नेपाली जेलमा १३४५ विदेशी, १८५३ जना फरार

नेपाली जेलमा १३४५ विदेशी, १८५३ जना फरार

काठमाडौं : जेठ अन्तिम साता ५१ किलो लागूपदार्थ (हेरोइन)सहित ७ अफ्रिकन नागरिक पक्राउ परे। कोही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त कोही ठमेलस्थित होटेलबाट पक्राउ परे। जेठ २६, २९ र ३० गते उनीहरू नेपाल आएका थिए। पक्राउ पर्नेमा सबै महिला थिए। प्रहरीले उनीहरूबाट ४९ केजी सेतो हिरोइन र २ केजी खैरो हिरोइन बरामद गरेको थियो। फ्लाइ दुबई र कतार एयरलाइन्सबाट नेपाल आएका उनीहरूलाई प्रहरी हिरासतमा राखिएको छ। 

यस्तै, यही जेठ २४ गते नागढुंगा चेकप्वाइन्टमा ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ नगदसहित ४ जना चिनियाँ पक्राउ परे। वैशाखमा कोकिनसहित दक्षिण अफ्रिकन १ र २ जना भारतीय पक्राउ परे। यस्तै, गृह मन्त्रालयले लागूऔषध कारोबारमा संलग्न एक नाइजेरियनलाई नेपाल प्रवेशमा १० वर्ष प्रतिबन्ध लगाएको छ। लागूऔषध (हेरोइन) मुद्दामा अदालतबाट कैद तथा जरिवाना भुक्तान गरेका ती नाइजेरियनलाई सरकारले निष्काशन गरेको थियो। गृहको सचिव स्तरीय निर्णयबाट नाइजेरियन बोदिनेलाई निष्काशन गर्ने निर्णय भएको हो। 

पछिल्लो समय आपराधिक कार्यमा संग्लन भई जेल पर्ने विदेशीको संख्या बढ्दै गएको छ। अपराध गर्नकै लागि नेपालसम्म आउने विदेशीको संख्या पनि बढ्दै गएको प्रहरी अधिकृतहरू बताउँछन्। कारागार व्यवस्थापन विभागका अनुसार  २०७९ जेठसम्म १ हजार ३३८ जना विदेशी नेपाली जेलमा छन्। सबैभन्दा बढी भारतका १ हजार १४७ जना छन्। यस्तै, भुटानी ४९, पाकिस्तानी २४, चिनियाँ २४, बंगलादेशी १०, बोलिभियाली ६, नाइजेरियन ८ जना जेलमा छन्। अफ्रिकन ११, अमेरिका र फ्रान्सका ४/४ जना जेलमा छन्। यस्तै, अन्य विभिन्न देशका ५८ जना जेलमा रहेको कारागार व्यवस्थापन विभागले बताएको छ।  

सबैभन्दा बढी ४९९ जना विदेशी लागूऔषध सेवन तथा ओसारपसार मुद्दामा जेल परेका छन्। यस्तै जबरजस्ती करणी उद्योगमा १९७, डाँकाचोरीमा १४६ तथा कर्तव्य ज्यान मुद्दामा ९८ जना विदेशी जेलमा छन्। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका ३५, अपहरणमा संग्लन भएको अभियोगमा ३३ र अन्य विविध शीर्षकका अपराधमा संग्लन भएको अभियोगमा ३३० विदेशी जेलमा छन्।  

१८५३ विदेशी फरार 

नेपालमा अपराध गरेर ठूलो संख्यामा विदेशीहरू भाग्ने गरेको सरकारी तथ्यांकले देखाउँछ। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेद उप्रेतीका अनुसार विभिन्न अपराधमा अदालतबाट सजाय पाएका १ हजार ८५३ विदेशी नागरिक फरार छन्। स्वदेशी र विदेशी फरार कैदीको संख्या १ लाख २२ हजार २८८ छ। 

