निर्धक्क छ यो धरा
थाक्दैनन् कहिल्यै पहाड, चुचुरा वर्षौं युगौं छन् खडा
यी खोला, झरना, नदी अमृत हुन्, जो छन् कुना–कन्दरा
माटैबाट शरीर निर्मित भयो, बाँकी कुरा के छ र ?
माटैमाझ विलीन हुन्छ सजिलै यो देह नै आखिर
माटो नै नभए हुँदैन रचना यो सृष्टिको उन्नति
के होला अब मृतिका पनि अहो बेच्नेहरूको गति।
प्राणीको हित चाहने जमिन यी उब्जाउमा व्यस्त छन्
कत्रो संकटमा बचाउन भनी आकाश अभ्यस्त छन्
हामीले अति नै प्रदूषण गरी मैलो उडाएपछि
धर्ती बन्छ उजाड यी प्रकृतिका छोरा रिसाएपछि।
पानीले कति वर्षिएँ म त भनी माग्दैन ज्याला पनि
मेरै तागतले छ सृष्टि अहिले भन्दैन माटो पनि
न्यानो दिन्न भनेर सूर्य रिसले बस्दिनँ कैल्यै तर
यीभन्दा नि ठूला ठूला अब कुनै सम्पत्ति चाहिन्छ र ?
रेडियो अन्नपूर्ण नेपालको आयोजनामा सम्पन्न भानु कविता महोत्सवमा प्रथम भएको कविता।