विलीन–सिर्जनामा जाति र गण
‘विवाह जीवन, यौवन र यौनवृत्तिसँग सटेका दैहिक शारीरिक स्पर्श र सम्भोग क्रियाका सामाजिक मान्यताजन्य संस्कार हो (तेजेश्वरबाबु ग्वंगः २०७०)। वंश निरन्तरताको पूर्वसर्त हो– सन्तानोत्पादन। अर्थात्, यसका लागि समाजले मान्यता दिएको स्त्री–पुरुषबीचको समागम हो। अर्को शब्दमा विवाहबन्धन। पितृसत्तात्मक समुदायमा छोरी मात्र भए उनीहरूको विवाह जुन समुदायसँग भयो, स्वतः मिलान भएर जाने नै भयो। विवाहपछि जाति र गणमा आउने-नआउने वा परिवर्तन हुनेबारे केही विवेचना गरौं।
पितृसत्तात्मक वंशीय पद्धतिमा जो कोहीबीच जे जसरी विवाह भए पनि वैधानिकता दिने मनुस्मृतिमा नै व्याख्या गरिएको छ। त्यसबेलाको परम्परा अनुसार, अनुलोम (कथित माथिल्लो वर्ण-जातिका पुरुषले कथित तल्ला वर्ग-जातिका स्त्रीसँग विवाह गर्न पाउने) र प्रतिलोम (कथित तल्ला वर्ण-जातिका पुरुषले कथित माथिल्ला वर्ण-जातिका स्त्रीसँग विवाह गर्न सक्ने)लाई सर्तसहित वैधता प्रदान गरियो। पुरुषले स्त्रीको इच्छाविपरीत पनि विवाह गर्ने उसबेलाको समाजमा विवाहलाई ब्रह्म, दैव, आर्ष, प्रजापत्य, आसुर, गान्धर्व, राक्षस र पिशाच भनेर आठ प्रकारमा वर्गीकरण गरियो। केटाकेटीका संरक्षक मिलेर गराएको विवाह ब्रह्म, दैव, प्रजापत्य भयो। पशु वा धन दिएर केटी ल्याए आर्ष विवाह, बाबुआमालाई धन दिएर केटी हरण गरे आसुर विवाह, केटाकेटीले प्रेम गरेर गरेको गान्धर्व विवाह र केटीतर्पmबाट बाधा पार्नेलाई कुट्दै जबरजस्ती तानेर ल्याएकालाई राक्षस विवाह भनियो। निदाएको, मनस्थिति ठीक नभएको वा कुनै अञ्जान केटीलाई बलात्कार गरेको र समाजले त्यो केटी बलात्कारीलाई स्वीकार्न बाध्य पारेको पिशाच विवाह भनिएको छ (मनुष्मृति:३:२१–३४)।
यिनै नामका विवाहका किसिम र ठिमाहा सन्तान जन्माउने घटना चाहिँ घट्दै आयो। असुर, राक्षस, पिशाच विवाह गरेका दम्पतीलाई कुनै न कुनै प्रायश्चित गर्न लगाएर तिनका सन्ततिलाई वंशानुक्रममा ल्याइए। ती जाति र समुदायले आफ्नो किसिमको परिवर्तित रूपमा ती सन्तानलाई राख्न थाले। यही क्रमिक परिवर्तनबाट केही पृथक् वंश परम्परा कायम हुन पुग्यो।
छिमेकी भारतको पूर्वाेत्तरको जनजाति र कविलाहरूले आठ प्रकारका विवाह प्रचलनमा ल्याइराखेका छन्। ती हुन्:१) केटीको घरमा ल्याएर ४-५ दिन राख्ने, मन मिले विवाह गर्ने, नत्र छोडिदिने (परीक्षणाधीन विवाह), २) कब्जामा पारेर केटी ल्याएर विवाह गर्ने (आधिपत्य विवाह), ३) अरू केटाहरूका बीचमा बहादुरी प्रदर्शन गरेर केटी र उसका आमाबाबुको मन जितेर विवाह गर्ने (प्रतिस्पर्धी विवाह), ४) आमाबाबुबाट खरिद गरी केटी ल्याएर