स्याङ्जामा मतदाता परिचयपत्र बनाउने बढे, थप कोठा भाडामा लिएर सेवा प्रवाह गरिँदै
स्याङ्जा : स्याङ्जामा मतदाता परिचयपत्र तथा नागरिकता बनाउनेको संख्या बढेको छ।
असारको १ गतेदेखि निर्वाचन आयोगले सबै जिल्लाका लागि मतदाता नामावलीमा नाम दर्ता खुलाएसँगै जिल्लामा नागरिकता बनाउने र फोटो खिचाउनेको संख्या बढेको हो। जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय वालिङ्मा पनि नागरिकता र मतदाता नामावलीका नाम लेखाउन सकिने गरि ब्यवस्था मिलाइएको छ।
कार्यालयमा भीड बढेसँगै अर्को कोठा भाडामा लिएर नामावली संकलनको काम गर्न थालिएको छ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते एकैदिन गर्नसक्ने गरी सरकारलाई प्रस्ताव पेश गरेसँगै प्रशासन र निर्वाचन कार्यालयमा मानिसहरूको भीड बढेको हो।
प्रशासनमा नागरिकता बनाएपछि कार्यालय हाताभित्रै मतदाता नामावलीका लागि फोटो खिचाउने सकिने सुविधा मिलाएको छ।
मानिसहरूका भीडभाड बढेसँगै नागरिकता, राहदानी, फोटो खिचाउने र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीका लागि कर्मचारीले सहजतापूर्वक काम गरिरहेका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।
निर्वाचन कार्यालयमा पनि फोटो खिचाउने लगायत नामावली सच्चाउन सकिने भएको छ। दुवै कार्यालयमा नागरिकता, फोटो सहितको मतदाता नामावली संकलनका काम गरिन्छन्।
यसअघि फाट्टफुट्ट फोटो खिचाउन आउनेहरू हिजोआज दैनिक २ देखि ३ सयको हाराहारीमा आउने गरेको निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालमा एकै दिन १ सय ८० जना, निर्वाचन कार्यालयमा १ सय ४० र वालिङ इलाका कार्यालयमा पनि १ सय ४० जनाले फोटोसहित मतदाता नामावलीका नाम समावेश गरिएको छ।
निर्वाचन घोषणाको तयारीमा रहेको सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावलीका काम रोकिने भएकाले यी दुवै कार्यालयमा भीडभाड बढेको हो।
नागरिकता बनाउन नसकेका र मतदानबाट बञ्चित नेपाली नागरिकले नागरिकता बनाउने र फोटो खिचाउने काम गरेका उत्साहपूर्वक गरेका छन्।
जनप्रतिनिधि चुन्न र आफैं उम्मेदवार बन्न पाइने भएकाले पनि उनीहरूमा उत्साह भेटिन्छ। स-साना बालबालिका काखमा बोकेका महिलादेखि, जेष्ठ र, भर्खर नागरिकता लिनेहरू पनि फोटो खिचाउनका लागि अझै प्रतिक्षारत रहेको निर्वाचन अधिकारी गुरुप्रसाद मरासीनीले बताए।
मतदाता नामावलीमा फोटो खिचाउन छुटेका, नाम, ठेगाना, मतदान स्थल सच्चाउन र नयाँ नागरिकता बनाउनका लागि पनि मानिसहरू आएका छन्।
जनप्रतिनिधी तथा सामाजिक अभियन्ताहरू पनि आफना वडा, गाउँ तथा आफन्तलाई नागरिकता बनाउन र मतदाता बनाउने काममा सहजीकरण गरेका छन्।
भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा २ लाख ४० हजार ५३५ मतदाता भएकोमा अब १० हजार मतदाता बढ्नसक्ने अनुमान निर्वाचन कार्यालयको छ।