाहियो ?’ भन्न नआएको उनी बताउँछन् । थारू समुदायका माओवादीको कति विजोग छ, भनिसाध्य छैन । 

सुप्रिमो प्रचण्डले माओवादीभित्रका ‘थारु शक्ति’लाई पहचिान गर्न सक्नुपर्छ । अहिले पनि थारु युवा नेताहरू प्रदेशदेखि संघीय संसदमा प्रतिनिधित्व जनाइरहेका छन्, उनीहरूलाई पनि सत्ताको बागडोर सम्हाल्ने अवसर दिनसक्नुपर्छ । माओवादीभित्रका बौद्धिक थारू नेताहरूलाई राजनीतिक नियुक्तिको भागबण्डामा सहभागी गराउन सक्नुुपर्छ । होइन भने मंसिरमा चितवनकै थारूहरूले ‘विद्रोह’ नगर्ला भन्न सकिन्नँ ।

माओवादीले जनयुद्धताकै ‘थारूवान राज्य’ उद्घोष गरेको थियो । माओवादीको जातीय संगठन थारू मुक्ति मोर्चाका संयोजक नै थारूवान राज्यका प्रमुख मानिन्थे । १२ बुँदे समझौतापछि निरन्तर सत्तामा रहेका माओवादीलाई थारूवान प्रदेश र त्यस प्रदेशका मुख्यमन्त्री बनाउने अवसर पनि आएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तेस्रो शक्ति बनेको माओवादी नेकपा एमालेसँग एकीकरण गरेपछि देशको प्रमुख शक्ति बन्यो । त्यस दौरान तत्कालीन प्रदेश ७ को मुख्यमन्त्री थारूलाई बनाउने हल्ला चलाइयो । अन्य प्रदेशमा पनि जाति कलस्टरलाई ‘मानक’ मानेर मुख्यमन्त्री बनाइँदै गर्दा माओवादीबाट विजयी भएका कैलालीका वीरमान चौधरी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको माओवादीका थारू नेताहरूले बताएका थिए । तर १७ प्रतिशत बढी थारूहरू रहेको प्रदेश ७ मा माओवादीले ‘बाहुन’लाई मुख्यमन्त्री बनायो । थारूहरूले सडकमा असन्तुष्टि पोख्दा माओवादी नेताहरूले नै त्यसविरुद्ध ‘अखण्ड’को नारा दिएर सम्प्रदायिक दंगा भड्काउन खोजे, थारूहरूलाई निरीह बनाए । र, ‘टीकापुर घटना’ घटाएर सजिलै ‘सुदूरपश्चिम प्रदेश’ कायम गराउन सफल भए । यो एजेण्डामा बराबारको हिस्सेदारी माओवादीको पनि रहेको छ । त्यसैले त पूर्व पत्रकारसमेत रहेका गणेश चौधरी प्रश्न गर्छन्, ‘पहिचानको मुद्दा उठाउने माओवादी पार्टी सबैभन्दा बढी दोषी छ । माओवादीले राम्रो काम गरिदिएको भए आज रेशम चौधरीले जेलबाट पार्टी खोल्न जरुरी थिएन । यही माओवादीले होइन, हिजोका दिनमा पहिचान र अधिकारका कुरा गरेको, थारूवान राज्य भनेको । ती मुद्दा–एजेण्डाहरू कहाँ पुग्यो ?’

गणेश चौधरीजस्तै आम थारूले माओवादीबाट आज यही प्रश्न गरिरहेका छन्- खै थारूवान राज्य? खै थारूका छोरा प्रधानमन्त्री भएका, खै मुख्यमन्त्री भएका ? खै थारूहरू राज्यका निकायहरूमा बराबरीको हैसियत बनाएका ?

देशमा फेरि संसदीय चुनावको माहोल बनेको छ । माओवादी अध्यक्ष प्रचण्डले फेरि मतदाता रिझाउन थारू गाउँ पुग्न थालेका छन् । अघिल्लो साता उनी बर्दियाको थारू गाउँ बेलभार पुगे । थारू कार्यकर्ताको घरमा उनले ‘घोङी’को स्वाद चाखे । भूमिपुत्र थारूहरूको मुख्य खानाको रुपमा रहेको घोङी खाएर उनले माओवादी र थारूको सम्बन्ध अझै गाढा रहेको सन्देश दिन खोजे । तर प्रचण्डले बुझ्नुपर्छ, घोङी खाएरमात्रै थारूहरू अब माओवादी बनिरहँदैन । थोरबहुत थारूहरूमा पनि राजनीतिक चेतको विकास भएको छ । शीर्ष नेताहरूले चाल्ने ‘शकुनी चाल’ थारूहरूले पनि बुझ्न थालेका छन् । थारूहरू अब कसैका ‘गोटी’मात्र बनिरहँदैन । उसले पनि विकल्प खोज्ने तौरतरिका सिकेका छन् ।

घोङी र मुसा खाएर थारूहरू नेताको पछि लाग्ने भए आज सबै थारूहरू बाबुराम भट्टराईका पछि हुन्थे । प्रधानमन्त्री बनेका बेला बाबुरामले पनि कैलालीमा गई थारू कार्यकर्ताको घरमा घोङी र मुसा खाएका थिए । विडम्वना भन्नुपर्छ, बाबुरामका पछि लागेर जनता समाजवादीसम्म आएका थारू कार्यकर्ताहरू पाखा लागेका छन् । 

त्यसैले सुप्रिमो प्रचण्डले माओवादीभित्रका ‘थारु शक्ति’लाई पहचिान गर्न सक्नुपर्छ । अहिले पनि थारु युवा नेताहरू प्रदेशदेखि संघीय संसदमा प्रतिनिधित्व जनाइरहेका छन्, उनीहरूलाई पनि सत्ताको बागडोर सम्हाल्ने अवसर दिनसक्नुपर्छ । माओवादीभित्रका बौद्धिक थारू नेताहरूलाई राजनीतिक नियुक्तिको भागबण्डामा सहभागी गराउन सक्नुुपर्छ । होइन भने मंसिरमा चितवनकै थारूहरूले ‘विद्रोह’ नगर्ला भन्न सकिन्नँ । प्रचण्डलाई बेलैमा चेतना भया ! 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.