नआत्तिनुहोस्! नैरोबीले टोक्दैन, सिकिस्त भइँदैन
झट्ट हेर्दा अरिंगालझैं देखिने कीरा के तपाईंको शरीरमा बसेको छ ? नआत्तिनुस् ! नैरोबी (एसिड) फ्लाइ नामको यस कीराले टोक्दैन। शरीरमा बसेको छ भने नमिच्नुहोस्। बरु स्वाट्ट मिल्काउने जुक्ति अपनाउनुहोस्। जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार जीउमा बसे पनि यसले टोक्दैन। ‘प्याट्ट हान्यो भने नैरोबीको शरीरबाट तरल पदार्थ निस्कन्छ’ डा. मरासिनी भन्छन्, ‘त्यो तरल पदार्थ मान्छेको शरीरमा पर्नेबित्तिकै छालामा विभिन्न लक्षण तथा घाउ देखिन्छ।’
नैरोबीले पूर्वीतराईका जिल्लामा सताउन भने थालेको छ। गम्भीर स्वास्थ्य समस्या नदेखिए पनि संक्रमित थपिँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। ‘झापाका स्थानीय तहमा साताअघि फाट्टफुट्ट संक्रमित देखिन थालेका थिए’, मेची प्रादेशिक अस्पतालका छालारोग विशेषज्ञ डा. केशव ढकाल भन्छन्, ‘अहिले दैनिक २०–२५ जना पीडित उपचारका लागि अस्पताल आइरहेका छन्।’
पूर्वीतराईका झापा, मोरङ र सुनसरीमा केही सातायता संक्रमित बढेका हुन्। बालरोग विशेषज्ञ डा. रविन रेग्मीका अनुसार झापामा बालबालिकामा पनि संक्रमण देखिएको छ। संक्रमण देखिएका बालबालिकामा छालाको समस्याबाहेक ज्वरो आउने लक्षण पनि छ। ‘दैनिक ४–५ जना बालबालिका उपचार गर्न आइरहेका छन्। तर, कसैलाई पनि अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको छैन’, डा. रेग्मी भन्छन्। भारतका सिक्किम, दार्जीलिङलगायत ठाउँमा नैरोवी फ्लाइका संक्रमितको संख्या धेरै छ।
पश्चिम बंगालमा यसको संक्रमण बढ्दै जाँदा नेपालमा सीमावर्ती जिल्लामा पनि प्रभाव देखिएको हो। अघिल्लो वर्षको तुलनामा संक्रमण बढेको डा. ढकाल बताउँछन्। ‘पहिले पनि नैरोबी फ्लाइको समस्या थियो। यसपटक सामाजिक सञ्जालमा अलि धेरै चर्चा भएर हो’, डा. ढकाल भन्छन्, ‘यो कुनै ठूलो समस्या होइन। यसलाई सामान्य रूपमा लिनुपर्छ।’
यो कीराबाट निस्किने टक्सिनका कारण मानिसमा लक्षण देखिने डा. ढकाल बताउँछन्। ‘नैरोबी फ्लाइले टोक्छ भन्ने भ्रम जनमानसमा छ। यो सत्य होइन’, उनी भन्छन्, ‘थिचिएर मरेको खण्डमा मात्रै त्यसबाट निस्किएको टक्सिनले छालामा छुँदा रातो दाग र बिमिरा देखिन्छ।’
कतिपय संक्रमितले औषधि पसलमा गएर मलम प्रयोग गरिरहेका छन्। अलि धेरै समस्या देखिएका बिरामी मात्रै अस्पताल जाने गरेका छन्। गाउँका स्वास्थ्य संस्थामा धेरै संक्रमित आइरहेको जानकारी पाएको उनको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालयसँग यसको यकिन तथ्यांक भने छैन। प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार यो कीराका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या दैनिक १ सय ५० जनाभन्दा बढी छ। कीराबाट निस्कने कडा खालको एसिडका कारण संक्रमण वा घाउ भएर सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचारका लागि आउनेको संख्या बढेको मन्त्रालयले जनाएको छ।
प्रदेश १ को राजधानी विराटनगरस्थित कोसी अस्पतालका वरिष्ठ चर्म (छाला), यौन तथा कुष्ठ रोग विशेषज्ञ डा. असित घिमिरे उपचारका लागि दैनिक १५ जनासम्म आउने गरेको सुनाउँछन्। ‘कीराका कारण संक्रमित भएर आउनेको संख्या एक सातादेखि बढ्दो छ,’ डा. घिमिरे भन्छन्, ‘कीराले फोहोर गरिदियो भने पनि छालामा संक्रमण हुन्छ।’ संक्रमण भएको घाउ पाक्ने र अन्य खालका संक्रमणलाई थप असर पर्न सक्ने उनी बताउँछन्। ‘बारुला वा कमिलाले टोकेजस्तो फोका हुँदैन। यो सरुवा रोग पनि होइन,’ उनी भन्छन्, ‘कीराले असर पु¥याएका व्यक्तिलाई मात्रै संक्रमण हुन्छ। उपचारपछि निश्चित समयमा निको भइहाल्छ।’
एकैपटक संक्रमित धेरै आएकाले संख्या बढेजस्तो मात्रै देखिएको डा. घिमिरे बताउँछन्। उनका अनुसार फोहोर गर्दा वा छालामा घर्षण उत्पन्न हुने गरी मडारिँदा कीराको शरीरबाट छालालाई जलाउने एसिड निस्कन्छ। त्यो एसिड (अम्लिय पदार्थ)ले छालामा घाउ तथा एलर्जी गराउँछ। जनै खटिराजस्तो घाउ आउँछ। ठूला दागहरू देखिन्छन्। छाला रातो हुन्छ। धेरै पोल्नेलगायत समस्या आउने उनको भनाइ छ।
उनका अनुसार उपचारपछि यो संक्रमण बढीमा दुई साताभित्र ठीक हुन्छ। स्वास्थ्यसम्बन्धी गम्भीर समस्या ननिम्तिने भएकाले आत्तिन वा डराउन पर्दैन। तर, कीराको एसिड बढी फैलिए ज्वरो आउने, जोर्नी दुख्ने, बान्ता हुनेसम्मका केही समस्या आउन सक्ने चिकित्सक बताउँछन्। ‘बिरामीहरू शरीरमा डढुवा घाउ आयो भन्दै उपचारका लागि आउँछन्। तर, नैरोबी कीराको कारण संक्रमण भएको हुन्छ’, डा. घिमिरेले भन्छन्।
जोखिममा को ?