विवाह गर्ने (क्रय विवाह), ५) केटीका बाबुआमाकोमा घरधन्दा सघाएर खुसी पारी केटी ल्याएर गर्ने विवाह (चाकरी विवाह), ६) एकअर्को परिवारबीच छोरी दिने, बुहारी ल्याउने विवाह (साटफेर विवाह), ७) केटा र केटीलाई आपस्तमा मनाएर गर्ने विवाह (सहमति विवाह) र ८) केटीलाई जबरजस्ती तानेर, घिस्याएर ल्याई गर्ने विवाह (जबरजस्त विवाह)। यस किसिमका विवाहहरू विभिन्न जातिबीच अहिले पनि चलनमा छ (डीएन मजुम्दर र टीएन मदन, एन इन्ट्रोडक्सन टु सोसल एन्थ्रोपोलोजी, सन् १९६७)।
साथै नेपालका केही जात जातिहरूमा यस्तो चलन अध्यावधिक प्रचलनमा छ। ‘वर्णाश्रम धर्मका कट्टर अनुयायी ऋषिमुनि र राजाहरूको विभिन्न जनजातिसँग वैवाहिक सम्बन्ध कायम भएको स्थिति दर्शाउने प्राच्य नेपालका घटनाहरूको निरूपण गरी त्यसबेला पनि नेपालमा स्वेच्छा विवाहको परम्परा रहेको तथ्य छ। जनजाति र वर्णाश्रमका अनुयायीबीचको सौहार्दपूर्ण सहअस्तित्वको इतिहास छ (प्रा.डा. वेणीमाधव ढकाल, हिमवत्खण्ड, २०७५)।
वंश लोप हुन र फस्टाउन सन्तानोत्पादनको ठूलो भूमिका रहन्छ। कुन मूलको स्त्री र कुन मूलको पुरुषको सम्बन्धबाट सन्तान बढिरहेछ, त्यसैबाट नश्ल र वंश निर्धारण भइरहेको हुन्छ। अझ परम्परागत रूपमा बहुपति वा बहुपत्नी राख्न पाउने मान्यताले गण-जाति निर्माणको गतिशीलतामा नै प्रभाव पार्दछ। जुनसुकै विवाह गरेर जन्माएको सन्तानलाई आफ्नो जाति र गणमा रहन सक्ने व्यवस्था मनुस्मृतिले नै गरिदिएको छ। परपुरुषबाट सधवाले जन्माएका ‘कुण्डु र एकल महिला (विधवा)ले जन्माएका ‘गोलकु नामकरण गरिएको छ। एक वर्णको पुरुष र अर्काे वर्णको स्त्रीको समागमबाट जन्मेको ठिमाहालाई वर्ण–वर्णबीचको स्तर र औकात हेरी समाजीकरण गर्ने व्यवस्था छ। वर्ण बीचको ऊँचनीच स्तर हेरी त्यस्ता सन्तानलाई ‘निषद्, अम्बष्ठ, उग्र, अपसद, मग, वैदेह, अयोगव, क्षत्ता, अधमु आदि नामकरण गरेर समाजको अंग बनाइएको छ। क्षत्रीय वर्णका ब्रात्य (व्रतबन्ध नगरिएका वा जातिच्युत भएकाको सवर्णा स्त्रीबाट जन्मिएकालाई झल्ल, मल्ल, लिच्छवि, नट, करण, खस र द्रविण भन्छन्’ भन्ने उल्लेख छ (मनुस्मृति:३ः१७४ र १०ः८–१३ र २२)। यी कति नाम जाति र वर्णसँग पनि मेल खान्छ।
एउटै गोत्र वा फरक गोत्रका पति पत्नीबाट जन्मिएको क्षत्रज, लुकिछिपी जन्माएको गूढज, अविवाहिताबाट जन्माएको कानिन, गर्भवती भइसकेकी महिला विवाह गरेर ल्याएपछि जन्मेको सहोढ, पत्नीले नै दोस्रो विवाह गरेर जन्मिएको पौनर्भव नाम दिएर समाज र परिवारको एउटा तहमा भित्र्याइएको पाइन्छ। वैश्यले माथिल्ला वर्णबाट जन्माएको मागध र वैदेहक हुन्छन्। क्षत्रीले माथिल्ला वर्णबाट जन्माएको