लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ। कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको हो।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा पर्यटकको आगमनमा सुधार भएको छ। गएको एक वर्षमा निकुञ्जमा १८ हजार भन्दा बढी पर्यटकको आगमन भएको छ।
तथ्यांकअनुसार एक वर्षमा १८ हजार ६५१ पर्यटक निकुञ्जको विभिन्न क्षेत्रमा पुगेका छन्। जसमा सबैभन्दा बढी नेपाली छन्। कोरोनाको कारण विदेशी पर्यटकको आगमन कम हुँदा नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो।
गएको साउनदेखि असार मसान्तसम्ममा १५ हजार ६ सय ३९ नेपाली पर्यटक आएका निकुञ्जले जनाएको छ। कोरोना भन्दा अगाडि विदेशी पर्यटक संख्यामा वृद्धि हुँदै गएको थियो। गत वर्ष २ हजार ७८८ विदेशी र २ सय २४ जना सार्क राष्ट्रका पर्यटक थिए।
निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।
असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले पछिल्लो समय पर्यटकको आगमन बढेको बताए।
जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।
पर्यटक आउने क्रम बढेसँगै राजस्व संकलन पनि बढ्दै गएको छ। भूकम्प गएको वर्ष र कोरोना सुरु भएको दुई वर्षसम्म पर्यटकको आगमन घटेको थियो ।
इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुर लगायतका देशबाट पर्यटक आउने गरेका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका विदेशी पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्छन्।
निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङलगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्डसहित विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवालगायतका जनावर पनि देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !
