हृदयस्पर्शी निबन्धमा बेरिएका गोविन्द

हृदयस्पर्शी निबन्धमा बेरिएका गोविन्द

महाब्याधिले सन् २०२० देखि विश्वयुद्ध छेडेपछिका दुई वर्ष गृहबन्दी हुन पुगेका बेला लेखिएका निबन्धको सङ्गालो नै निर्वाचित निबन्धावली हो। डा. गोविन्दराज भट्टराईको निबन्ध संग्रह निर्वाचित निबन्धावली ६०औं कृति हो। १९ निबन्ध समाविष्ट छन्। लेखकले स्वदेश प्रकाशनलाई यो निबन्ध संग्रहको पाण्डुलिपी जिम्मा दिनुभएछ। किताब प्रेसमा पुग्नेबित्तिकै अमेरिका प्रस्थान गर्नुभयो। अमेरिका पुगेका लेखकलाई भने साठीऔं सन्तान सुम्सुम्याउन नपाउँदाको छटपटी छ। अक्षरहरू, पन्नाहरू अनि डिजाइन कस्ता छन् ? प्रश्नहरूको ओइरो छ। पुस्तकप्रेमीलाई किताब पढिसक्न पनि वर्षले नपुग्ला...। यस्ता विद्धानहरू औंलामा गन्न सकिने मात्र रहेछन् नेपालमा। जो अनवरतः नित्य सागरमा मिसिने नदीहरू जस्तै बगिरहन्छन् यो साहित्यिक संसारमा। निहुरिन्छु उनै किताबका पानाहरूमा।

कोरोना महाब्याधिले संसारकै दैनिकी अस्तव्यस्त पारेको बेला अधकल्चैमा बाटा लाग्नुपर्ने हो कि ? गोप्य भयले रातोदिन मन काँपेको बेला सृजना भएका यी निबन्ध स्यामुअल पिपिजको सन् १६६६ सितम्बरको लण्डनको आगलागी अर्थात् ग्रेट फायर अफ लण्डनजस्तो एन्टिक लाग्छन्। पहिलो निबन्ध ‘पैंतीस वर्षको निर्वासनपश्चात्’मा लेखकलाई आफ्नो उमेर सकिएको आभास हुन्छ। ‘यति लामो कालखण्ड एउटै ओडारमा सुतेर बिताएपछि, प्रत्येक महिनाको घाँसपानी ढुक्दै एउटै थलामा बिताएपछि मेरा अङ्गहरू विगलित छन्, साँच्चै शिथिल छन्। न बताससँगै कुद्न सक्छु, न त यौवनका विजुली र चट्याङ्ले तर्छेर अपार खुसीमा नाच्न सक्छु।’ लेखकलाई मनमा एक प्रकारको इष्र्या र हीनता पनि उठ्छ। ‘अब दिनदिनै विभाग जाने काम सकिँदा निष्कासित जस्तो, खेती मैजारो गरेर घर लागेको हली गोठालो जस्तो, अर्को बालीमा पनि नारिनु नपर्ने गरी मुक्त भएको हलगोरु जस्तो म अझै उही छु तर कस्तो ! मेरो जीवनमा कत्रो भयंकर प्रहार खेप्नुपर्ने दिन आइलाग्यो। कति अनन्त तृष्णाको सातघुम्ती मार्गमा घुम्दा घुम्दै यो भाँडो नभरिँदै महको चाको छोडेर अर्कोतिर लाग्नु कस्तो कुरा हुन्छ।’

सकारात्मक सोचका धनी लेखक यो निबन्धमा जीवनदेखि मृत्युसम्म अटाएका छन्। ‘मलाई त्यस्तो कुनै चाहना छैन। बितेका चालीस वर्ष विश्वविद्यालयमा पस्नुभन्दा धेरै पहिलेदेखि मैले खाने गरेको एक भिन्न नशा छ, त्यो हो– सिर्जनाको, लेखनको, पठनको। म त्यहीँ हिँड्छु, कुध्छु, त्यहीँ बिसाउँछु, फेरि उठ्छु र दौडन्छु। अब म उन्मुक्त छु। तेजेश्वरबाबु ग्वोंगले भनेझैं ‘अवकाशपछिको एक उन्मुक्त आकाश’जस्तै। साहित्यकार भट्टराई तार्किक निबन्ध सृजना गर्ने स्रष्टा हुन्। उनका निबन्धमा यात्रा र अनुभवको रोचक अभिव्यक्ति पाइन्छ। उनका निबन्धमा तर्क, व्यंग्य र आक्षेपको समिश्रण पाइन्छ। निबन्धहरूमा आफूले भोगेका समयको अभिलेख राख्दै जीवनयात्राका अगणित पदचापहरू पाठकलाई छोड्दै अगाडि बढिरहन्छन्।

भट्टराईका २०६० सालदेखि निबन्ध प्रकाशित हुँदै आएका छन्। पुस्तकका रूपमा छवटा निबन्ध संग्रह प्रकाशित छन्। उनले नेपाली वाङ्मयमा नवीन, मधुर, सुन्दर अभिव्यक्तिको प्रस्तुति दिएका छन्। बोलाइ र लेखाइमा कुनै किसिमको मिसावट नगर्ने उनका निबन्ध पढ्दा एकदमै अग्र्यानिक भोजनको स्वाद लिएजस्तो हुन्छ। शब्दलाई कुनै रङ्गरोकन नगरिकन लेख तयार पार्न सक्नु लेखकको विशिष्टता हो।

‘त्रि.वि. सेवामा लिप्त हुँदा कतिपल्ट कहिले यो दाम्लो चुँडालेर कतै भागौंजस्तो नभएको होइन। त्यस्तो बेलामा मनलाई थुम्थुम्याउँदै भन्छु– धैर्य गर् साइँला। तँ देउरालीमा पुग्नै लागिस्। त्यहाँ पुगेपछि उदात्त विस्मृतिमा नाच्लास्, त्यहाँ पुगेपछि चल्ने कोमल शीतल बतासले स्पर्श गरेपछि आनन्दले तेरो जिउ फर्फराएर उफ्रेला। त्यहाँ पुगेपछि तैंले आफूलाई गह्रौं ढुङ्गाको भारी सदाका लागि बिसाएको सिसिफसजस्तो पाउलास्। यसरी आफैंलाई थुम्थुम्याउनु, आफैं मनलाई रहलपहल जिन्दगीको अर्थ लगाउनु कति कष्टकर होला ?’ निबन्धमा जीवनका सकारात्मक र नकारात्मक दुवै पाटालाई केलाएर उतार्नु निबन्धकारको सफल पक्ष हो। उनी दुःखसुखका कथा लेख्छन्।

‘विश्वग्रामीकरणका ईश्वरलाई पुकारा’ भन्ने निबन्धमा उनले हिजो र आजको समयको तुलना गरेका छन्। अतीत र वर्तमान मिसाएर फ्युजन निकालेका छन्। नित्य नवीनतातर्फ अग्रसर बन्दै गइरहेको समाज र त्यसलाई नजिकैबाट चियाइरहेको पात्र सुवेडी कान्छाको जीवनगाथालाई बडो रोमाञ्चक तरिकाले प्रष्ट्याएका छन्। जीवनका सूक्ष्म रहस्यहरू सुबेडी कान्छाले आधुनिकीकरणसँग आफैं तुलना गर्छ। आजको उत्तरआधुनिक साइबर युगमा बाँच्दै गरेको कान्छो घरिघरि अतीतलाई चियाउँदै मायालुको सम्झनामा मन हलुको पार्छ। उसको त्यो निश्चल पिरतीको साक्षी बस्दाबस्दै पाठकको मन कान्छासितै सल्किसक्छ। कान्छो अन्धकार युग बाँचेको थियो, त्यो समय भोग्ने प्रत्येक पाठक विगत छाम्छन् यो निबन्धमा। लेखकले आफ्नै कथा लेखेको त होइन ? यस्तै भान पनि हुन्छ घरिघरि।

विगत बिर्सिएर बसेको कान्छाले एकदिन आफू मायामा परेका समयको गीत बजेको सुन्छ। उसलाई क्रोध उत्पन्न हुन्छ। कान्छो एक्लै बर्बराउँछ यसरी, बल्ल यी सबै पुराना कुरा चुँडाएर फ्याँकेको छु, बल्ल यो ग्लोबल आँगनमा जीउ फुकाएर नाच्न थालेको छु। अब त्यस्तो जिन्दगी किन सम्झिनु फेरि ? ती दुःखका दिनलाई फकाएर यो आधुनिक जगत्मा भिज्दैछु। त्यो महादेउ थानका जात्रा बजारमा, त्यस्तो चिसो बगरमा रातभरि नाचेको, आफ्नो उमेरिलो दिन सम्झदै भन्छ कान्छो– कस्तो रड्डी समय बाँचियो नि ! फोनसम्म निस्केको थिएन, ऐलेजस्तो मोबाइल निस्केको भए ! दिनभरि खोला बगरमा ढुङ्गामाथि चढेर उनी आउँछिन् कि भन्दै ढुकिरहनुपर्ने थिएन। मायालु सम्झँदै आजको यो सूचना प्रविधि देखेर भक्कानिन्छ सुबेडी कान्छो।