सूत हुन्छन्। पुराणमै उल्लेख भएका सूत र मागध चाहिँ ब्राह्मण र क्षत्रीयभन्दा पनि विशिष्ट मानिन्छन्। यो वर्णन कौटिल्य अर्थशास्त्रमा पाइन्छ (प्रकरण ६३, अध्याय ७)। प्रागैतिहासिक कालदेखि नै राजदरबारमा वेश्यालय हुन्थ्यो। राजाका आदेशबाट विशिष्ट व्यक्तिहरू वेश्या गमन गर्थे। वेश्याबाट सन्तान जन्मिएपछि उसलाई सेवानिवृत्त गराउँथे। तल्लो जातिसँग विवाह गर्नेलाई मृत पतिको धन प्राप्त हुँदैनथ्यो। धेरैवटा लोग्नेका तर्फबाट एउटै स्त्रीले धेरैवटा छोरा जन्माएका भए पिता चिनेर आमाले छोराहरूलाई अंश जिम्मा लगाउनु पथ्र्यो (प्रकरण ४३, अध्याय २७)। चारै वर्णका विवाहित महिलाले पति परदेश गएको एक वर्षसम्म नफिरे अर्को बिहा गर्न सक्ने, आपत्मा परे पनि अर्को बिहा गर्न सक्ने व्यवस्था गरेको पाइन्छ (प्र. ६० अ.४)।
उसबेलाको समाजमा बन्धनको सीमा सामान्यतः वर्णमा सीमित गरेको देखिन्छ। जातमा विभाजित भैसकेको थिएन। वेश्यालयको इतिहास वैदिक कालदेखि छ। वेश्याबाट जन्मेको सन्तान पतित देखिँदैन, समाजमा स्थान पाएको छ। उसबेलाको परदेश बसाइँ वर्षौं अवधिसम्मको हुन्थ्यो। घर छोडेर गएका पुरुषहरू जहाँ पुग्यो त्यहीं र घरमा बसेकी विवाहिता महिला विधिअनुसार नै मन लागेकासँग विवाह गरेर सन्तान जन्माउन पाउने माथिको नीतिले स्पष्ट गर्छ। यस किसिमका सन्तान उत्पादनलाई मान्यता दिएपछि जात वा जातिका सीमामा रही वंश निरन्तरता मान्न सक्ने आधार देखिँदैन। यस्तै सन्तानहरूको फैलावटबाट वंश निरन्तरता भइरहेको देखिन्छ (तिलकप्रसाद लुइटेल, अनु. मनुस्मृति–२०६९ र कौटिलीय अर्थशास्त्र–२०६८)।
वैदिककालदेखि नै जाति र वर्णबीच माथि उल्लेख गरेका विवाहहरू (जबरजस्त समेत) प्रचलनमा आएको र सामाजिक-धार्मिक मान्यता पाएको पौराणिक कथाहरू छन्। देवगुरु वृहस्पतिकी पत्नी तारालाई राजा चन्द्रले जबरजस्त सहवास गरी जन्माएको छोरो आफ्नो, बलात्कारित तारा देवगुरुले नै राख्ने उदाहरणले मान्यता पाएको छ। पुलस्त्य ऋषि वैदिक धर्म प्रचारका लागि अहिलेको अस्ट्रेलिया द्वीप पुगेका थिए। उहाँकै राजा तृणविन्दुकी छोरीसँग विवाह गरे र विश्रवा जन्मेका हुन्। विश्रवा ऋषिले सुमाली राक्षसकी छोरी नैकषीलाई विधिवत् विवाह गरेर रावण जन्माए तर छोरो ब्राह्मण भएर पनि राक्षस जातिको भयो। काश्यप ऋषिका दुई पत्नीमध्ये दितिबाट दानवीर अदितिबाट देवता जन्मे भनेर एउटै बाबुका छोराहरू दुई जातिका भएको कथा पनि छ। भरत वंशी राजा सन्तनुले माझीकी छोरी मत्स्यगन्धासँग गान्धर्व विवाह गरेर सत्यवती बनाएर माथिल्लो स्तरमा मान्यता दिए।
