मजदुर महिलामाथि बलात्कार गरेको आरोपमा निवर्तमान क्याम्पस प्रमुख पक्राउ
बैतडी : बलात्कारको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख राजेन्द्र नेगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कैलाली घर भएकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका निर्वतमान क्याम्पस प्रमुख नेगीलाई आइतबार बैतडीको सदरमुकामस्थित गोठालापानी बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए।
गत असार २९ गते नेगीविरुद्ध पीडित मजदुर महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्ती करणीको किटानी जाहेरी सहित मुद्दा दर्ता गरिएको थियो।
सोही किटानी जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गत असार २० गते पानी माग्ने निहुँमा आफूमाथि नेगीले बलात्कार गरेको ती महिलाले आरोप लगाएकी छिन्।
प्रहरीले उनी विरुद्धको मुद्दामा अनुसन्धान अघि बढेको जनाएको छ। क्याम्पस प्रमुख नेगीले महिलाले बलात्कारको ओरोप लगाएपछि क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए।