दैको सारी मेरो जारी. . .
नेपालमा बाइसे चौबिसे राज्य हुँदा कर्नालीमा खस मल्ल राज्य थियो। त्यो साम्राज्यको नामले प्रसिद्ध थियो। जुन भारतको खजुराहोमा रहेको ईसाको ९५४ को अभिलेखमा उल्लेख छ। जहाँ बाह्मण, क्षेत्री दलितहरूको सामूहिक बसोबास र राज्य चल्थ्यो। जारी भनेको विवाह गरेको श्रीमती (जोई) श्रीमान्लाई छोडी नयाँ विवाह गरेर अर्को (पोइ) श्रीमान्सँग जान्छ भने त्यसलाई जारी काट्ने भनिन्छ।
जारीको वास्ताबिक अर्थ खस भाषा ‘जा’ भनेका फेरि फर्केर नआउने ‘री’ भनेको दोस्रो विवाह गरी (पैल) गई त्यो श्रीमतीबाट विवाहमा भएको खर्च उठाउने भन्ने हुन्छ। नागराज कि रानी भगेनी मल्ल एक दिन गाउँका जनतासँग वनभोज गएकी थिइन्। उनले त्यहाँ विभिन्न परिवारलाई भेट्ने मौका पाइन्। भलाकुसारी गरिन्। एकापसमा पहिचान भयो।
दरबारको निर्णयले दरबारमै खैलाबैला
एकजना भारदारले उनको नजिक आएर श्रीमती अर्को पुरुषसँग भागेर गएको कुरा रानीसँग बिन्ती चढाए। ती भारदारले के गर्ने ? भनी आदेश मागे। त्यसपछि रानीले साँझ त्यो कुरा राजासामु राखिन्। अनि, राजाले उनको कुरा सुनिसकेपछि भारदार सबैलाई बोलाइ के गर्ने ? भन्ने बारेमा आफ्नै भाइको नेतृत्वमा मण्डलेश्वर नामक समिति गठन गरे। जुन खस राज्यको शक्तिशाली व्यक्तिको पद थियो। त्यो समितिलाई इल्ल र चल्लजस्ता उपाधि दिएका थिए। त्यसपछि दरबारमा निकै हल्ला–खल्ला भयो। के गर्ने ? कसो गर्ने ? के उपाय निकाल्ने भन्ने बारेमा।
गठित समितिले विभिन्न उपाय निकाले। विवाह गरेकी श्रीमती ल्याउनेलाई ढोकाको बीचमा राखी काट्ने, सामाजिक बन्देज लगाउने, अर्को विवाह गर्न नदिने, भएको सबै सम्पत्ति जफत गर्ने, समाजबाट बहिष्कृत गर्ने, गाउँघरमा आउने नदिने र विवाहमा लागेको खर्च उठाउनेजस्ता अनेकौं उपाय निकाले। जुन खबर राजाकहाँ पुग्यो।
राजपरिवारको बैठक बस्यो। अर्काकी श्रीमतीलाई लगेमा सिधै बीचढोकामै राखेर काट्ने भन्ने निर्णय भयो। समय बित्दै गयो। दुर्भाग्यवश राजाकै अगंरक्षकले भारदार सैपालीकी श्रीमती लगी दिए। अंगरक्षक रानीका भाइ थिए। अनि दरबारमा आतंक मच्चियो। खैलाबैला भयो। रानी रुन थालिन्। राजा भने संकटमा परे। कानुन लागू गर्ने वा नगर्ने भन्नेमा दुविधा भयो।
यसरी उल्टियो जारीको निर्णय
अनि, रानीले पूर्ण भाइभारदारलाई बोलाइन्। बैठक बसालिन्। र, जारी काट्ने चलनमा मान्छे काट्ने भन्ने निर्णय उल्टाउन लगाइन्। त्यसपछि रानीको पहलमा विवाह भएको श्रीमती अर्कोसँग विवाह गरेर गएको खण्डमा पहिलाको श्रीमान्को पक्ष र दोस्रो श्रीमान्को पक्षका मानिस राखी दुवै पक्षको बीचमा सहमति गरी विवाहमा भएको खर्च दोस्रो श्रीमान्ले दिने गरीको नियम बनाउन लगाइन्। यसरी जारीको कथा कर्नालीमा सुरुआत भएको मानिन्छ।
विवाह गरेकी श्रीमती अर्कोसँग विवाह (पैल) गरेर गएमा पहिलो पक्षका श्रीमान्का गाउँका एक घरबाट एकजना त्यस कामका लागि जान्छन्। नगएमा रीतिथिति बिग्रन्छ। गाउँमा झनै दुर्दशा लाग्ने भन्ने आत्मविश्वास छ उनीहरूमा। यो देवीदेवताको नाममा भाकल गरी जारी लिन जान्छन्। श्रीमती गएको केही दिनमा उनीहरू दोस्रो श्रीमान्को गाउँमा जान्छन्। त्यसबेला दोस्रो श्रीमान् पक्षका गाउँले जान्नेसुन्ने मानिस जम्मा हुन्छन्। त्यसमा एकजना नाइके (मूल मान्ठ) अर्को ठालु (सहायक मान्ठ) बीचमा कुरा सुरु हुन्छ।