सत्यवतीका छोरा विचित्रवीर्यका दुईटी रानी भएता पनि सन्तान नहुँदै मरे। विवाह अगाडि मत्स्यगन्धाको महर्षी पराशरसँगको सहवासबाट जन्माएको छोरो द्वैपायन व्यासलाई बोलाएर बुहारीहरूसँग सहवास गराई धृतराष्ट्र र पाण्डु जन्माएर भरत वंशलाई निरन्तरता दिएकी हुन्। पराशरको जन्म पनि अक्षमाला चाण्डालीको गर्भबाट भएको हो। कुन्तीको पाण्डुबाट सन्तान जन्मने भएपछि कुलका अभिभावकहरूले नै कुन्तीलाई तीन पल्टसम्म पृथक् पुरुषबाट सन्तान जन्माउन अनुमति दिए। धर्मराज, वायु र इन्द्रबाट तीन छोरा जन्माइन्। कुन्तीले विवाहअघि नै सूर्यबाट कर्णलाई जन्माइसकेकी थिइन्। कुन्तीले आफ्नै सौता माद्रीलाई सन्तान जन्माउन अनुमति दिइन् र माद्रीले अश्विनीकुमारबाट जुम्ल्याहा छोरा जन्माइन्। हुन त यस्तो कुरा जीवशास्त्रको सिद्धान्तविपरीत मन्त्रबलबाट भएको पनि भनिन्छ। तर, यौन सृष्टिको इच्छा राखेर स्वयम्भूवमनु (पुरुष)को र शतरूपा नारी ब्रह्माबाट सृष्टि भयो। यी एकै बाबुबाट जन्मेका दाज्यु बहिनीबाट दुई छोरा भए (प्रा. गोविन्दप्रसाद भट्टराई– नेपाल र नेपाली–२०३८)। उसबेला यौन स्वतन्त्रता र स्वच्छन्दता स्त्रीपुरुष दुवैमा थियो।
त्यस्तै, पाण्डव भीमले राक्षस कुलकी हिडिम्बासँग विवाह गरेर घटोत्कच जन्माए तर छोरो राक्षस कुलकै भइरह्यो। विष्णु शर्मा नामक भारतीय ब्राह्मण नेपालको बराह तीर्थमा भिल्लुनामक आदिवासीकी छोरी सुवदनीसँग विवाह गरेर आपैंm भिल्ल भएरै बसे। यस्ता उदाहरणहरू हजारौंंमा पाइन्छन्। यस्तो सम्बन्धलाई विश्वास गर्नुपर्ने आधारहरूमा सामाजिक नियमभन्दा मन्त्रबल, चोला परिवर्तन, अवतार, लीला, श्रापको प्रतिफल, वरदान र प्रायश्चितलाई अगाडि सारिएको हुन्छ। त्यस युगमा जात, जाति, गण, वर्णको कट्टर बन्धन देखिँदैन र नै समागम सहज थियो। जातिको आधारमा सन्तान उत्पादनको नियम लागू थिएन। क्षत्रीय र शूद्रबाट म्लेच्छहरूको उत्पत्ति, ब्रम्हणी र शुद्रबाट अन्त्यजहरूको उत्पत्ति हुनुमा कुनै आपत्ति थिएन। वशिष्ठ, शक्ति, पराशर, व्यास, गौतम, भारद्वाज आदि कुन जातिका थिए, प्रमाण छैन। पछि आएर घोर जातिवादको धुनमा ‘ब्राह्मण’ भन्ने हल्ला चलेकै मात्र हो। त्यसैले बिहावारी गर्न त्यतिखेर जाति निर्धारणको सीमा थिएन (डा.स्वामी प्रपन्नाचार्य, प्राचीन किराँत इतिहास– २०५७)।
रामायण र महाभारतमा वर्णित परिवारको बनोट रक्तमिश्रित छ। राम र लक्ष्मणका बाबु एउटै तर सौतेनी आमाका छोराहरू हुन्। पाँच पाण्डवमा तीनजना एक आमाका र दुईजना अर्की आमाका सन्तान हुन् तर बाबुहरू अलगअलग छन्। कृष्णलाई धर्म पितामाताले हुर्काए र बलराम कृष्णकै सहोदर दाजु होइनन्। परिवार एउटै नश्ल–रक्तबाट वा नियमबाट वा चलनबाट हुँदो रहेनछ। विश्वास, प्रेम, ममताबाट परिवार बनेको देखिन्छ (देवदत्त पत्तानाइक– कल्चर:सन् २०१७-भारत)।
