वारागुङ मुक्तिक्षेत्रको तीन स्थानमा पहिरो, खानेपानी र सिँचाइ कुलोमा क्षति
जोमसोम : मुस्ताङको वारागुङ मुक्तिक्षेत्रको ३ स्थानमा बाढी/पहिरो खानेपानी र सिँचाइ कुलोमा क्षति पुगेको छ।
बाढी/पहिरोले वारागुङ मुक्तिक्षेत्र–३ स्थित चैलेमा सिँचाइ कुलो, वारागुङ मुक्तिक्षेत्रको झोङ र पुडाकमा सिँचाइ कुलो र वारागुङ मुक्तिक्षेत्र–३ ताङ्वेमा सिँचाइ कुलो र खानीपानी संरचनालगायतमा क्षति पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ।
दुई दिनअघिको अविरल वर्षासँगै आएको बाढी/पहिरोले वारागुङ मुक्तिक्षेत्र–३ चैले गाउँको खेतबारीमा लगिएको सिँचाइ कुलोमा क्षति पुगेको वारागुङ मुक्तिक्षेत्रका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए। त्यहाँ अहिले अस्थायी रुपमा पाइपलाइन सञ्चालन गरी वैकल्पिक सिँचाइको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत रानाले उल्लेख गरे।
बाढी/पहिरोले वारागुङको ताङ्वे गाउँको खानेपानीको मुहानको संरचनामा क्षति पुगेको छ भने सिँचाइ कुलोसमेत बाढीले पुरिएको प्रशासकीय अधिकृत रानाले बताए। ताङ्वेमा गत वर्ष प्रदेश सरकारले विनियोजन गरेको २० लाख लागतबाट खानेपानी मुहानमा हालेको कल्भटलगायतका सबै संरचनामा क्षति पुगेको उनले जनाए। बाढीले खानेपानी मुहानमा क्षति पुगेपछि स्थानीयले गाउँमाथिको सानो मुहानबाट खानेपानीको जोहो गरेको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए।
यस्तै अविरल वर्षाका कारण आएको बाढी/पहिरोले वारागुङ मुक्तिक्षेत्र–२ को झोङ/पुडाकको स्याउबारीमा लगिएको सिँचाइ कुलो संरचना पहिरोले पुरै पुरिएर क्षति बनाएको प्रमुख प्रशासकीय अधिकृत रानाको भनाइ छ। बाढी/पहिरोले सिँचाइ कुलो पुरिएपछि अहिले झोङ/पुडाकको स्याउबारीमा सिँचाइ सुविधा अवरुद्ध भएको उनले जानकारी दिए।
बाढी/पहिरोले खानेपानी र सिँचाइ सरचनामा क्षति पुर्याएपछि गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, कर्मचारी र प्राविधिक टोलीले सो स्थानको स्थलगत अवलोकन गरेका छन्। टोलीले बाढी/पहिरोले क्षति गरेको स्थानमा विवरण संकलन गरेको छ भने क्षति पुर्याएको स्थानमा पुन:संरचना निर्माण गर्न लागत स्टिमेटको तयारी सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत रानाले बताए।
बाढी/पहिलोले सिँचाइमा क्षति पुगेका चैलेमा गाउँसभाले विनियोजन गरेको सात लाख र विपद् कोषमा विनियोजन भएको पाँच लाखसमेत १२ लाख रुपैयाँले सिँचाइ कुलो निर्माण गर्ने निर्णय गरिएको छ। बाढी/पहिरोले खानेपानी र सिँचाइ कुलोमा क्षति पुगेको ताङ्वेमा पुन: सिँचाइ र खानेपानीको दीर्घकालीन व्यवस्था गर्न गाउँसभाले तटबन्ध निर्माणमा विनियोजन गरेको १५ लाख र खानेपानी मुहान संरक्षण गर्न गाउँ कार्यपालिका विनियोजन गरेको १० लाख गरी २५ लाख लागतमा पूर्वाधार निर्माण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत रानाले उल्लेख गरे।
यस्तै, अविरल वर्षाले क्षति पुर्याएको वारागुङ मुक्तिक्षेत्र–२ झोङ/पुडाकमा सिँचाइ कुलो निर्माण गर्न गाउँपालिकाले विनियोजन गरेको विपद् उद्दार कोषको पाँच लाख बजेटले काम गर्ने तयारी भइरहेको उनले बताए।