उता कोठामा कान्छाकी नातिनी जोडजोडले परिभाषा कण्ठ पार्दैछे। ऊ ध्यान दिएर सुन्छ, ‘भू–मण्डलीकरण अथवा विश्वग्रामीकरण अथवा ग्लोबलता भनेको समान प्रविधि, सूचना र व्यवसायीहरूको विस्तार हो।’ कान्छाको मनमा क्रोधको आँधी चल्छ, त्यसैमा कन्फ्युजन मिसिन्छ– उनीहरू पो हामीभन्दा खुसी छन् कि ? को चैं जीवनको लयमा बढी रमाएको होला ? यो प्रश्न पाठकलाई सोधेको छ कान्छाले...।
ईश्वर सम्झँदै लेखक लेख्छन्, यता ग्लोबलाइजेसन छ त्यो एक आनन्द हो, उता कोरोना उडेको छ विश्व बतास भएर त्यो पनि अर्को आनन्द हो। अनेक तत्वको विसन्तुलनले जन्माएको कोरोनारूपी ब्याधिलाई बोकेर विश्वको प्रत्येक महादेशबाट उडेका मानिस प्रत्येक महादेशमा पुग्न सकेका छन्। यसलाई विज्ञानले विश्व विजय मानेको थियो। त्यही जहाजले विश्वको एउटा कुनामा उब्जेको व्याधिलाई कसरी इन्जेमिक अर्थात् विश्वव्याधि बनायो। यसले गर्दा कोरोना छचल्किएको छ, पोखिएर छताछुल्ल छ। आफ्ना भौगोलिक सीमाहरू भत्काएपछि, सांस्कृतिक सीमाहरू मेटेपछि, नयाँ पुराना सबै ज्ञान मुछेर एउटै भाँडामा खिचडी बनाएपछि सर्वनाश हुनु थियो सुरु भयो। यसरी दुष्कृति ज्यादा भरिए, पृथ्वीमातालाई कोतरेर नंग्रयाएर सक्नै आँटे। धुवाँ, धुलो फोहोरका डंगुर थुपार्ने भए, विषाक्त कुराले यो आवास भर्ने भए। त्यसैले यो दुष्कृति मास्न प्रभुको अवतरण भएको छ।

कोरोना महामारीले संसार तहसनहस हुँदै गर्दा खानेबस्ने उपाय नभएपछि निम्न आय भएका जनताको कति विजोग भयो ? कति बाटोमै सक्किए खान नपाएर, औषधि नपाएर, अक्सिजनको अभाव। आजसम्म यस्तो भयंकर रोगव्याधी देखेको थिएन। त्यो समयको कारुणिक दृश्यसहितको भिडियो बनाएर पिके फिल्मको एउटा गीत ‘भगवान्, है कहाँ रे तू ?’ भन्ने गीतको भिजुअल आएपछि लेखकका मनमा उठेका कुराहरू ‘जिन्दगीको अभिप्राय नै डिलिट गरिदिने हो कि !’ भन्ने निबन्धमा छन्।

जीवन कसरी चल्छ, विज्ञानले केसम्म गर्दैछ ? हाम्रो हातमा के नै छ र ? रातभर छटपटीमा बितेको लेखकको मनमा अनेक अज्ञात भय पुलुक्क पुलुक्क आइरहन्छन्।

सिनेमा हेर्न जाँदा चार–पाँच घन्टा नाश हुन्छ भन्ने लेखकले यो गीतको भिडियो हेरेपछि सोनु निगमको स्वरले आफूलाई मन्त्रमुग्ध पारेको लेखेका छन्। दार्जिलिंगी कलाकार मोनिका प्रधानले फर्वाड गरेको दृष्यसहितको गीतले लेखकको मनको कुनै कुनामा लुकेर बसेको सङ्गीतप्रतिको मोह पाठकले महसुस गर्छन् यसरी। ‘साहित्यका कर्महरू अलिकमाथि पुर्‍याएपछि यसको साधनाले अलिक चित्त बुझाएपछि समय रहेछ भने म सङ्गीतपट्टि पनि ढल्कौंला भन्ने भाव मनमा नित्य लुकाएर राख्ने गरेको छु। जीवनमा मादकता खन्याउने तत्त्व सङ्गीत नै रहेछ तर त्यस्ता कुराहरू उघाउन नभ्याएर कुद्दाकुद्दै आफ्नो चाहिँ सधैं रात परेको छ।’

सन् २०१४ को फिल्म पिके सुपरहिट भएपछि लेखकले पनि त्यो फिल्म हेरेको र त्यो गीत आफ्नो अन्तस्करणमा अमिट छाप भएर बसेकाले मोनिका प्रधानले फर्वाड गरेको भिडियो हेर्नेबित्तिकै अकस्मात् पुनर्जागृत भएछ। एउटा राम्रो गीतको लक्ष्य मानव हृदयमा बास पाउनु, जीवनकै एक यथार्थसित कहिँ कतै जोडिनु र मनलाई छुनु हो। यो प्रसङ्ग कोरोनाको हो। यो कोरोनाले मानव जीवन कसरी महासंकटतिर धकेलेको छ। हरसंकटमा मानिस कसरी ईश्वर पुकार्छ, रुन्छ, कराउँछ ? भगवानले उद्धार गर्लान् भन्ने आशा कसरी गर्छ ? कसरी सारा व्यर्थ हुँदै जान्छ भन्ने विषयको दृष्टान्त हो यो। यो धेरैले भोगे। संसारले भोग्यो। यसलाई कलाले छोएका घटनाहरूले अमर बनायो।

सोनु निगमको गीत पीके फिल्मको घटनालाई सान्दर्भिक बनाउन रचेको थियो तर आज त्यसको आवर्दित रूप कोरोनाकालको स्थितिसँग मिल्ने भयो। विज्ञान र प्रविधिको विकासले एकातिर मानव जीवनलाई सहज, सुरक्षित र आरामदायी बनाउँदै लगेको छ भने अर्कोतिर मानव संहारको बाटो पनि फराकिलो बनाउँदै लगेको छ। शक्ति सञ्चयका लागि भएको आणविक हतियारको अस्वस्थ प्रतिस्पर्धाले मानव संहारको प्रतिस्पर्धा बढाएको छ भने प्राकृतिक स्रोत साधनको दोहन, अतिक्रमण र एकाधिकारका लागि भएको अति होडबाजीले पनि मानव संहारको खतरा बढ्दैछ। यी दुवै अतीतका बीचबाट मानव समुदायकै नाश गर्ने गरी नयाँ नयाँ महामारी पैदा हुँदैछन्।

एउटा दुःखको मूल फुटेपछि त्योसँग मिल्ने अरू दुःख लहर बनेर आउँदा रहेछन्। त्यसैले त जब जब मानिसलाई दुःख पर्छ, यसरी नै आज पनि गीत बजिरहेकै छ। महान् कलाकार शन्तनु मोइत्रा र सोनु निगमको यो गीतका यी अंशहरू
है सुना ये पूरी धर्ती तू चलाता है
मेरी भी सुनले अरज मुझे घर बुलाता है
भगवान् है कहाँ रे तू, हे खुदा है कहाँ रे तू।

लेखकले नेपाली साहित्यको उन्नतिमा हिन्दी दह्रो आडभरोसा भएर बसेको कुरा स्पष्ट पारेका छन्। मोतीरामले प्रेमचन्द, मैथिलीकरण गुप्ताजस्ता हिन्दीका महान् स्रष्टाहरूबाटै हिन्दी सिके। महापण्डित राहुल सांस्कृत्यायनले नै हो हाम्रा महाकविलाई पन्त, प्रसाद, निराला तीनै जनाको योग हुन् भनी भारतवर्षमा चिनाएका। धीरेन्द्र वर्मा, रामवृक्ष बेनिपुरी, इलाचन जोशी, शुभद्राकुमारी चौहान, जैनेन्द्रकुमार, महादेवी बर्मा आदि हजारौंले पढेका नाम हुन्। नेपाल–भारत दुवैको पक्षमा शान्ति प्रेम र सद्भावले काम गरौं। भारतले कोरोनाको बाढी नेपाल पसाएको हो भन्ने भ्रम छोडौं।
‘भवतु सर्व मङ्गलम् !’

