चिन्तित नेपाली विदेश बरालिँदा
यात्रा संस्मरणात्मक यो पुस्तकभित्र मुख्यतः के कस्ता विषयवस्तु समेटिएका छन् भन्ने लेखकको मुख्य चिन्ता रहेछ भन्ने शीर्षकबाटै प्रष्ट हुन्छ। प्रायः विदेश भ्रमण गरी यात्रा संस्मरण लेख्नेले त्यहाँको विकास, निर्माण, व्यवस्थित प्रणाली, नीति नियमको पालना देखेपछि नेपालको ‘लथालिंग चाला, भताभुंग देश’सँग दाँज्न करै लाग्छ। यस मामिलामा पुष्करलाल श्रेष्ठ पनि पृथक् साबित भएनन्।
यात्राको क्रममा उनी जहाँ पुगे आफ्नो मुख्य पेसा पत्रकारिता, रुचिको विषय फुटबल र चलचित्रसँग सम्बन्धित विषयवस्तु के कस्ता रहेछन् भनेर अवलोकन गर्न छुटाएनन्। उल्लेख गर्न पनि बिर्सेनन्। यतिसम्म कि लेखक पुगेका ठाउँ वा राष्ट्रमा छापा र विद्युतीय सञ्चार माध्यमका व्यवस्था के, कस्तो रहेछ निकै ध्यान दिएर टिपोट गर्न भ्याए। अधिकतर विदेश भ्रमण पत्रकारिताकै सिलसिला र कतिपय भ्रमण निकै निजी वा पारिवारिक भ्रमण भएका कारण पनि यस बढीजसो विषयवस्तु यसकै सेरोफेरोमा घुमेको देखिन्छ। नेपालको तत्कालीन माओवादी सशस्त्र द्वन्द्व, महाभूकम्प, विकास निर्माणमा घूस प्रकरण, राजनीतिक विकृतिलाई धेरै ठाउँ र धेरै प्रसंगमा उठाएका छन्। करिब दुई दर्जन मुलुकको भ्रमणपश्चात् भूपरिवेष्ठित मुलुक हुनु नै अभिशाप होइन भन्ने प्रष्ट्याउन सफल देखिन्छन् उनी। यो त केवल ‘माल पाएर चाल नपाएको’ प्रसंग हो भन्ने सन्देश भुटान, स्विट्जरल्यान्ड, अस्ट्रिया, लक्जम्बर्गको भ्रमणको संस्मरणबाट उनले दिन खोजेका छन्। यसैगरी स्विट्जरल्यान्डको हिम पर्यटन, चीनको हाइड्रोपावरको विकास निर्माण, म्युनिखको चोक गल्लीको भ्रमण, प्रागको दरबारहरूको भ्रमणबाट ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भन्ने सन्देश दिन खोजेका छन्।
राजनीतिक दृढता भएन भने विकसित युरोपेली देशसँग त के हाइटी जति पनि हुन नसक्ने रहेछ भन्ने सत्यता बोध गराएका छन् श्रेष्ठले। जनताबाट निर्वाचित भएपछि जनताकै हितमा काम गर्नुपर्ने रहेछ र जनमनमा बस्न सकेको खण्डमा कुनै पनि डर मान्न नपर्ने रहेछ भन्ने सन्देश भियना, प्राग, हंगेरी, स्विट्जरल्यान्ड र भुटानको भ्रमण प्रसंगबाट थाहा दिएका छन्। देश विशेषको निकै पृथक् प्रसंग पनि समेटेका छन्। पेरिस, एम्सटरड्याम, ब्रसेल्स, चीनको भ्रमणबाट लेखकको सामान्य ज्ञानप्रतिको रुचि प्रष्टिन्छ। पुस्तकमा अस्ट्रियाको स्वास्थ्यसेवा प्रणालीबाट उनी दंग परेका छन्। लक्जम्वर्गको समलिंगी विवाह, स्लोभाकियाको सित्तैमा यौनसम्बन्ध, सुत्केरी महिलालाई २ सय ४० दिनसम्म तलबी बिदा, भुटानी विमान परिचारिकाको इमान्दारिता, अस्ट्रियाको बेरोजगारी भत्ता आदि पढ्दा लेखक तिनबाट औधी प्रभावित भएको पाइन्छ।
युरोपेली र एसियाली राष्ट्रहरू गरी करिब दुई दर्जनभन्दा बढी यात्रा संस्मरणात्मक लेख पुस्तकमा समेटिएका छन्। लेखकको अवशानको डेढ वर्षभन्दा पछि प्रकाशित यो पुस्तक लेखक जीवित छँदै प्रकाशनमा आएको भए कति रोचक एवं सदृश्य हुन्थ्यो होला ? परिवारजन एवं लेखकको अथक प्रयासमा स्थापित प्रकाशन गृहको पहलमा पुष्करलालको यो पुस्तक प्रकाशनमा आउनु नै सुखद संयोग हो। पत्रकारितामा माझीसरहका पुष्करलालकै जीवनीमा पत्रकार अशोक सिलवालले ‘कलम’ शीर्षकमा आत्मवृत्तान्त प्रकाशित छ। ‘माझी’ कुन अर्थमा भने कामना प्रकाशन गृह पुष्करलालको रखबारीमा हाल नेपालमा नाउँ चलेका धेरै पत्रकार दीक्षित भएका थिए। उनले पत्रकारहरूलाई तिनका सुरुआती अवस्थामा जिन्दगीको बाटो देखाएका थिए।
नेपाली पत्रकारितामा कतिले उहाँको नुन र गुन सम्झे वा बिर्से त्यो इतिहासले मूल्यांकन गर्ला।
पुष्करलाल जीवित छँदै नयाँ खालको आत्मवृत्तान्त, यही यात्रा संस्मरण, मिडिया र पत्रकारितासँग सम्बन्धित आलेखको संकलन र राजनीतिक विषयवस्तुका लेख संग्रह गरी कम्तीमा चारवटा पुस्तक प्रकाशनमा ल्याउन चाहन्थे। पक्कै पनि परिवारजन एवं शुभचिन्तकले उनका सपना साकार पार्नेछन्। दुई पुत्र दिरेकलालले पिताको पत्रकारिता पाटो र अनुजलालले हस्तकला उद्यमसम्बन्धी पिताकै पृथक् पाटो समेटेका छन्।