बोरिङ खन्दा मिथेन ग्यास

बोरिङ खन्दा मिथेन ग्यास

काठमाडौं : काठमाडौंको जोरपाटी लोसेटारमा मंगलबार बिहानदेखि मिथेन ग्याससहित पानी र बालुवाको फोहोरा निस्किएको छ । बिहान १० बजे स्थानीय सन्तवीर लामाको घरमा पानीको बोरिङ खन्ने क्रममा एक्कासि माटो, पानी र बालुवासहितको लेदोको फोहोरा निस्किएको हो । 

खानी तथा भू–गर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार पानीसहितको लेदोमा १५ देखि २० प्रतिशतसम्म मिथेन ग्यास  छ । ग्याससहितको लेदो केही दिनसम्म निस्किरहने र आफैं बन्द हुने उनले बताए । 

माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरूमा हिलो र लेदो भरिएको छ । उक्त स्थानको ५० मिटर वरिपरि मानिसहरूलाई नजान सूचित गरिएको र प्रहरीको सुरक्षामा राखिएको प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले बताए । मंगलबार बिहान १० बजेदेखि निरन्तर रूपमा लेदो निस्किरहेकै छ । पानी मिसिएको, बालुवासहितको ग्यासको मात्रा पनि भएको पानी ५० मिटर भन्दामाथि पुग्छ र पुनः उक्त ठाउमै झर्छ । यसले गर्दा वरिपरिका घरसमेत हिलाम्मे भएका छन् । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार जोरपाटी चोक नजिक बिहान ३ सय फिट खनेपछि सुरुमा ग्यासजस्तो पदार्थ देखिएको र पछि लेदो मिसिएर आएको हो । लेदोको विषयमा अनुसन्धान भइरहेको छ । जोरपाटी चोकदेखि सुन्दरीजल जाने बाटोमा लोसेटारमा स्थानीय सन्तकुमार लामाको साढे ३ तले घर छ । घरमा पानी पु¥याउन लामाले बोरिङ खन्दै थिए । खन्ने क्रममा पानी नभेटिएर उनले २ दिनसम्म ड्रिल गरेका थिए । ३२० फिटमुनि पानी भेटिएको थियो । मंगलबार बिहान पाइप जोड्ने काम भइरहेको थियो । ड्रिल गरेको ठाउँमा पाइप हाल्ने क्रममा ग्याससहितको लेदो पानी निस्किएको थियो । सुरुमा सामान्य लेदो देखिएको थियो । विस्तारै ठूलो फोहोरा छाड्दै घरमाथि पुग्यो । वरिपरि पनि बालुवाको स–सानो कणसहितको पानी छरिएको थियो । घरवरपरका भित्ता, सुकाएका लुगा, पार्किङ गरेका सवारीसाधन सबैतिर लेदो फैलियो । 

लेदोलाई टाढाबाट हेर्दा धुँवाको मुस्लोजस्तो देखिन्छ भने नजिक जाँदा बालुवासहितको पानीले भिजिन्छ । सूचना अधिकारी बाँस्कोटाका अनुसार काठमाडौं उपत्यकामा पहिले पानीको तलाउ भएकाले यहाँका विभिन्न ठाउँहरूमा ग्यास संकलन बसेको छ । ग्याससहितको लेदो निस्किएको यो पहिलो घटना भने होइन । बेलाबेला यस्तो घटना भइरहने  र केही दिनपछि आफैं बन्द हुने बताए । 

विभागबाट वरिष्ठ भू–गर्भविद् पृथ्वीलाल श्रेष्ठको टोलीले उक्त स्थलको अध्ययन गरेको थियो । टोलीले धेरै ग्यास साँघुरो ठाउँबाट निस्किँदाको परिणाम भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । बाहिर निस्किएको ग्यास मिथेन रहेको र धेरै आत्तिइहाल्नु पर्ने अवस्था नभएको उनले बताए । पानी र बालुवाको मात्रा ८० प्रतिशत र १५–२० प्रतिशत मिथेन ग्यास छ । लेदो आकाशतिर गएकाले ग्यास वायुमण्डलमै बिलाउने र पानी जमिनमा फर्किने गरेको छ । ‘यो ग्याससहितको लेदो केही दिनमै रोकिन्छ । धेरै दिनसम्म आउन थाल्यो भने प्रशोधन गरेर ग्यासको रूपमा प्रयोग गर्न सकिन्छ,’ श्रेष्ठले भने । 

त्यस्तै, श्रेष्ठलाई उद्धृत गर्दै बाँस्कोटा भन्छन्, ‘बोरिङ गरिएको ठाउँमा भण्डारण भएको ग्यास एकैपटक निस्कन खोज्नु र भिजेको बलुवा र गिटी हुँदा ग्याससँगै उच्च चापमा बाहिर निस्किँदा लेदो जस्तो देखिएको हो ।’ सामान्यतया ३ सयदेखि माथिको फिटमा गहिरो खन्दा उपत्यकामा ग्यास निस्कने सम्भावना हुने भू–भर्गविद्को भनाइ छ । 

खनेको स्थानमा लेदो र ग्यास निस्कने ठाउँ सानो भएकाले धेरै बेरसम्म निस्किएको प्रवक्ता बाँस्कोटाले बताए । उनी भन्छन्, ‘यहाँ सानो ठाउँ भएर समय लाग्यो । ग्यास भण्डारणको मात्रा थाहा पाएपछि, निस्कने ठाउँको क्षेत्रफलबारे जानकारी भएपछि मात्रै यसबारे भन्न सकिन्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.