स्वर्गद्वारीले थपेन करारका ३४ कर्मचारीको म्याद
प्युठान : स्वर्गद्वारी नगरपालिका भिंगृ प्युठानले पनि विभिन्न पदमा कार्यरत ३४ जना करारका कर्मचारीलाई निकालेको छ।
साउन एक गतेदेखि उनीहरुलाई हाजिर नगराउनु भन्दै मेयर टेकप्रसाद भण्डारीले प्रमुख प्रशासकीय अधिकृतलाई लिखित जानकारी गराएका छन्।
कृषि, स्वास्थ्य, प्राविधिक शाखा, रोजगारलगायत क्षेत्रका कार्यरत कर्मचारीलाई नगरपालिकाले म्याद थप गरेको छैन। कार्यपालिका बैठकले कर्मचारीको सेवा अवधि थप नगर्ने निर्णय भएको मेयर भण्डारीले बताए। कर्मचारीलाई आफूसँग भएको नगद तथा जिन्सी सामग्रीहरु कार्यालयमा बुझाउन भनिएको छ।
यसअघि माण्डवी गाउँपालिकाले पनि करारमा कार्यरत २१ जना कर्मचारीलाई निकालेको छ। प्युठानका नौ स्थानीय तहमध्ये दुई पालिकाले करारका कर्मचारीलाई हटाएको हो।