जानकी मन्दिर सौन्दर्यकरणमा करोडौंको अनियमितता

जानकी मन्दिर सौन्दर्यकरणमा करोडौंको अनियमितता

जनकपुरधाम : हिन्दूहरूको आस्थाको केन्द्र हो जनकपुरधाम। रामजानकी मन्दिरको धार्मिक महत्त्वले मात्रै होइन यसको सौन्दर्यकरणले पनि सबैको ध्यान तान्छ। तर, सोही सौन्दर्यकरणको नाममा करोडौंको भ्रष्टाचार भएको पाइएको छ। महालेखा परीक्षकको मधेस प्रदेशले सार्वजनिक गरेको चौथो वार्षिक प्रतिवेदनले जानकी मन्दिर प्रांगणमा मापदण्डविपरीतका गुणस्तरहीन मार्बल प्रयोग गरेको र त्यहाँ करोडौंको अनियमितता भएको उल्लेख गरेको छ।

महालेखाका अनुसार पुरातत्व विभाग केन्द्रीय कार्यालय र गुठ्ठी संस्थान केन्द्रीय कार्यालयले जानकी मन्दिरमा सुझाएको मार्बल र टाईल्सभन्दा फरक कम मूल्यका सामग्री लगाएको पाइएको हो। मन्दिर प्रांगणमा विभिन्न रंग मार्बल बिछाउने सम्झौता भएकोमा पुरातत्व विभागले सेतो रंगको मार्बल मात्र प्रयोग गर्न भनेको थियो। यो विषयमा मुख्यमन्त्रीबाट सैद्धान्तिक सहमति भए पनि काम गर्दा भने सहमतिलाई लत्याएको पाइएको छ।

गुठ्ठी संस्थान र पुरातत्व विभागले सिफारिस गरेको भन्दा कम मूल्य भएको कमअसल मूल्यका रंगीन मार्बलहरू प्रयोग गरिएका छन्। जसले गर्दा मन्दिरको सौन्दर्यकरणमा पनि प्रभाव परेको छ। रंगीन मार्बल ४ हजार र सेतो मार्बल ५ हजार ३ सय रुपैयाँ प्रतिवर्गमीटरका दरले खरिद सम्झौता भएको थियो। सुरुको सम्झौतामा सेतो मार्बल १९४५.०८ वर्गमिटर रहेकोमा तेस्रो बिलसम्म ६ हजार ५७६ वर्गमिटर देखाएर ३ करोड ४८ लाख ५७ हजार रुपैयाँ भुक्तानी गरिएको छ। तर किनिएको सेतो मार्बल अधिकांश गुणस्तरहीन रंगीन मार्बल प्रयोग गरिएको छ।

सेतो मार्बलको स्थानमा प्रयोग भएका रंगीन मार्बलको मूल्य घटाउँदा सम्झौताभन्दा ६० लाख २१ हजार रुपैयाँ बढी भुक्तानी गरिएको पाइएको हो। महालेखाको प्रतिवेदनमा मापदण्डविपरीत रंगीन मार्बल प्रयोग गरिएको र गुणस्तरहीन मार्बल भएको कारण ठाउँ–ठाउँमा चर्किन थालेकाले प्राविधिकबाट रंग यकिन गरी सम्झौताअनुसारको गुणस्तरयुक्त मार्बल प्रयोग गरेर कार्य सम्पन्न गरेको भेट्टिएको छ।

रामजानकी मन्दिर सौन्दर्यकरणअन्तर्गत एक वर्षमा मर्मत सम्भार गर्ने २०७५ मंसिर १७ गते ६ करोड ७५ लाख ४६ हजार रुपैयाँमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो। तर, समयमा काम सम्पन्न हुन नसक्दा २०७८ साल सम्मको म्याद थप गरिएको छ। मार्बल बिछ्याउने कार्यमा मात्रै आव २०७७÷०७८ सम्ममा १ करोड ४० लाख ३५ हजार र २ करोड ९० लाख ७९ हजारसहित दुई पटक गरी निर्माण व्यवसायीलाई ४ करोड ३१ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

जानकी मन्दिर सौन्दर्यकरणमा तत्कालीन इन्जिनियर भगवान झाले अनियमितता गरेको स्थानीय सर्तकता अभियानका युवा सरोज मिश्रको भनाइ छ। मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक भगवान झाले आफ्नो कमिसनको चक्करमा जानकी मन्दिरलाई कमाईखाने भाँडो बनाएको आरोप लगाए। भने, ‘हामीले सौन्दर्यकरणमा भएको अनियमितताको आवाज पटक–पटक उठायौं। तर, कसैले सुनेन, आज जानकी मन्दिरमा पस्नासाथ टाईल्स्ले पोल्छ, खुट्टा राख्न मिल्दैन, कस्तो सौन्दर्यकरण भयो कि वर्षभरिमै सबै फुट्न थाले।’

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले प्रदेश सरकार र सरकारी निकायले जानकी मन्दिरलाई कमाइखाने भाँडो बनाएको आरोप लगाए। उनले जानकी मन्दिरमा सरकारी निकाय नै मन्दिरका नाममा अनियमितता गर्न लिप्त रहेको आरोप लगाए। मधेस सरकारका मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत गरिएको मन्दिर सौन्दर्यकरण र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले मन्दिरमा गरेको विद्युतीकरणका नाममा भ्रष्टाचार गरेको महन्थ दासको आरोप छ।

महन्तले भने, ‘सौन्दर्यकरण अभियानसँग जोेडिएका छोटे महन्त रामरोशन दासको निगरानीमा भएको काम हो। मलाई यसमा कुनै सोधखोज गरेको छैन। के गर्‍यो, के गरेन मलाई केही थाहा छैन। मैले कुनै कागजमा हस्ताक्षर पनि गरेको छैन। विस्तारै बुभ्mदै जाँदा सबै सामानहरू डुपिल्किेट लगाएको छ।’

मधेस सरकारले मन्दिरमा टायल र मार्बल लगाउनुका साथै सौन्दर्यकरणका लागि ७ करोड २० लाख छुट्ट्याएको थियो। महन्थ दासले प्रदेश सरकारबाट जडान भएको मार्बल टाइल्स थुप्रै ठाउँमा फुटिसकेको र फुट्ने क्रम अझै जारी छ। गत आर्थिक वर्षमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ करोड रुपैयाँको लागतमा मन्दिरभरि आकर्षक देखिने लाइट जडान गरेको थियो। सो लाइट दुई महिना पनि नबलेको महन्थ दासको गुनासो छ। उनले भने, ‘जानकी मन्दिरका नाममा लुट्ने काम ठीक होइन। बृहत्तरले ११ करोडमा जडान गरेको बिजुली लाइट मिस्त्रीले भने अनुसार एक डेढ महिनामै सबै खराब भइसकेको छ। तर, बनाउनेमा कसैको ध्यान गएको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.