खेतबारीमा काम गर्ने तथा जंगलमा घाँसदाउरा गर्ने व्यक्तिमा नैरोबीले टोकेको पाइएको छ। जनस्वास्थ्य विज्ञहरू बर्खाका समयमा नैरोबीको संक्रमण बढ्न सक्ने बताउँछन् ।
अघिल्लो वर्षको तुलनामा केही मात्रामा बिरामी बढेको पाइएको छ। जलवायु परिवर्तनका कारण पनि नैरोबीको संख्या वृद्धि भएको हुन सक्ने बताउँछन्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी।
‘गर्मीका कारण तराईका बासिन्दा शरीरभरि कपडा लगाउँदैनन्। गन्जी वा हाफ पाइन्ट लगाएर बसेका हुन्छन्। शरीरमा नैरोबी आएर बस्नेबित्तिकै प्याट्ट हान्छन्। यही गल्ती भइरहेको छ’, डा. मरासिनी भन्छन्, ‘खेतबारी वा जंगलतिर जाँदा पनि जीउ ढाकिने गरी कपडा लगाउनुपर्छ। शरीरमा कीरा बसेको छ भने नमार्ने र जीउबाट मिल्काउने गर्नुपर्छ।’
के गर्दैछ, सरकार ?
प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव संक्रमितको विवरण सबै अस्पतालसँग माग गरिएको बताउँछन्। विवरण प्राप्त भइसकेपछि विशेषज्ञसँग छलफल गरी रोकथामका लागि प्रदेश सरकार सक्रिय हुने उनको भनाइ छ। ‘कोरोनाकालदेखि नै संक्रमणसँग जुध्ने गरिको मजबुत तयारी छ,’ मन्त्री यादव भन्छन्, ‘नयाँ कीराको संक्रमण नियन्त्रणमा पनि सरकार गम्भीर भएर लाग्नेछ।’
कीराको संक्रमणबाट बच्नलाई अपनाउनुपर्ने उपायबारे सर्वसाधारणलाई सचेत गराइने र संक्रमितको उपचारमा ध्यान दिइने उनको भनाइ छ। स्वास्थ्यसम्बन्धी सबै समस्याको सामना गर्नुपर्छ भनेर सरकार तयार रहेकाले थप समस्या आउन नदिन र उपचार तथा रोकथामलाई प्रभावकारी बनाएर लैजान सरकार प्रतिबद्ध रहेको जानकारी मन्त्री यादवले दिए।
कृषिका लागि फाइदाजनक
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार नैरावि कृषि क्षेत्रका लागि लाभदायी छ। मान्छेका लागि दुःखदायी र कृषिका लागि लाभदायी छ।
खेतमा पाइने हानिकारक कीराहरू खान्छ। वर्षात्को सिजनमा धान खेतमा देखिएको हो। यसले टोक्दैन। शरीरमा बस्यो भने धपाउनुपर्छ। किच्ने वा मिच्ने गर्नु हुँदैन’, निर्देशक डा. दास भन्छन्, ‘संक्रमण भइहाल्यो भने पनि आत्तिहाल्नु पर्दैन। सामान्य एजर्जी मात्र हुन्छ। यसले कुनै महामारी ल्याउँदैन।’ उनले संक्रमण हुँदा स्वास्थ्यकर्मी एवं छाला रोग विशेषज्ञलाई जँचाउन सुझाए।
लक्षणहरू
- एलर्जी हुने
- छाला रातो हुने
- दागहरू देखिने
- जनै खटिराजस्तो घाउ आउने
- धेरै पोल्ने
- सामान्य ज्वरो आउने
- वान्ता हुने
जोगिने उपाय
- शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाउने
- घरको ढोका, झ्यालमा जाली लगाउने
- जीउमा कीरा बसेमा नछोइ मिल्काउने
- राति सुत्दा बत्ती निभाएर सुत्ने
- कीरालाई छोएमा तुरुन्तै साबुन पानीले हात धुने
- संक्रमण भएमा छालारोग विशेषज्ञलाई जाँच गराउने
दिनेश गौतम/ काठमाडौं
किशोर बुढाथोकी/ विराटनगर
सुब्रत न्यौपाने/ झापा