‘जीवनको एक अमिट तृष्णा बन्दोरहेछ पुस्तकालय’ भन्ने निबन्धमा लेखकले आफ्नो धेरै वर्षदेखिको पुस्तकालयको निर्माण गर्ने सपना रहेको कुरा उल्लेख गरेका छन्। आफ्नै घरको माथिल्लो तलामा एउटा ठूलो सुन्दर शान्त पुस्तकालय भएको र अधिकांश समय त्यही पुस्तकालयमा व्यतीत गर्ने लेखक भन्छन्– ‘आफूले नपढेको कृति पढ्न पाए, त्यसबाट प्राप्त हुने सुख, आनन्द र त्यसले दिने एक नवीन दृष्टिकोणले मलाई कति उर्जा थप्थ्यो होला ! मनमनै कल्पिन्छु। किनभने मलाई त्यस कर्मको स्वाद र आनन्द थाहा छ, त्यसबाट प्राप्त हुने खुसी अर्थोकसँग तुलना गर्न सकिँदैन।’

लेखकले भनेको सत्य हो। कहिलेकाहीँ त अचानक एउटै पुस्तकले पनि मानिसको जीवन बदलिदिन्छ। ठूलो चाहिँदैन, सानो पुस्तकले पनि अर्को संसारतिर लाग भनेर संकेत गर्छ। ती कुरा मनमा बारम्बार बज्न थालेपछि त्यस संसारको अनुशरण गर्न थालिन्छ। निरन्तर लेख्न र पढ्न बानी परेका भट्टराईको यथार्थ त्यस्तो कर्ममा बानी नपरेकाहरूलाई त्यसबाट प्राप्त आनन्द पनि त थाहा हुँदैन। अभ्यास नभएकाले त उनको जस्तो दैनिक १०–१२ घन्टा कहाँ लेख्न सक्छन् र, एउटै आसनमा बसेर।

एकदिन झापाली साहित्यकार तेराख लेखकको घरमा आउँदा कुराकानीकै सिलसिलामा तेराखले प्रश्न गर्छन्– ‘यी पुस्तकहरू पछि के गर्ने विचार छ तपाईंको ?’ उनको प्रश्नको आशय के थियो भने– ‘तिम्रो जीवनपछि यी पुस्तकहरूको जीवन के होला ? मानव इच्छा र लेखान्तबीच चलिरहेको संघर्ष कति जब्बर हुन्छ। मृत्यु अवश्यम्भावी छ तर त्यसलाई स्विकार्न हामी चाहँदैनांै किनकि हजारांै अधूरा सपनाहरू हाम्रा अगाडि आएर बसेका हुन्छन्। लेखकलाई तेराखको यो प्रश्नले चोट पुर्‍याउँछ। उनी भन्छन्, कर्म गर्न सकुञ्जेल म यस कार्यबाट आनन्द दोहन गरिरहन्छु। मलाई यस आश्रममा प्रवेश गरेपछि मात्र आनन्द मिल्छ, थकाइ मर्छ। ढुक्क हुन्छु र यिनै पुस्तकसँग वार्ता गर्छु। नयाँ समयले सारा अतीत उल्टाउँदै, भत्काउँदै, मिल्काउँदैछ। सारा क्षयवान्। त्यो जान्दाजान्दै पनि अधिकांश समय एक्लै बसेर सुखको धागो कातिरहन्छु। यसमा निबन्धकारले मृगतृष्णा मानिसमा आजीवन रहिरहन्छ भनेर मानवीय मृगतृष्णाको शाश्वतता अभिव्यक्त गरेका छन्।

भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन भन्छन्– स्ट्राइभ नट टू बि अफ सक्सेस बट र्‍यादर टू बी अफ भ्यालु (सफल हुनका लागि होइन, समाजलाई उपयोगी कर्मका लागि प्रयत्न गर)। ‘समाज र पारिवारिक संस्कारको निरन्तरताका लागि दमक घरमा एक पुस्तकालय बनाउनेछु।’ कति राम्रो सोच लेखकको। समाजका लागि योभन्दा उत्तम कार्य अरू केही हुन सक्दैन। अहिलेको युवावर्गलाई लक्षित गरेर लेखिएको यो लेखले अध्ययन नगरे जीवन व्यर्थ छ भन्ने सन्देश दिएको छ। जति धेरै पुस्तक पढ्न सक्यो त्यति नै ज्ञानको मार्ग फराकिलो हुन्छ त्यसैले हामी समय खेर नफालौं। लेखकको पुस्तक मोहले स्मार्ट युगमा पनि किताबको महत्त्व उस्तै छ जति हिजो थियो भन्ने कुरा स्पष्ट हुन्छ।

