मुस्ताङका सीडीओको टोलीले गर्यो सीमा स्तम्भको अनुगमन, ३३ नम्बर पिल्लर भेटिएन
जोमसोम : मुस्ताङका प्रमुख जिल्ला (सिडिओ) नेत्रप्रसाद शर्माको टोलीले उत्तरी छिमेकी चीनसँग जोडिएको क्षेत्रमा अवस्थित सीमास्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्।
नेपालको परराष्ट्र मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयबीच गत असार ३० गते संयुक्त सीमा अनुगमन गर्ने सहमति भएको सन्दर्भमा सिडिओ शर्मासहित प्रहरी नायव उपरीक्षक रामकुमार दानी, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनजंग कार्की र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) छोसेकोको संयुक्त टोलीले उत्तरी सीमा क्षेत्रको स्तम्भ अवलोकन गरेको हो।
सीडीओ शर्मासहितको संयुक्त सुरक्षा टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरला नाका आसापास पर्ने २१ नं. सीमास्तम्भ देखि २५ नं. सीमास्तम्भको अवलोकन गरेको हो। सीमास्तम्भमा सवारी तथा पैदलमार्गबाट सीमा अनुगमन गरिएको सिडिओ नेत्रप्रसाद शर्माले जानकारी दिए।
चीनसँग जोडिएका सबै सीमा स्तम्भको दुरी करिब १ किमीको फरकमा रहेको सीडीओ शर्माले उल्लेख गरे। ‘म सीडीओको रुपमा रहँदा तीन पटकसम्म सीमा अनुगमन तथा निरीक्षण गरिसक्यौं, हाम्रा सबै सीमा स्तम्भ सुरक्षित छन्,’ सीडीओ शर्माले भने, ‘एक पटक दुबैतर्फबाट संयुक्त सीमा स्तम्भ अनुमगन गर्ने भन्ने प्रस्ताव गरेका छौं, सम्भवत चाँडै संयुक्त सीमा स्तम्भ अनुगमन गर्ने वातावरण बनाउने छौं।’
उत्तरी कोरला नाकादेखि डोल्पा क्षेत्रसम्मको दुरीमा १८ देखि २३ नं. सीमा स्तम्भ रहेको र २५ नं. सीमा स्तम्भदेखि मनाङको सीमानासम्मको दुरीमा ३३ नं. सीमास्तम्भ रहेको प्रजिअ शर्माले जानकारी दिए। उपल्लो मुस्ताङको छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) बसेपछि समय सापेक्ष निरन्तर सीमा स्तम्भको अनुगमन गर्ने काम हुने गरेको शर्माले उल्लेख गरे।
हालसम्म उत्तरी कोरला नाकाको मुस्ताङ क्षेत्रसँग जोडिएका नेपाल–चीन सीमा स्तम्भमध्ये १८ देखि ३२ नम्बर सीमास्तम्भ गरी १५ वटा सीमा स्तम्भको अनुमगन र पहिचान भए पनि ३३ नम्बर सीमा स्तम्भको भने पहिचान हुन नसकेका प्रजिअ शर्माको भनाइ छ। पहिचान हुन नसकेको ३३ नम्बर सीमा स्तम्भ पनि चिनियाँपक्षको सहयोगमा अनुमगन गर्ने योजना रहेको बताए।
उत्तरी नेपाल–चीन सीमा स्तम्भहरु मध्ये सबै सीमा स्तम्भ देखिने गरी चीनपक्षले सुरक्षा दस्ता खडा गरेको प्रजिअ शर्माले उल्लेख गरे। मुस्ताङको अधिकांश सीमा स्तम्भसम्म पुग्न चीन पक्षले सडक मार्गसमेत विस्तार गरेको छ। पछिल्लो समय उत्तरी सीमा क्षेत्रमा नेपाल पक्षले पनि बेला/बेलामा नियमित सीमा स्तम्भ अवलोकन गर्दै आइरहेको सीडीओ शर्माले बताए।
चीनको स्वशासित क्षेत्र तिब्बत र नेपालतर्फको कोरला नाकाको २४ नं सीमा स्तम्भ मुस्ताङ क्षेत्रको केन्द्रबिन्दुमा रहेको मुख्य सीमास्तम्भ हो। चीन पक्षले दीर्घकालीन व्यापार तथा पारवाहन मार्ग विस्तार गर्ने उद्देश्यले ठूला/ठूला संरचना निर्माण गरिसकेको छ भने कोरलासम्मको तिब्बती भूमिमा दुई लेनको लोभलाग्दो कालोपत्रे सडक विस्तार गरिसकेको छ।
नेपाल पक्षले भने दीर्घकालीन उद्देश्य लिएर कोरला नाकाको दशगजा क्षेत्रमा १ हजार रोपनी जग्गा भन्सार, अध्यागमन, सुरक्षा पोस्ट, सुख्खा बन्दरगाह र क्वारेन्टाइनलगायतका संरचना बनाउन नेपाल सरकारको नाममा लालपूर्जा लिने काम सम्पन्न गरेको छ।
सरकारले कोरलानाकालाई लक्षित गरी लोमान्थाङको लुङ्खु फाँटमा नेपाली सेनाको टुकडी र लोमान्थाङ–२ छोसेरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) क्याम्प समेत स्थापना गरिसकेको छ।