अनुदानको माहुरीले छलाङ

अनुदानको माहुरीले छलाङ

 बुटवल : सरकारले दिएको अनुदान दुरुपयोग भएका थुप्रै उदाहरण छन्। कतिपय व्यवसायीले सरकारी अनुदान लिनकै लागि पनि व्यवसाय गरेको पाइन्छ। तर, बुटवल–१९ मिलनटोलका सन्तबहादुर बोहरालाई उपमहानगरले दिएको २ घार माहुँरी ‘बरदान’ सावित भयो। 

४ वर्षअघि उनले माहुरीपालन गर्न घार किन्न अनुदानका लागि वडामा निवेदन दिएका थिए। वैदेशिक रोजागरीका लागि यूएईमा गएका उनी त्यहाँ ५ वर्ष काम गरेर फर्किएका हुन्। १ वर्ष घरमै खाली समय गुजारे। 
वडाले २ घार माहुरी अनुदानमा दिएपछि घरमै व्यावसायिक यात्रा थालनी भएको हो। ३८ वर्षीय उनले घरमै बोधी कृषि फर्म सञ्चालनमा ल्याए। अनुदानमा पाएको २ घारसहित आफूले खरिद गरेको १ गरी ३ घार माहुरीबाट व्यवसाय थालेका उनको घरमा  १ सय २० भन्दा बढी माहुरीका घार छन्। ५५ वटा खाली घार रहेको उनले बताए। एपिस मेलिफेरा र एपेक्स सेरेना जातको माहुरी उनले पालेका छन्। 

‘सुरुमा ५० जनाले अनुदानमा माहुरीका घार पाएका थियौँ’, उनले विगत सुनाउँदै भने, ‘सबै साथीहरू पलायन हुनुभएछ, अहिले व्यवसाय निरन्तर गर्ने मै मात्र रहेछु।’ उनले व्यवसायलाई अझ विस्तार गर्दै लैजाने योजना बनाएका छन्। उनको घर अहिले चारैतिर बसेका माहुरीका घारले घेरिएको छ। 

करिब २५ हजार लगानीबाट सुरु गरिएको व्यवसाय अहिले झन्डै १० लाख रुपैयाँ बढीको पुँजी भएको छ। माहुरीका प्रतिघारलाई आठ हजारमा उनले बिक्री गर्छन्। सिजनमा कम्तीमा तीन पटक मह काढ्ने गरिएको बोहराले सुनाए। ‘वार्षिक करिब १० लाख रुपैयाँ मह बेचेर कारोबार हुन्छ’, उनले भने, ‘खर्च कटाएर करिब चार÷पाँच लाख रुपैयाँ कमाउँछु।’ 

उत्पादन भएको धेरैजसो मह गाउँघरमै बिक्री हुने गरेको उनले बताए। तर, सोँचेअनुसार उनले बजार पाएका छैनन्। व्यवसाय बढ्दै गएपछि उपमहानगरपालिकाले विभिन्न समयमा मेसिनसहित नगद अनुदान दिन थालेको समेत उनले जानकारी गराए। ‘केही मानिसहरूले अनुदान लिएर दुरुपयोग गरेको पनि समाचारमा सुन्ने गर्छु’, बोहरा सुनाउँछन्, ‘राज्यले हामीले केही गर्नका लागि हौसला दिएको हो त्यसलाई दुरुपयोग गर्नुहुँदैन।’ ३८ वर्षीय बोहरा बिहानदेखि साँझसम्म घरैभरि भएका माहुरीको हेरचाहमा व्यस्त हुने गरेका छन्। उनको कर्मलाई श्रीमती शारदा बोहरा क्षेत्रीले साथ दिएकी छन्। 

नगरक्षेत्रकै नमुना किसानका रूपमा बोहराले पहिचान बनाएको बुटवल उपमहारनगरपालिकाका कृषि अधिकृत सन्तोष जिसीले जानकारी गराए। ‘५० घार बढीमा  माहुरीपालन गर्ने १० वटा फर्महरू छन्’, जिसीले भने, ‘तीमध्ये दुई घार अनुदान लिएर सयौं घारमा माहुरीपालन गर्ने किसान उहाँ नै हो।’ उनका अनुसार बोहराको फर्म नगरक्षेत्रकै ठूलो हो। नगरपालिकाले किसानले उत्पादन गरेको मह बिक्रीका लागि विभिन्न प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जिसीले सुनाए।

बुटवलको भित्री भागमा प्रसस्त जंगल, मकै, तरकारी र सूर्यमूखी फूल लगाउने किसानहरू बढ्दै जानुले चरन क्षेत्र भएका कारण माहुरीपालनको राम्रो संभावना रहेको जिसीले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.