‘उनलाई बिदा गर्ने बेलामा आइपुग्न सकिनँ’ नामक निबन्ध धेरै नै हृदयस्पर्शी छ। यो निबन्ध सबै पाठकले सहजै पढ्न नसक्लान् तर मुटु समाउँदै भए पनि पढेरै छोड्छन्। सबै निबन्ध राम्रा छन्। कुनै त टाइमबम जस्तै लाग्छन्, पढिसक्दा एकछिन मर्छन् पाठक। कुनै छर्राजस्तै छन् मनभरि घाउ पार्छन्। शब्दमा जति शक्ति अरू केमा हुन्छ र ? ग्लुमी सन्डेत्यसै ब्यान्ड भएको गीतले कतिको ज्यान लियो ? त्यो कुरा हामीलाई थाहा नै छ।
निबन्धमा बिरामी श्रीमतीलाई छोड्नु पर्दा मनमा उब्जेका विचार उल्लेख गरेका छन्। मुटुको उपचारका लागि दिल्लीस्थित एम्स हस्पिटल जान लागेकी जहानलाई बिदा गर्ने बेलामा उनको उपस्थिति हुँदैन। लेखक धुलाबारी झापाको त्रिफला राष्ट्रिय पुस्तकालयको कार्यक्रममा जानुपर्ने हुन्छ। कार्यक्रम सम्पन्न गरेर घर आउँदा घरमा कोही नभएको यथार्थ उनको मनले पत्याउँदैन। कुरो थाहा हुँदा हुँदै पनि लेखकको मनले उनलाई ढोकामा पो देख्छु कि भन्नु, भान्सामा पो छन् कि सम्झन अनि अनेक सोचमा डुब्नु... लेखकको छटपटीले पाठकलाई समेत दुःखी तुल्याउँछ। पति–पत्नीबीचको सम्बन्धलाई मायाले मुछेर राखेको हुँदोरहेछ भन्ने यसले बताउँछ। उनी भन्छन्– ‘अञ्जनालाई बिदा गर्नुपूर्वै किन धुलाबारी लागें ? बिरामी मान्छे उनी। जानेबेला मेरो उपस्थितिको मूल्य कत्रो हुन्थ्यो होला ? अज्ञात डोरीले तानिएको म टाढा पूर्व कता पुगेको थिएँ। बिदा गर्ने बेलामा म भएको भए पनि भन्थिन् होला... यहाँ ओट छ ऊ त्यो डब्बामा, यहाँ चामल छन् उसिना, त्यो बट्टामा ब्राउन राइस छ...। म भन्ने थिएँ– मेरो चिन्ता नगर, तिमी शान्त चित्तले जाऊ र निको भएर आऊ।’

जीवन कसरी चल्छ, विज्ञानले केसम्म गर्दैछ ? हाम्रो हातमा के नै छ र ? रातभर छटपटीमा बितेको लेखकको मनमा अनेक अज्ञात भय पुलुक्क पुलुक्क आइरहन्छन्। छटपटाउँदै उनी लेख्छन्– ‘बिदा हुने बेलामा हेर्न नपाएकी अञ्जनाको दुब्लो शरीर, बिस्तारै ट्याक्सीभित्र पसेको हेर्न नपाइ, मनले उनैलाई सम्झिरहेको थियो। विश्वविद्यालयकी प्राध्यापक अङ्ग्रेजीकी, कत्रो आँट र मनोवलसित कर्म गरिरहेकी ? जीवनको उज्यालोसित संवाद गर्दै, अझै लामो उज्यालोको प्रतीक्षामा बीचैमा बिसाएर त्यति टाढाको अस्पताल जाने बेला भएको छ र ? एक्लो मलाई काम छुट्यो। अनेक दुष्कल्पनाले घेरिए जस्तो भएँ।’ आत्मालाई नै निचोरेर लेखिएको यो निबन्धको अन्य कुनैसँग तुलना नै छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.