महानगर प्रमुखलाई स्मरणपत्र
महानगर प्रमुखज्यू,
काठमाडौं महानगर प्रमुखमा तपाईंले प्राप्त गरेको जित केवल तपाईंको मात्रै थिएन। त्यो त वर्षौंदेखिको बेथिति र भ्रष्टाचारले आक्रान्त हजारौं नागरिकको परिवर्तनको चाहना थियो। त्यसैले त्यो जितजस्तै तपाईंको पदभार पक्कै पनि सहज छैन होला ! आपूm नगर्ने अनि अरूलाई पनि गर्न नदिने तथा बनाउनेभन्दा भत्काउने मानसिकताले ग्रसित समाजमा केही गरेर देखाउने चाहना राख्नु नै ठूलो चुनौती हो। स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका बेला आपूmले प्रस्तुत गरेका कार्ययोजनाप्रति तपाईं साँच्चै नै इमानदार भएर तिनको कार्यान्वयनमा अग्रसर हुनुभएको छ भने यतिबेला तपाईं राति निदाउन सक्नुभएको छैन होला ! महानगरमा थुप्रिने ‘कुवेरको भण्डार’जस्तो फोहोरको गन्धले तपाईंको मखमली बिछौना र सिमलभुवा सिरानी दूषित बनाइरहेको होला। प्रदूषित पानीका कारण हैजाका बिरामी बढिरहेको समाचारले पेटमा सुल उठेको अनुभूति भइरहेको होला। महानगरका हिलाम्मे फुटपाथ र सडकमा यात्रा गरिरहेकाहरूको हैरानीपूर्ण सुस्केराले तपाईंलाई ऐठन गराइरहेको होला ! यदि तपाईं वाचा अनुरूप महानगरको मुहार फेर्नका लागि आउनुभएको हो भने चयनले पलभर पनि बस्न पाउनुभएको छैन होला !
प्रमुखज्यू, तपाईंलाई पत्र लेख्नुको प्रयोजन आफ्नै ठाउँमा छ भने त्यसको उत्प्रेरणा पनि बेग्लै छ। त्यो उत्प्रेरणा हो यात्राका दुई अनुभवहरू अनि अभिव्यक्तिहरू। ती दुवै अभिव्यक्तिमा तपाईंप्रतिको अगाध आस्थाको बिम्ब भेटेकी थिएँ। पहिलो, बागबजार पद्मकन्या कलेज अगाडि कैयौं दिनदेखि थुप्रिएको फोहोरको हरक सुँघ्दै हिडिरहँदा दुई किशोरहरूको अभिव्यक्ति थियो। विद्यालय शिक्षा सकेर राम्रो कलेजको आशामा ब्रिजकोर्स गर्न झोलाभरि किताब बोकेर हिँडेका ती किशोरमध्ये एउटाले भन्यो, 'ओहो ! कस्तो फोहोर ! हाम्रो बालेन दाइलाई फोन गर्नुपर्ला जस्तो छ। अब पनि यस्तै फोहोर हुने हो त ?' अर्काले भन्यो 'भर्खर त चुनाव जितेका छन् हाम्रा दाइले। केही समय त लाग्ला नि यो सफा गर्न। यतिका समय त पर्खियौँ भने अब किन आत्तिएको ?' साँच्ची ! कति निश्छल अनि प्रगाढ आस्था थियो ती अल्लारेहरूको अभिव्यक्तिमा।
दोस्रो प्रसंग, काठमाडौं मल अगाडि अस्तव्यस्त गाडी पार्किङ। भत्केर हिँड्न नमिल्ने फुटपाथ, त्यसमाथि जमेको पानी। हिँड्नै पर्ने बाध्यता। मानिसको छिचोली नसक्नु घुइँचो, मुस्किलले पाइला बढाउँदै गर्दा आडैमा लुगा माथि–माथि सारेर गजगजे हिलोमा टेक्दै अघि बढ्दै गरेकी एउटी आमैतिर तानिएँ। उनी एक्लै बोल्दै थिइन् 'बालेन आएपछि त काठमाडौंलाई सफा र सुन्दर बनाउँछु भन्थ्यो उस्तै पो छ त ! बरा ! कामै गर्न पो दिएनन् कि ! सबै खानै पल्केका छन्। उप्m ! कहिले होला सुबिस्ताले हिँड्न पाउने ?'