पारिस् है क्या मेरो जीवनलाई भारी
अन्य गाउँलेले सुनेर बस्छन्। मुख्यतः चार कुरालाई आधार मानी जारी काट्ने कुराको सुरुआत गरिन्छ। विवाहको बेलामा भएको खर्चको हिसाब गरिन्छ। गहनाको हिसाब किताब गरिन्छ। उसले पहिलो श्रीमान्को घरमा बस्दा के कति काम गरिन् ? समाजलाई कतिको मान्यता दिइन् ? जस्ता कुराको मूल्यांकन गरी जारीको मूल्य तोकिन्छ।
दोस्रो श्रीमान्को परिवार त्यो जारी काट्ने स्थानमा आउँदैनन्। उनीहरू आएर पहिलो श्रीमान्को मुख हेर्दा जीवनभर कुभलो हुने जनविश्वास छ। अर्कोतिर गाउँका ठालु भलादमीले त्यो मिलाउनु पर्ने भएकाले पनि उनीहरू नआउने हुन्छन्। जारी काट्ने कुरा जब सुरु हुन्छ। त्यसबेला कुन पक्ष बलियो छ ? त्यसमा निर्भर हुन्छ।
जारी काट्ने बेलामा उखानटुक्का हाल्ने चलन बढी हुन्छ। जस्तै, पहिलो श्रीमान्का पक्षले यस्तो उखान हाल्छन्, दैको सारी मेरो जारी, पारिस् है क्या मेरो जीवनलाई भारी। यसको अर्थ मेरा विवाह गरेकी श्रीमती लिएर मलाई जीवनभरीमा दुःख दिइस्।
जारीले गर्दा जीवन जलन
दोस्रो श्रीमान्को पक्षले पनि यस्तो उखान हाल्छन्। आयो चलन गयो चलन, जारीले गर्दा जीवन जलन। यसको अर्थ चलन भएको हुनाले मैले ल्याएको हो, तेरो जारीले म ऋणमा डुब्ने भए। जस्ता उखान हाल्छन्। यदि श्रीमती लिने पक्षको ठालु बलियो छ भने कम जारी दिन्छन्। तर, श्रीमती जाने पक्षको ठालु बलियो छ भने जारी बढी ल्याउने गर्छन्।
संस्कृतिविद् रमानन्द आर्चायका अनुसार यसरी जारी काट्दा सुरुमा नराम्रो भए पनि भविष्यमा दुवै पक्षलाई राम्रो हुने हुन्छ। रिसिबी कम हुने र यथार्थमा कर्नालीमा त्यो भएको पनि छ। त्यसले एक प्रकारको समस्यालाई त समाधान गर्ला। तर, महिलाहरूका लागि भने त्यति न्याय नदिने मत उनीहरू राख्छन्।
कस्को श्रीमती लिन पाउँछ ?
आफ्ना इष्टमित्रहरू सबै एक गाउँमा हुन्छन्। तीन पुस्ताभित्र छोरी चलाएका इष्टमित्रको श्रीमती लिन पाइँदैन। श्रीमान् मरेर गएको वा अर्काको बच्चा भएकोमा पाइन्छ। इष्टमित्रको देवतासँग अन्तरसम्बन्ध कायम नभएको श्रीमतीलाई मात्र ल्याउने चलन छ। यसले समाजमा भएको हरेक पक्षलाई मूल्यांकन गरी आफ्नो भविष्यको पुस्तालाई असर नपर्ने गरी जारीको जोई (श्रीमती) ल्याउने चलन छ।
जारी तिरेर ल्याएकी श्रीमतीले के गर्न पाउँदिनन् ?
दोस्रो श्रीमती भएर आएकी जोईले (श्रीमती)ले नयाँ विवाहका लागि नयाँ सिंगारेको कलश समात्न पाउँदैनन्। नयाँ विवाहमा मूल मान्ठ भएर जान पाउँदैनन्। मठमन्दिरमा मूल मान्ठका रूप धारण गर्न पाउँदैनन्।
जारीमा के–के गर्छन् ?
जारीमा मुख्यतः विवाहमा भएका गहनाहरू फिर्ता गर्ने गरिन्छ। त्यसपछि पहिलो पक्षले तोकेको कुरालाई सकेसम्म दोस्रो श्रीमान्को तर्पmबाट दिने गरिन्छ। नगद, गाई, गोरु, तामाका भाँडाकुँडा, कपडा र स्थानीय वस्तुबाट उत्पादन भएका वस्तुहरू दिने चलन छ। जारी दिन पूर्वदिशामा बसेर जारी काट्ने चलन छ।
जारी काट्दा कुनै पनि नियम कानुन मानिँदैन। मात्र ठालु भलादमीहरूको तजबिजमा भर पर्छ। यो देवीदेवताको नाममा सम्झना गरी जारी काटिन्छ। जारी काट्ने बेलामा उपस्थित भएकाहरूलाई दोस्रो पक्षका श्रीमान्ले एक छाक खानाको लागिसमेत रकम थप गरी दिने चलन छ। जारीको कुरो मिलेपछि दुवै पक्षले देवताको नाम पुकारी टीका लगाएर जारीको अन्त्य गर्ने चलन छ।