सभापति देउवामाथि खनिए महामन्त्री

सभापति देउवामाथि खनिए महामन्त्री

काठमाडौं : केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै प्रतिक्रिया दिए। त्यसको जवाफमा देउवाले आफूलाई धेरै नखेद्न र फोन गरेको बेला फोन उठाउन आह्वान गरेका थिए। 

देउवाले आफ्नो आलोचना मात्रै नगर्न द्वय महामन्त्रीहरूलाई आग्रह गरेका छन्। बैठकमा महामन्त्री गगन थापाले किसान संघ र जनजाति संघ गठन गर्दा विज्ञप्तिमार्फत थाहा पाएको भनेपछि देउवाले बैठकमा बोलेको कुरा उध्रित गर्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘तरुण दल र नेविसंघ गठन गर्दा सबैलाई सोधपुछ गरेकै हो। तपाईंहरूको पनि भनेको बेला काम परेको बेला फोन उठ्नुपर्यो नि। फोन उठाउने गर्नोस्।’

सभापति देउवाले विगत स्मरण गराउँदै बैठकमा भने, ‘मलाई कुनै बेला पार्टीले साधारण सदस्यबाटै हटाएको थियो। अहिले सजिलो अवस्था छ। म सहज छु। पार्टी बलियो बनाउने अभियानमा छु। अब पार्टी चलाउने तपाईंहरूले हो।’ ‘शेखरजीलगायतका साथीहरूलाई पनि सँगै लिएर जाने हो। उहाँहरूको गुट भेला पनि होटल पार्टी प्यालेसलगायतका स्थानभन्दा पार्टी कार्यालयमै गर्नुहोस् भन्ने हो मेरो कुरा।’

सभापति देउवाले अहिलेको समयमा गठबन्धन आवश्यक रहेको भन्दै, ‘माधवजीलगायतका साथीहरू मलाई प्रधानमन्त्री बनाउन एमाले छोडेर आउनुभयो। प्रचण्डलाई गिरिजाबाबुले शान्ति प्रक्रियादेखि नै साथ लिएर हिँड्नुभयो। अहिलेनै उहाँहरूको साथ छोडेर हिड्ने बेला भएको छैन। यति बुझ्नुस् गठबन्धन अहिलेको अवस्थामा समयको माग हो।’ 

महामन्त्री द्वयले खोजे आफ्नो गल्ति

कांग्रेसका महामन्त्री गगन थापाले शनिबारको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति देउवाले विधानबमोजिमका काममा समेत आपूmहरूसँग सल्लाह नगरी काम गर्ने गरेको भन्दै चर्को आलोचना गरेका छन्। देउवाले अझै बेवास्ता गर्दै गए नजरअन्दाज गरेर बस्ने नसक्ने भन्दै, ‘महाधिवेशनले तपाईं सभापतिमा निर्वाचित भए जस्तै हामी पनि त्यही महाधिवेशनबाट निर्वाचित भएका हौं। पार्टीका गतिविधिमा बेवास्ता गर्दै जाने हो भने हामी पनि निर्वाचित महामन्त्री हौं चुप लागेर बस्दैनौं।’ 

  •     फोन गरेको बेला फोन उठाउने गर्नुस् : देउवा
  •     पार्टीलाई बेवास्ता गर्दा हामी चुप लागेर बस्दैनौं : थापा
  •     संघ र प्रदेश सरकारका विषयमा सरकार खरो उत्रिन सकेन : शर्मा

‘सभापतिलाई मात्र खुसी पारेर पार्टीको हित हुँदैन। सभापति खुसी बनाउन गरिएको पहलले पार्टीलाई सही दिशामा लाँदैन,’ महामन्त्रीको भूमिकाका विषयमा प्रश्न गर्दै थापाले भने, ‘पार्टीमा महामन्त्रीको काम ताली मात्र पड्काउने हो कि अरूका काम बोक्ने मात्र हो ? यति नै गर्नलाई हामी महामन्त्रीमा निर्वाचित भएका होइनौं।’ महामन्त्री थापाले पार्टीकै नेतृत्वमा सरकार भए पनि पार्टीकै नेता कार्यकर्तालाई सरकार भएको अनुभूति नभएको भन्दै ‘ओली सरकारलाई प्रश्न उठाएको सरकारले अहिले आफैं सरकारमा हुँदा के गर्यो ? भन्दै प्रश्न उठाएका थिए।