यस्तै फतफताउँदै उनी बाटो लागेकी थिइन् तर उनको त्यो अभिव्यक्तिले मलाई पछ्याइरह्यो।
यसरी नै महानगरबासी तपाईंप्रति आशावादी छन्। तपाईंले निर्माण गर्न चाहेको स्वच्छ अनि सुन्दर महानगरका एक–एक इटमा टेक्न लालायित छन् बालकदेखि वृद्धसम्मका पाइलाहरू ! तर प्रमुखज्यू, करणी र कथनीमा धेरै अन्तर हुन्छ। तपाईंसामु अहिले दुईप्रकारका चुनौती छन्, एउटा– बिगार्ने काम मात्र आफ्नो हो बनाउने काम सबै महानगरपालिकको हो भन्ने नगरबासीको पुरातन मानसिकता र अर्को हो, के–के न गर्छु भनेर आएको युवक, ल अब गरोस् त कसरी गर्दोरहेछ ! हामीले यतिका वर्षसम्म प्रयास गर्दा त पार नलागेको समस्या ऊ एक्लैले कसरी गर्छ ? भन्दै तपाईंको अग्रगामी सोचमा बाधा पुर्याउन लागिपर्ने तत्वहरू। यी दुवैका बीचबाट आफ्ना कार्ययोजना अघि बढाउनु तपाईंका लागि असम्भव नभए पनि सरल पक्कै छैन।
त्यसैले जसरी एउटा कुशल चिकित्सकले रोगको लक्षण हेरेर होइन, रोगको कारण पत्ता लगाएर रोग फेरि नबल्झिने गरी उपचार गर्छ त्यसरी नै तपाईं पनि महानगरका समस्यको जरा पहिल्याएर त्यसलाई सदाका लागि अन्त्य गर्न लाग्नुहोस्।
फोहोर पहिलो समस्या ! आज फोहोर उठ्छ भोलि फेरि त्यति नै थुप्रिन्छ। यसका लागि महानगरले चेतनामूलक कार्यक्रम एवम् दण्डविधान दुवैको तर्जुमा गर्नुपर्छ। प्रत्येक वडाका जनप्रतिनिधिहरूको संयोजकत्वमा यसको कार्यान्वयन हुनुपर्छ। कुहिने फोहोर संभव भएसम्म घरघरमा नै बिसर्जन गर्ने, त्यसो गर्न नसक्ने अवस्थामा सुरक्षित रूपमा निर्धारित माध्यमलाई जिम्मा लगाउने वातावरण मिलाउनुपर्छ। पुनः प्रयोग गर्न मिल्ने फोहोरका लागि सो संकलन कार्य प्रभावकारी बनाइनुपर्छ। सबैभन्दा बढी प्रदूषण बढाउने प्लास्टिकजन्य पदार्थहरू सफा र सुरक्षित रूपमा राखेर त्यसलाई पुनः प्रयोगका सामान बनाउने स्थानसम्म पुर्याउने सरल माध्यम महानगरले तय गर्नुपर्छ। पुराना कपडा संकलन गरेर प्रशोधन गरी कपास निकाल्ने उद्योग पनि महानगरले सञ्चालन गर्न सक्छ। यसो गरेमा पुराना कपडाका डंगुर पनि बाटोभरि हुनेछैनन्।
निश्चित स्थानहरूमा ठूला र सुरक्षित कन्टेनरहरूको व्यवस्था गरी फोहोर जम्मा गर्ने, सीसी क्यामेरा जडान गरी जथाभावी फोहोर फाल्नेलाई दण्डित गरेमा पनि समस्या कम हुनेछ। महानगरको फोहोर अन्यत्र लगी बिसर्जन गर्ने नीतिका कारण नै यो समस्या दीर्घकालीन बनिरहेको हुनाले तपाईंले अघि सारेको प्राविधिक योजना कार्यान्वयन गरी फोहोरलाई मल, ऊर्जा आदिमा रूपान्तरण गरिनु नै यसको दीर्घकालीन समाधान हुनेछ।
महानगर प्रमुखज्यू, तपाईंका लागि दोस्रो चुनौती फुटपाथ तथा सडक समस्या हो। भत्केर खाल्डाखुल्डी भएका र तिनैमा हिलो–पानी भरिने तथा फुटपाथमा गरिने व्यापारका कारण पैदल यात्रुलाई सकस भइरहेको छ। जसले जुन प्रयोजनका लागि पुटपाथ भत्काएको भए पनि त्यसलाई तत्काल बनाइदिनुपर्ने बाध्यकारी नियम नबनाएसम्म यो समस्या यथावतै रहन्छ। अहिले उठिरहेको प्रश्न हो फुटपाथमा व्यापार गरिखाने विपन्न वर्गको विकल्प के हो ? हो, विकल्प खोजिनुपर्छ। नगरप्रहरी आएर सामान फालिदिने या उठाएर लैजाने नाटक महानगरको सडकमा आजमात्र होइन वर्षैदेखि मञ्चन भइरहेको छ। त्यसैले अब यसको पटाक्षेप हुनुपर्छ। विकसित मुलुकहरूमा जस्तै यस्ता व्यापारका लागि निश्चित स्थान र समय तोकिनुपर्छ अनि सर्वसाधारणलाई पनि त्यसबारे सूचित गरिनुपर्छ।
फुटपाथको व्यापार क्रेता र बिक्रेता दुवैका पक्षमा भए पनि यसले आवागमनमा बाधा पुर्याइरहेकै हुन्छ। गरिखान पाउनु सबैको अधिकार हो अझ विपन्न वर्गप्रति सबै पक्ष संवेदनशील हुनैपर्छ। यसो भन्दैमा जहाँ पायो त्यही पेसा–व्यवसाय गर्न पाउनुपर्छ भन्ने मान्यता, पुटपाथमा छापेका ब्लक उक्काएर चुलो बनाई मकै पोल्ने व्यापार भने उपयुक्त देखिँदैन। प्रदूषित सहरको बाटोमा खुला रूपमा बिक्री गरिएका खाना स्वास्थ्य प्रतिकूल हुनाले यसका लागि पनि निश्चित मापदण्ड तोकिनुपर्छ। यसैगरी फुटपाथमा जस्तो पायो त्यस्तै र ठूला–झाङ्गिने रूख रोपेर त्यसलाई साँघुरो बनाइने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ।