माण्डवीले २१ जना करार कर्मचारीको म्याद नथप्ने
प्यूठान : माण्डवी गाउँपालिका प्यूठानले करारमा कार्यरत कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ। साउन १ गतेदेखि लागु हुनेगरी गाउँपालिकामा विभिन्न पदमा कार्यरत २१ जना कर्मचारीहरुलाई कार्यालयमा हाजिर नहुन् भनेको हो।
असार ३० गते बसेको कार्यपालिका बैठकले करार कर्मचारीहरुको सेवा अवधि थप नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले जानकारी दिए। उनका अनुसार ८ जना कर्मचारीहरुको असारभित्रै म्याद सकिने र थप नगर्ने गरी नियूक्ती गरिएको थियो। बाँकी १३ जना कर्मचारीहरुको रिक्त पदमा गाउँपालिकाले पूनः पदपूर्ती गर्नुपर्ने रिजालले बताए।
अनमी, अहेब, स्टाप नर्स, कम्प्यूटर सहायक, बरिष्ठ उद्यम विकास सहजकर्ता, उद्यम विकास सहजकर्ता, एम्बुलेन्स चालक, कृषि प्राविधिक, फिल्ड सहायक र कार्यालय सहयोगीहरुलाई गाउँपालिकाले हटाएको छ।
राजनीति पूर्वाग्राही साँधेर गाउँपालिकाले कार्यरत कर्मचारीको रोजीरोटी खोसेको गाउँपालिकाका निवर्तमान अध्यक्ष श्रीधर रोकाले प्रतिक्रिया दिए। ‘कर्मचारीहरुलाई राजनीति दृष्टिकोणबाट हेरिनु राम्रो होइन्’, उनले भने,‘हामीले नियूक्ती गर्दा पनि राजनीति आँखाले हेरेनौँ। यहाँ पूर्ण रुपमा राजनीति आग्रह, पूर्वाग्राह मिसिएको छ।’
पूनः कर्मचारी राख्ने वा नराख्ने भन्ने विषयमा विज्ञापन खोलेपछि मात्र थाहाँ हुने गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) ले प्रतिक्रिया दिए। ‘हामीले नीति, नियम बनाउने हो’, उनले भने,‘कर्मचारी भर्ना गर्ने त कर्मचारीले हो नी?’ कर्मचारी हटाएपछि आफूमाथि लागेको राजनीति आग्रह, पूर्वाग्राहलाई सामान्य रुपमा लिएको उनले प्रतिक्रिया दिए।