सरकारका कामकारबाहीमाथि टिप्पणी गर्ने क्रममा महामन्त्री थापाले संवैधानिक परिषद् विधेयक फिर्ता लिन बैठकमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी, केपी ओली सरकारले सम्पत्ति शुद्धिकरण, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न विभागलाई प्रधानमन्त्री मातहत ल्याउनेगरी गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने बताए। त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव अगाडि बढाउन पनि माग गरे। अर्थतन्त्रको विषयमा गम्भीर बन्न र जनजीविकाका विषयमा गम्भीर हुन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए।

उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) फिर्ताको पत्र अमेरिका तत्काल पठाउन पनि माग गरेका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्माले भदौ अन्तिमसम्ममा नीति महाधिवेशन गर्नुपर्ने तर्क राख्दै आफूहरूले पार्टी हितका लागि नै काम गरिरहेको बताएका थिए। 

विगतमा केपी शर्मा ओली सरकारले गरेको गलत कामको कांग्रेस नेतृत्वले अझै नसच्याएको भन्दै शर्माले भने, ‘केपी ओलीले प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रित गर्नुभयो। एक वर्ष पुग्दा पनि त्यसमा करेक्सन गरिएको छैन’। सुशासनसँगै संघ र प्रदेश सरकारका विषयमा सरकार खरो उत्रिन नसकेको आरोप लगाउँदै शर्माले सरकारको प्रशंसा पनि गर्न भ्याए।  उनले भने, ‘सरकारले कोरोना भाइरसविरुद्धको खोप, एमसीसी अनुमोदन र स्थानीय चुनाव सम्पन्न गर्नु सफलता हो । कांग्रेसलाई पहिलो दल पनि बनाउनुभयो।’ 

महामन्त्री शर्माले यसपटक पाइलट प्रोजेक्टका रूपमा संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छान्न प्राइमरी इलेक्सनको पाइलट प्रोजेक्ट गर्नुपर्ने प्रस्ताव पनि बैठकमा राखेका थिए। यसअघि, बैठकमा केही सदस्यहरूले पार्टीभित्र छलफलै नगरी थापा र शर्मा निर्वाचन आयोगका पदाधिकारीसित छलफल गर्न पुगेको भन्दै असन्तुष्टि जनाएका थिए।

शनिबारकै बैठकमा उपसभापति धनराज गुरुङले आफूहरूले सभापतिलाई कमजोर बनाउने कुनै क्रियाकलाप नगरेको बताउँदै भने, ‘पार्टीलाई बलियो बनाउन हामीहरू मरिमेटेर 
लागि परेका छौं। यो भन्दैमा सभापतिको हातमा तेल चाहिँ घस्न सकिँदैन।’

गठबन्धन आवश्यक छ : मन्त्री खाँण

बैठकमा बोल्दै केन्द्रीय सदस्य तथा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले आगामी चुनावमात्र नभएर धेरै पछाडिसम्मका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। गृहमन्त्री खाँणले गठबन्धनबिना माओवादी एक्लै चुनाव नलड्ने भन्दै भने ‘गठबन्धन अहिलेको आवश्यकता हो। गठबन्धन नहुँदा माओवादी चुनाव लड्दैन। त्यसैले चुनावसम्म जसरी हुन्छ गठबन्धन स्वीकारेर अघि बढ्नुहोस्। गठबन्धन गर्दा केही सिट त्याग्न पर्ने हुन्छ। त्यसका लागि पनि सबै साथीहरू तयार रहनुपर्छ।’

खाँणले नेता शेखर कोइरालाले आफूमाथि सुराकी गरेको आरोपको पनि जवाफ दिँदै भने, ‘सुराकीको नाममा पोलिटिकल स्टन्ट गर्न बन्द गर्नुहोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.