सजाय पाएर फरार भएकाहरूमध्ये के–कति पुनः प्रक्राउ परे र कति जनाको मृत्यु भइसक्यो भन्ने विषयमा आधिकारिक डाटा छैन। ‘प्रहरीले मुद्दा ल्याउँछ। तर, मान्छे भने फरार भन्छ,’ उप्रेती भन्छन्। विभिन्न घटना र तथ्याकंलाई हेर्दा अपराध गर्नका लागि नेपाल सुरक्षित स्थानका रूपमा विदेशीले लिने गरेको प्रहरी अधिकारीहरू बताउँछन्। लागूऔषध कारोबारीले पनि नेपाललाई ट्रान्जिट हबको रूपमा प्रयोग गर्ने गरेको तथ्य बेलाबेला खुल्ने गरेको छ। 

कारागार व्यवस्थापन विभागका महानिर्देशक वासुदेव घिमिरेका अनुसार कारागारमा भएका धेरै कैदीबन्दीमध्ये ९० प्रतिशत बढी भारतीय छन्। खुला सिमानाको कारण पनि भारतीय नागरिकलाई आउजाउ गर्न सजिलो छ। कतिपय आपराधिक कार्यमा संग्लन समूह नै नेपाल–भारत ओहोरदोहोर गर्ने गरेका छन्। केहीले नेपालमा अपराध गर्ने र भारतमा गएर लुक्ने र केही भारतमा अपराध गर्ने र यता आएर परिचय बदल्दै लुक्ने गरेका घटना छन्। कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरे अपराध गर्नकै लागि विदेशी नेपाल आउने भन्ने आरोपमा सत्यता नभएको बताउँछन्। ‘विभिन्न कारणले विदेशीहरू हाम्रा समाजमा भएका अपराधमा संग्लन भएका हुन्,’ घिमिरे भन्छन्, ‘अधिकांश विदेशी लागूऔषधमा संलग्न देखिन्छन्।’ नेपालमा आएर अपराध गर्नेको डरलाग्दो अवस्था भने नरहेको घिमिरे बताउँछन्। 

अपराध कर्म गर्न विदेशीले सहज रूपमा प्रवेश पाउन थाले भविष्यमा नराम्रो असर पर्ने बताउँछन्, परराष्ट्रविद् दिनेश भट्टराई। करिब १ हजार ४ सय विदेशी  जेलमा हुनु र २ हजार जति फरार हुनुलाई मुलुकका लागि सकारात्मक मान्न नसकिने भट्टराई बताउँछन्।  ‘परिबन्धले परेर अपराध कर्ममा पर्नु अलि फरक हो,’ भट्टराई भन्छन्, ‘तर, लागूऔषध तस्करी, कारोबार, अपहरण तथा धम्कीकै लागि नेपाल आउने वातावरण बन्छ भने त्यो रोक्नुपर्छ।’ 

‘अपराधमा मुछिएका भारतीयलाई डिपोर्ट गर्न सम्भव नहोला,’ भट्टराई भन्छन्, ‘तर अन्य देशबाट भिसा लिएर आउने व्यक्तिले यहाँ आएर अपराध कर्म गर्छ भने उसलाई यहाँ राखेर पाल्नुभन्दा उसकै देशमा कहिल्यै नफर्किनेगरी डिपोर्ट गर्न सकिन्छ।’ नेपालमा सेक्युरिटी ग्याप र क्यापासिटी ग्याप भएको बताउँछन, भट्टराई। ‘यहाँ जसले जताबाट आएर पनि अपराध गरेर भाग्न सक्छ। राज्य संयन्त्र चुस्त गर्ने, यहाँ आउने विदेशीको क्रियाकलापमाथि निगरानी बढाउने, अवैध गतिविधिमा सामेल हुनेलाई तुरुन्तै देश निकाला गर्ने वा कानुनको दायरामा ल्याउने जस्ता कार्यहरू बढाउनपर्छ । नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी लामो समयदेखिको तथ्यांक भएकाले संख्यात्मक रूपमा विदेशी कैदीबन्दीको संख्या धेरै देखिएको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.