मातृवंश क्रममा जाने वंशहरूमा महिलाहरू पुरुष रोज्न स्वतन्त्र थिए। महाभारतमा अर्जुनले मणिपुरकी राजकुमारी चित्राङ्दासँग विवाह गरे पनि छोडाएको, नागाराज कुमारी उलुपीले अर्जुनलाई अपहरण गरी आपूmसँग राखेर बभ्रुवाहन जन्मेपछि छोडेका उदाहरणहरू मातृवंश प्राध्यान्यतामा मात्र सम्भव थियो। आमाबाट वंश निर्माण हुनेहरूमा भारतका नायर वंश र मङ्गलोर नजिकको उलाल वंश, पूर्वी भारतका खसिया, नागा, मणिपुरीहरू थिए भने अङ्कोर कम्बोडियाको वर्मन राजवंश र इन्डोनेसियाका कतिपय टापुका हिन्दू राजाहरूको मातृप्रधान वंश थियो। भाषा र वंशबीजका कारणले मातृवंशानुक्रममा मेघालयका खसिया र कम्बोडियाका खमेरबीच तादम्य पाइन्छ (सञ्जीव सन्याल, द ओसन अफ चर्न:सन् २०१६-भारत)। आमा सत्य हो, बाबु विश्वासको पात्रमात्र हो। पुरुषबलले मात्र कालान्तरमा मातृप्रधान वंशहरू पितृप्रधान वंशमा रूपान्तरण हँुदै गए। पुराना धेरै गण-जाति लोप हँुदै गए।
अन्तरजातीय विवाह किराँतकालमा पनि चल्दै आयो। प्रथम चन्द्रगुप्त किराँतहरूकै भाञ्जा थिए। नेपालका किराँत राजापर्वकी छोरी मुराका छोरा चन्द्रगुप्त मौर्य थिए (डा. स्वामी प्रपन्नाचार्य, पूर्ववत्)। राजा मानदेवकी छोरी विजयावतीको विवाह आफ्नै जागिरे (वार्त) देवलाभसँग भयो। राजकन्या भृकुटीको विवाह तिब्बती राजा स्रचङ्ग गम्पोसँग भयो। आसामका राजा भागदत्त (किराँत) वंशकी राज्यवतीसँग लिच्छवि राजा जयदेव (द्वितीय) को विवाह भएको थियो (एस.एल बरुह, अ कम्प्रिहेन्सिभ हिस्ट्री अफ आसाम, सन् २००५-भारत)। प्रताप मल्लले महोत्तरी भगवतीपुरका राजाकीर्ति नारायणकी छोरी लालमतीसँग विवाह गरे (प्रफुल्लकुमार सिंह, नेपालको मैथिली साहित्यको इतिहास, २०७०)। कुचविहारका राजा वीरनारायणका दुई छोरी रूपमती र अनन्तप्रियाको विवाह प्रताप मल्लसँग भयो (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, भाग–१, २०२४)।
१४०१ सालमा अरि मल्ल बितेपछि गद्दीमा राख्न शुद्ध जातको हकवाला नपाइँदा झन्डै तीन वर्ष गद्दी खाली रह्यो। पछि विवश भई दुवै राजवंश अर्थात् देवान्त नामधारी र मल्लान्त नामधारीको सल्लाहअनुसार आनन्द देवका ल्याइतेपट्टिका छोरा राजदेवलाई १४०४ सालमा गद्दीमा राखियो (महेशराज पन्त– राजकीय सत्ता र धर्म, २०७८)। मकवानी सेन वंशका हंवीर सेन र उनकी पुहुपावती रानीपट्टिकी छोरी विष्णावतीको विवाह गोर्खाली राजा राम शाहसँग भएको थियो। पछि तिनै रानीको नाम नयनावली राखियो। पृथ्वीनारायणलाई मदिसे राजपुतकी कन्या विवाह गराउन भानु जोशीलाई डोला खोज्न पठाएर गोरखपुर छेउकाज मीनदार दयाराम सिंहकी कन्या डोला ल्याई विवाह गरेर नरेन्द्रलक्ष्मी भन्ने नाम दिएको थियो (बाबुराम आचार्य, पूर्ववत्)।
गोत्र बदलेर समिश्रण भएका प्रमाणहरू पनि छन्। सूर्यवंशी जीवपालको छोरा पुण्यपाललाई खस सम्राट् आदित्य मल्लले आफ्नो उत्तराधिकारी घोषणा गरेपछि पुण्यपालले पुख्र्याैली थर र गोत्रलाई त्यागेर मल्ल बने। ‘जुम्ला भेकमा घरज्वाईं बस्नेहरू पुख्र्यौली घर र गोत्रलाई त्यागेर ससुरालीको थर गोत्र लिने प्रचलन विद्यमान छ। डोला भित्र्याएर ल्याएका दुलाहा वा नातेदारलाई अभिषेक गरिँदा गोत्र परिवर्तन गर्ने परम्परा थियो। काठमाडौंमा जयस्थिति मल्ललाई राज्याभिषेक गर्दा गोत्रदान गरेको प्रसंग चाखलाग्दो छ (मोहनप्रसाद खनाल– नेपाली भाषाका हजार वर्ष, २०६८)।
ललितपुरका राजा योगनरेन्द्र मल्लले तनहुँकी खस क्षत्रिनी राजेश्वरीसँग विवाह गरेका थिए। योगनरेन्द्र मल्लकी छोरी योगमती कापतीले गोत्र परिवर्तन गरेर ससुरालीका गोत्र धारण गरेकाले उनका छोरा लोकप्रकाश मल्ल गद्दीका उत्तराधिकारी भए (बाबुराम आचार्य– पूर्ववत्)। बाइसे–चौबिसे राज्यमा राजनीतिक फाइदाका लागि जुनसुकै जात जातिको राजा भए पनि राजाका छोरी लेनदेन गरेका घटना छन्। कतिसम्म भने पुर्नियाँका नवाबइन फुन्दियार खानका षड्यन्त्रलाई सघाउने प्रद्युम्न उपाध्याय र परशुराम थापा थिए। आपूmबीचमा फुट आउन नदिन उपाध्यायले थापालाई छोरी दिएर ज्वार्इं बनाए (बाबुराम आचार्य– पूर्ववत्)। ठूलाबडाले जे जे गरे, उनीहरूका आफन्त र सर्वसाधारणले पनि सोहीअनुरूप गर्दै जाने हाम्रो चलन हो। रक्त–नश्ल–वंश मिश्रणमा यस्तो चलनले जरा गाडेको छ, मात्र खोजी पुगेको छैन।
‘बौद्ध साहित्यका अनुसार भगवान्् गौतम बुद्धका पूर्वज शाक्यहरू सहोदर दाज्यु बैनीको रक्त समिश्रणबाट बनेका सन्तान हुन्। अत्रि ऋषिका सन्तान आत्रेय हुन्। अत्रि र आत्रेय गोत्रको आपसमा विवाह हुन्छ। युगयुगदेखि अनेक जाति समिश्रणबाट नेपाली समाजको सृष्टि भएको छ (जनकलाल शर्मा, हाम्रो समाज एक अध्ययन, २०६९) भन्ने कथन छ। ‘दक्षिणी भारतका समुदाय र उत्तरी भारतका गण-समुदायहरू (आर्य-द्रविड) बीचको द्रुततर समिश्रणबाट वर्तमान भारतको जनसंख्या बनेको हो। पुर्खा खोज्दै जाँदा एकअर्काको सम्बन्ध स्थापित हुन्छ। वैज्ञानिक आधारमा कसैले पनि म शुद्ध वंश बीजबाट बनेको जाति हुँ भनेर दाबी गर्न सत्तैmन (सञ्जीव सन्याल, पूर्ववत्)।
पुरुषहरू वर्षौंसम्म घर छोडेर जान थालेपछि महिला आवश्यकताअनुसार पुरुष रोज्ने नै भए। महिनौं वर्षौंसम्म टाढा बसेका पुरुषले पनि जहाँ पुगे त्यही घरजम गर्ने नै भए। मानवीय आवश्यकताबाट अन्तरजातीय समिश्रण अनिवार्य हुँदै आयो। जसले वंश निर्माणमा परिवर्तन ल्यायो। २५ सय वर्षदेखिको इतिहास हेर्ने हो भने दक्षिण र पश्चिमबाट धेरै शासकका गणहरू, उनीहरूका फौज, व्यापारीका झुन्ड, हिन्दू र बौद्ध धर्मका गुरु, धर्मप्रचारक र शिष्यहरूको समूह, दुलहीसँग आएका दासदासी र सुसारेहरू नेपाल प्रवेश गरे र यतैका स्थायी बासिन्दा बने।
यहीं घरजम गरेपछि यतैको समुदायसँग जातीय समिश्रण भएको पाइन्छ। वैवाहिक सम्बन्धबाट, कुनै धार्मिक साम्प्रदायिक संगठनमा लागेर र बसाइँसराइबाट नयाँ जाति प्रादुर्भाव भएका छन्। मध्य हिमालयमा पर्ने आजको नेपालको भूभाग मानव बसाइँसराइ (जाने र आउने) दुवैको केन्द्रबिन्दु हो। आनुवांशिक अध्ययनले नेपाल बसाइँसराइको थलो र अन्यत्रबाट फर्की आएकाको समिश्रणको मुलुक हो भन्न सकिन्छ (कनक दीक्षित– अर्ली नेप्लिज्, २०७६)।
लिच्छविकालमा पनि विभिन्न जात जाति थिए। ‘वर्ण व्यवस्थाभन्दा भिन्न व्यवस्थामा हुर्केका जातिहरूको बसोबासो किराँत कालदेखि नै थियो। यहाँको सबै जातिको अन्तर्भावका लागि ‘चार वर्ण अठार जात भनिएको हो। यी अठार जातमा लिच्छविबाहेक किराँत, वृजिक, मल्ल, शाक्य, कोली, आभिर आदि थिए। यी बासिन्दा जयपल्लिका ग्राम (दहचोक–चन्द्रगिरि डाँडोबीच)का हुन्। त्यसबेला पनि बाक्लो बस्ती थियो र ऐले पनि छ। तर, उसबेलासँग सम्बन्ध देखाउने कुनै बासिन्दा अहिले भेटिँदैन (धनवज्र बज्राचार्य– लिच्छविकालका अभिलेख, २०३०)। यसबाट गाउँघरमा बहुजातिको बसोबासो थियो भन्ने बुझिन्छ। तर, वर्ण व्यवस्थाभन्दा बाहिरका जातिहरू भए पनि तिनको वंश र सामाजिक स्तर कस्तो थियो, स्पष्ट छैन।
प्रकाशोन्मुख कृति ‘मिश्रित जातजाति:
हामी नेपाली’बाट ।
सूर्यवंशी जीवपालको छोरा पुण्यपाललाई खस सम्राट् आदित्य मल्लले आफ्नो उत्ताराधिकारी घोषणा गरेपछि पुण्यपालले पुख्र्याैली थर र गोत्रलाई त्यागेर मल्ल बने। ‘जुम्ला भेकमा घरज्वाईं बस्नेहरू पुख्र्यौली घर र गोत्रलाई त्यागेर ससुरालीको थर गोत्र लिने प्रचलन विद्यमान छ।
कुन्तीले विवाहअघि नै सूर्यबाट कर्णलाई जन्माइसकेकी थिइन्। कुन्तीले आफ्नै सौता माद्रीलाई सन्तान जन्माउन अनुमति दिइन्। माद्रीले अश्विनीकुमारबाट जुम्ल्याहा छोरा जन्माइन्। हुन त यस्तो कुरा जीवशास्त्रको सिद्धान्तविपरीत मन्त्रबलबाट भएको
पनि भनिन्छ।
जातिको आधारमा सन्तान उत्पादनको नियम लागू थिएन। क्षत्रीय र शूद्रबाट म्लेच्छहरूको उत्पत्तिा, ब्रह्मणी र शुद्रबाट अन्त्यजहरूको उत्पत्तिा हुनुमा कुनै आपत्तिा थिएन। वशिष्ठ, शत्तिाm, पराशर, व्यास, गौतम, भारद्वाज आदि कुन जातिका थिए ?
प्रमाण छैन।